लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

बार्सिलोना । रोवर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले रियल सोसिडाडमाथि उसकै मैदानमा ४-१ को सहज जित हात पारेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेले र अन्सु फातीले समान एक/एक गोल गर्नुभयो ।

खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । छैटौँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । अंशु फातीले ६६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाउनुभयो ।
६८औँ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्नुभयो । त्यसपछि फातीले ७९औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउनुभयो । पहिलो जितसँगै बार्सिलोना दुई खेलबाट चार अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । पहिलो हार बेहोरेको सोसिडाड तीन अङ्क जोडेर १०औँ स्थानमा रहेको छ ।

ला लिगाकै अर्काे खेलमा भिल्लारियलले एट्लेटिको म्याड्रिडलाई २-० ले पराजित गरेको छ । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनो गोल गर्नुभयो । यो जितसँगै भिल्लारियलले रियल म्याड्रिडलाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । समान ६ अङ्क भए पनि भिल्लारियल शीर्षमा रहेको छ । पराजित एट्लेटिको तीन अङ्क जोडेर आठौँ स्थानमा रहेको छ । यस्तै अर्काे खेलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

यता प्रिमियर लिगमा न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीले ३-३ को बराबरी खेलेका छन् । सिटीका लागि इल्काए गुन्डोगन, एर्लिङ हालान्ड र बर्नार्डो सिल्भाले गोल गर्दा न्युकासलका क्यालम विल्सन, मिगुएल आल्मिरोन र काइरन ट्रिपिएरले १-१ गोल गर्नुभयो ।
यस बराबरीसँगै सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोलीले तीन खेलमा सात अङ्क जोडेको छ । न्युकासल तीन खेलमा पाँच अङ्कका साथ छैटौँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले तीन खेलमा नौ अङ्क जोडेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?