विज्ञान तथा प्रविधिको नकारात्मक प्रभाव

Read Time = 12 mins

✍️ के.बी. बस्नेत 
वर्तमान समयमा पश्चिमी बौद्धिक कुशलताले भौतिक तत्वको ज्ञान एवम् विचार विश्लेषणले सफलता पाएको छ । त्यसैले मानव चेतना तथा जिज्ञासाको परिणाम स्वरूप विज्ञानको विकास हुन थालेको हो । निःसन्देह पनि आज विज्ञानको चमत्कारले भौतिक युगको सिर्जना भई भोग विलासको स्रोतसाधनमा विकास भएको छ । त्यसैले हामी ऐस-आरामको जिन्दगी व्यतीत गरिरहेका छौँ ।

एकातिर विज्ञानको क्षेत्रमा पछि परेका मुलुकहरू यसको विकासका लागि विशेष रूपले आकृष्ट छन् भने अर्काेतिर वैज्ञानिक चमत्कारहरू देखाउन सफल राष्ट्रहरू यसको प्रयोगलाई रोकथाम गर्न शान्ति सम्झौता र सम्मेलन गर्न व्यस्त छन् । विज्ञानको मोहको कारण आज विश्वका धेरै देशहरूमा शहरीकरण तीव्र रूपले बढिरहेको छ । जसको कारण आज कतिपय ग्रामीण रमणीय बस्तीहरू उजाड हुँदैछन् । आफ्नो देशभक्ति भावनाको विकास गर्नुको सट्टा भौतिक वस्तुको सयल गर्न गाउँबाट शहरतर्फ र शहरबाट विदेशतर्फ युवाशक्तिको पलायन भइरहेको छ ।

थोरै खाएर भए पनि विभिन्न किसिमका पोशाकहरूको तडकभडकमा आकृष्ट हुनु आज विश्वका धेरैजसो युवतीहरूको जल्दोबल्दो समस्या भएको छ । कतिपय युवतीहरूले त आफ्ना सिर्जनात्मक प्रतिभा परिचालन गर्नुको सट्टा नयाँ-नयाँ ढाँचाका पोशाक तथा शृंगारको बहकाउमा गलत वृत्तितर्फ आकृष्ट भई आफ्नो जीवन बरबाद गरेका छन् । आज विज्ञानको विकासको कारणले आधुनिक विलासी सामानहरूको उत्पादन प्रचुरमात्रामा भएका छन्, जसले गर्दा कतिपयलाई कमाइभन्दा खर्च बढी गर्नुपर्ने स्थितिको सिर्जना भएको छ । फलतः धेरैलाई जीवन धान्न कठिन भएको छ ।

उद्योगहरूबाट निस्कने धुवाँ र धुलोको नियन्त्रणका लागि हालसम्म ठोस प्रविधिको विकास नभएकाले संसारको धेरैजसो देशको वातावरण दिनप्रतिदिन दूषित भइरहेको छ । आज उत्तरी गोलाद्र्ध मात्र दूषित नभई दक्षिणी गोलाद्र्ध पनि दूषित भइरेको छ ।

वस्तुतः केही देशहरूले विज्ञानको क्षेत्रमा निकै प्रगति गरेका छन् तर धेरै देशहरूमा विदेशको निर्भरताले गर्दा कूटनीतिक सम्बन्धमा केही गढबढ हुनासाथ त्यहाँको जनजीवन अस्तव्यस्त हुन्छ र युद्ध गर्ने सम्भावना बढ्छ । आज आधुनिकताको कारण बढ्दो विलासी साधनहरूको उपज र अभावको वातावरण सिर्जना भएको छ । जसको कारण प्रत्येक समाजमा हिंसा, चोरी र डकैती बढेको छ । वास्तवमा आधुनिकताको खोलभित्रको कुलतले पैदा गरेको विकार हटाउन विज्ञान सफल भएको छैन । यसबाहेक मोटर, बस, ट्रक, जहाज, अन्तरिक्षयान आदिबाट हुने बढ्दो दुर्घटनाले मानवजीवनको अस्तित्वमा अनिश्चितता आएको छ ।

