अन्तर्घातको छानबिन समितिले बुझायो प्रचण्डलाई प्रतिवेदन : छलफल गरेर कारबाही गरिने

Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताउनु भयो ।

अध्यक्ष दाहालले पार्टीलाई विधिसम्मत् रुपमा चलाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन । त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ । यो छानबिन नगरीकन दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडी नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र हामीले जे सपना देखेका छौँ समाजवादतिरको यात्रा, सम्भव छैन । त्यसकारण हाम्रो पार्टी केन्द्रले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै यो छानबिन समिति बनाएको हो ।’

उहाँले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?