अहिले पाँच दलीय गठबन्धनको विकल्प छैन, चुनावपछि यसै हुन्छ भन्न सकिन्न : पूर्वप्रधानमन्त्री खनाल

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीले बहुमत लत्ताएर स्वेच्चाचारी र व्यक्तिवादी भएको बताउनुभएको छ ।

एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खनालले जनताले दुई तिहाई मत सहित देश विकासको म्यान्डेड दिएको भएता पनि ओलीले त्यसलाई लत्ताएर भएका बताउनुभएको हो ।

ओलीले उन्माद भएर दुई दुई पटक संसद भंग गरेको, पार्टीको नीति सिद्धान्त भन्दा बाहिर काम गरेको, व्यक्तिवादी निर्णय हावी भएको कारण बाध्य भएर आफूहरुले त्यसको विरोध गरेको उहाँले बताउनुभयो । उहाँले केपी नेतृत्वको सरकारले भूमिहीन, किसान, श्रमिक, उद्योगी, युवा, उत्पीडितको पक्षमा एउटा पनि काम नगरेको आरोप लगाउनुभयो । देशको कृषि क्षेत्र, औद्योगिक क्षेत्र, प्रविधि क्षेत्रको विकास नभई समृद्ध राष्ट्र बनाउन नसकिने धारणा उहाँले राख्नुभयो ।

पाँच दलीय गठबन्धनलाई बलियो बनाएर आगामी मङ्सिरमा हुने चुनावमा जानुको विकल्प नरहेको नेता खनालले बताउनुभएको छ । वामपन्थी शक्तिहरू आफ्नै दम्भका कारण अब मिल्ने अबस्थामा नरहेको बताउँदै खनालले पाँच दलका बीचमा भएको सीट बाँडफाँडको लगभग टुङ्गो लागिसकेको बताउनुभयो ।

खनालले पाँचदलीय गठबन्धन नै दृढतापूर्वक अगाडि बढ्ने र निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले गठबन्धन नगरी एक्लै हिंड्ने दलको असफलता अनिवार्य रहेको बताउनुभयो ।

खनालले भन्नुभयो, ‘जो एकताबद्ध भएर अघि बढ्छ, उसलाई सफलता मिल्छ, जो एक्लै हिंड्छ, त्यो छिन्नभिन्न हुन्छ ।’ उहाँले निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्ने दावी गर्नुभयो । वाम एकताको विषयमा खनालले भन्नुभयाे, ‘मुख्य–मुख्य भन्ने वामपन्थी समूहका नेताहरुले नै अहिले वाम एकता गर्नेमा पहल गर्न सकेका छैनन्, त्यसैले तत्काल वाम एकताको सम्भावना छैन । पाँच दलीय गठबन्धन नै दृढतापूर्वक अगाडि बढ्छ र निर्वाचनमा जान्छ । सफलता हासिल गर्छ ।’ खनालले अहिलेको गठबन्धन राजनीतिक गठबन्धन भएको र यो एउटा विशिष्ट उद्देश्य प्राप्तिका लागि बनेको बताउनुभयो । तर, गठबन्धन पछिसम्म जान्छ कि जाँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था भने नरहेको उहाँले प्रतिक्रिया दिनुभयो । ‘निर्वाचनपछि संसदमा कसको कस्तो उपस्थिति हुन्छ, त्यही अनुसार गठबन्धन रहने–नरहने हुनसक्छ’, उहाँले भन्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?