सक्रियता देखाउँदै भूमि आयोग जिल्ला समिति, आठ महिनामा १०६ जनालाई धनीपुर्जा

हिमालय टाइम्स
Read Time = 4 mins

-राधिका बुढाथोकी

सिन्धुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले सक्रियता बढाएको छ । अघिल्लो समिति खारेज भएपछि पुनर्गठन भएको समितिले भूमिसम्बन्धी समस्या समाधान गर्न तीव्रता दिएको हो । रामकुमार पौडेलको अध्यक्षतामा गत माघ ५ गते बनेको समितिले विगतका आयोग, समिति र कार्यदलका बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समिति जिल्लाका भूमिहीन दलित, सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि बनेको हो । सोहीअनुसार अहिले काम भइरहेको समितिले जनाइएको छ ।

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले जिल्ला समितिबाट सात महिनामा भए गरेका कार्य प्रगतिको बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘दुधौली नगरपालिका भित्रका १०६ घरधुरी भूमिहीन दलित, सुकुम्बासीहरूलाई जग्गाधनी पुर्जा वितरण गरियो । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिकामा एक दिने जग्गा नाप जाँच तथा ऐन कानुनको विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यौ ।’

त्यस्तै, कमलामाई नगरपालिका–३ चपौलीका २६ घरधुरी र हरिहरपुरगढी गाउँपालिका–७ र ८ मा एक हजार २६७ घरधुरीलाई निस्का (प्रमाण) वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेख र गोलञ्जोर गाउँपालिकासँग प्रारम्भिक सम्झौता गरिएको छ । अघिल्लो समितिले कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा मात्र प्रारम्भिक सम्झौता गरेको थियो । ‘बाँकी पालिकाहरूमा प्रक्रिया नै सुरु भएको थिएन, हामीले जिरोबाट काम सुरु ग¥यौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ।

हालसम्म जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका ३४ हजार ५१३ निवेदन संकलन भएका छन् । त्यसमध्ये भूमिहीन दलित ८८६, भूमिहीन सुकुमबासी एक हजार ६३१ परिवार र अव्यवस्थित बसोबासी ३१ हजार ९९६ छन् । लगत संकलनका क्रममा दुधौली नगरपालिकामा सबैभन्दा बढी र घ्याङलेख गाउँपालिकामा सबैभन्दा कम आवेदन परेको छ । उक्त नगरपालिकामा ४६९ भूमिहीन दलित, ३९९ भूमिहीन सुकुमबासी र १० हजार ९६६ अव्यवस्थित बसोबासी छन् । त्यसैगरी, गाउँपालिकामा भूमिहीन दलित दुई, भूमिहीन सुकुमबासी २३ र ४५० अव्यवस्थित बसोबासीका निवेदन संकलन भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?