राष्ट्रिय खेलकुदका लागि छनोट सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

म्याग्दी । म्याग्दीमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ । भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

१६ खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कबड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । ‘सम्बन्धित खेलकुद सङ्घसँग समन्वय गरेर खेलाडी छनोटको काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि छ ।’

जिल्लामा अन्य खेलको भदौ १० गतेसम्म छनोट गर्ने अध्यक्ष केसीले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको छ । देशभरबाट खेलाडी छनोटसँगै गण्डकीको राजधानी पोखराबाहेकका शहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको राखेपका सदस्य राजेश गुरुङले बताउनुभयो ।

विसं २०७७ मा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लोपटक असोज-कात्तिक महिनामा सारिएको थियो । पोखरा रङ्गशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकैका गण्डकीका अन्य शहरमा पनि खेल सञ्चालन गर्ने तयारी राखेपले गरेको छ । यसैगरी राष्ट्रिय महिला भलिबल टिमका क्याप्नेट अरुणा शाहीलगायत सातजनालाई बेनीमा शनिबार सम्मान गरिएको छ ।

जिल्ला भलिबल सङ्घको कार्यालय स्थापनाको अवसरमा म्याग्दीको भलिबल खेलको विकासमा योगदान गरेको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा टिम क्याप्टेन शाही, भलिबल खेलाडी मुन्ना केसी, गङ्गा केसी, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबल सङ्घका पूर्वअध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वसचिव विनय श्रेष्ठ, भलिबल रेफ्री डिबी श्रेष्ठ रहनुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । जिसस प्रमुख थापाले बेनीको शिक्षा मार्गमा स्थापना भएको भलिबल सङ्घको कार्यालय पनि स्थापना गर्नुभयो । सङ्घले जिल्लाका छवटै स्थानीय तहमा पनि समिति विस्तार गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?