सप्तरीमा मिटरब्याजीविरुद्ध १ सय १४ वटा उजुरी दर्ता

Read Time = 3 mins

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै सप्तरीमा १ सय १४ जनाले उजुरी दर्ता भएकोे हो ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभएको छ ।

उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराएर जिल्ला प्रहरी कार्यालय र प्रशासनले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको उहाँले बताभयो । प्रजिअ गौतमका अनुसार कतिपयले ठाँडो निवेदन र कतिपयले प्रमाणसहित उजुरी दिएका छन् । ‘एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ,’ उहाँले भन्नुभयाे, ‘धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन् ।’

ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको प्रजिअ गौतमले बताउनुभयाे । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको उहाँले जानकारी दिनुभयाे । सरकारले उजुरीका लागि आह्वान गर्नुअघि पनि मिटरब्याजका कारण पीडित भएको भनेर धेरै सर्वसाधारण उजुरी लिएर जिल्ला प्रहरी कार्यालयमा आउने गरेका बताउँदै प्रजिअ गौतमले कतिपय मिटरब्याजीहरु कारागार चलान भै सकेको बताउनु भएको छ ।

दर्ता भएको निवेदनमाथि प्रमाणको आधारमा सरकारी वकिलसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उहाँले जानकारी गराउनुभयाे। सप्तरी सहित देशैभरी मिटरव्याजीपीडितहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?