कुनै यात्रा नटुंगिउञ्जेल प्रत्येकको मनमा शान्ति नहुनु स्वाभाविक हो । परन्तु आधुनिक हातहतियारहरूको होडबाजी र बढ्दो आतंकले कति बेर कुन ठाउँमा बम विष्फोट भई कसको मृत्यु हुने हो कसैलाई थाहा हुँदैन । यतिमात्र होइन, बिहान आफ्ना घरबाट पाठशालामा पढ्न हिँडेका बालबालिका साँझ नफर्किउन्जेलसम्म र कामका लागि आफ्ना घरबाट निस्केका कुनै व्यक्ति घर नफर्किउन्जेलसम्म परिवारले चिन्ता लिनुपर्ने अवस्था हुनु विज्ञानको नकारात्मक पक्ष हो ।

विज्ञानले जतिसुकै विकास गरे तापनि अझसम्म धनी र गरिबबीचको खाडल पुरिएको छैन । बरू गरिब झन् गरिब हुँदै छन् भने धनीझन् धनी हुँदै छन् । विज्ञानको कारणले आज विभिन्न देशमा विभिन्न किसिमका उद्योगहरूको स्थापना गरिएको छ । तर, औद्योगिक विकासको कारणले कैयौँ राष्ट्रहरू वातावरण प्रदूषणका साथै वनविनाशको चपेटामा परेका छन् । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति गरेर केही फाइदा त लिए तर विभिन्न किसिमका उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुनथाल्यो र दैवी प्रकोपको कारण धेरै जनधनको नोक्सान हुन थाल्यो । भविष्यमा यस्तो क्षति अझ बढ्ने सम्भावना छ ।

उद्योगहरूबाट निस्कने धुवाँ र धुलोको नियन्त्रणका लागि हालसम्म ठोस प्रविधिको विकास नभएकाले संसारको धेरैजसो देशको वातावरण दिनप्रतिदिन दूषित भइरहेको छ । आज उत्तरी गोलाद्र्धमात्र दूषित नभई दक्षिणी गोलाद्र्ध पनिदूषित भइरेको छ । यसको मुख्य कारण क्लोरोफ्लोरो कार्बनको बढी प्रयोगले नै हो । भविष्यमा यसको प्रयोगमा रोक लगाउन नसके ओजनको सतह पातलो हुनेछ र सम्पूर्ण मानव जातिको स्वास्थ्यमा नकारात्मक असर पर्नेछ ।

आज विश्व दिनप्रतिदिन तातो हुँदैछ । यसरी तातो हुँदै गएमा हिउँ पग्लेर समुद्रको सतहमाथि उठ्दै जानेछ र संसारका केही देशहरू पानीमा डुब्ने छन् । यदि यस्तो क्रम रोक्न सकिएन भने विकसित देशहरूमात्र होइनन् विकासशील तथा अति कमविकसित देशहरूमा खतरा हुनेछ ।
पृथ्वीको तापक्रम बढ्दै गएमा विश्वको एक मिटर हिउँमात्र पग्ले पनि फिलिपिन्स र चीनका केही प्रान्तहरू पानीमा डुब्नेछन् । मालदिभ्स पनि संकटमा पर्नेछ । वातावरणले मानव जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले यो सम्पूर्ण प्राणीको घर हो । परन्तु प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोगले आज मानव जातिमा नकारात्मक असर परेको छ ।

मानव जातिका विभिन्न क्रियाकलापले ओजन तहको विनाश हुँदैछ । यसका कारण सूर्यबाट अत्यधिक रूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जान नसक्ने भएकाले विश्वव्यापी उष्णता जलवायु परिवर्तन र मरुभूमीकरण जस्ता समस्या अत्याधिक मात्रामा विद्यमान छन् । आज संसारका धेरैजसो देशमा विकासका कामहरू तीव्र रूपले सञ्चालन भइरहेका छन् । कलाकारखाना तथा गाडीहरूको अत्याधिक प्रयोगले वायु, जल र ध्वनि प्रदूषण धेरै बढिरहेको छ । बढ्दो ध्वनि प्रदूषणको कारण मानसिक रोग पनि दिनप्रतिदिन बढिरहेको छ ।

बढ्दो यातायातका साधनहरूको प्रचुरताले धेरैजसो देशको वातावरण प्रदूषणयुक्त छ । फलतः प्रत्येक व्यक्तिलाई सास फेर्ने पनि गाह्रो हुनथालेको छ । त्यसैले विज्ञानले विभिन्न चमत्कार देखाए पनि आजको मानवले त्यसभन्दा कैयौँ गुणा खतरायुक्त परिणाम भोग्नुपरेको छ । आज विज्ञानको आडमा विकसित देशहरूले निर्बल राष्ट्रहरूमा गरेको आक्रमणले गर्दा मानवीय रोदन, क्रन्दन र चपेटाले थिचिएका अर्धजीवित र मृतात्मालाई निहालेर हेर्दा विज्ञानलाई मानवीय उपजको विकारमात्र होइन श्राप नै हो भन्न सकिन्छ । विज्ञान प्रविधिमा भएको अत्याधिक विकासले गर्दा आज मानव समाज उन्नति र अवनतिको पराकाष्ठामा पुगेको छ जसले गर्दा आजको विश्व नै खतराको सिक्रीमा जेलिएको छ ।

आज सशस्त्रका होडबाजी र विज्ञान प्रविधिलाई मानवहितका लागि प्रयोग नगरी राजनीतीकरण गरिएको छ । विभिन्न निर्माण कार्यका लागि प्रयोग गरिएका विष्फोटक पदार्थ मानवीय विनासका लागि प्रयोग गरिएको छ भने जंगली जनावरको आक्रमणबाट बच्न तथा शिकारका लागि बनाइएका बन्दुक आज मानव जातिकै संहारका लागि प्रयोग गरिएको छ । यतिमात्र होइन, यातायातका सुविधाका लागि बनाइएका हवाइजहाज तथा हेलिकोप्टर जस्ता साधन मानवीय विनाशका विष्फोटक पदार्थ बोक्ने साधनको रूपमा प्रयोग गर्न थालिएका छन् । जसले गर्दा आणविक शस्त्रास्त्र जस्ता घातक पदार्थ कति बेर कसको थाप्लोमा बर्जिने हो भन्ने कुरा चिन्ताको विषय बनेको छ ।

जसरी विगतमा खतराको बिगबिगी खाडी युद्धको बेला खाडी क्षेत्रवासीहरूमा थियो भने आफगानिस्तानमा अमेरिकाले गरेको आक्रमणमा पनि त्यस्तै थियो । यसैगरी रुवाण्डामा एक पटकमा पाँच लाखको ज्यान गयो भने उक्त घटना नदोहोरिएला भन्न सकिँदैन । वर्तमान समयमा बढ्दो अनेकौँ प्रकारका हातहतियार तथा क्षेप्यास्त्रहरूको अविष्कारले राजनीतिक आतंकवादी दलहरूको सिर्जना भएको छ जसले गर्दा निरापराधी अनाहकमा गोलीका शिकार भइरहेका छन् । अतः आजको विज्ञानको विकासलाई घृणाको दृष्टिबाट हेर्न बाध्य तुल्याएको छ ।

वस्तुतः अनमोल योगदान दिने आविष्कारकहरूले आफ्ना आविष्कारलाई मानव कल्याणका निम्ति गरेका हुन् । त्यसैले आजको मानवले सृष्टिको लीला नष्ट गर्ने मानसिकता नबोकी सिर्जनशील भई दुईतिर धार भएको विज्ञानको चमत्कारलाई विवेकपूर्ण तरिकाले परिचालन गर्न आवश्यक छ । यसो गर्न सकेमा सम्पूर्ण मानवजातिको कल्याण हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?