चलचित्रमा चुलिँदै केडी प्रशित

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । हालै काठमाडौंमा सम्पन्न दशौँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा अभिनेता केडी प्रशित (केशव दर्जी) चलचित्र थर्ड आईबाट उत्कृष्ट चरित्र अभिनेताको अवार्ड जित्नुभयो । यसरी थर्ड आईबाट पहिलो अन्तर्राष्ट्रिय अवार्ड चुम्नु भएका केडीले यो सहित अन्य चलचित्रबाट राष्ट्रिय अवार्ड भने थुप्रै पटक हासिल गरिसक्नु भएको छ ।

चलचित्र थर्ड आई नेत्र दानसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेको छ । यही चलचित्रबाट केडी प्रशितले नेपाल सर्ट फिल्म अवार्डमा उत्कृष्ट सहअभिनेताको अवार्ड हासिल गर्नुभयो । आशुतोष अधिकारी निर्देशित यो चलचित्रमा उहाँले नेत्रदानका लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको छ । यो चलचित्र अब युरोपका १० शहर, क्यानडा, अमेरिका, मलेशियालगायत मुलुकमा प्रदर्शन गरिने केडीले बताउनुभएको छ ।

केडीले चलचित्रमा काम गर्न थालेको डेढ दशक हुन लाग्यो । चितवनको भरतपुर नगरपालिका–६ मा जन्मिनु भएका उहाँले स्कुले जीवनबाटै नाटकमार्फत अभिनय यात्रा सुरु गर्नुभएको थियो । आफूलाई अभिनेता र निर्देशक दुवै विधामा स्थापित गरिसक्नुभएको छ । चलचित्रतर्फ भने २०६३ सालमा निर्मित लघु चलचित्र ‘द फाइट एग्नेष्ट ग्रड एण्ड एचआईभी’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो ।

पहिलो चलचित्रको सफलतापछि उहाँले अभिनयसँगै निर्देशन यात्रालाई सँगै अघि बढाएको बताउनुभयो । त्यतिबेला वरिष्ठ निर्देशक शिव रेग्मीको कामबाट प्रभावित केडीले अभिनयसँगै आफूलाई निर्देशन पनि बन्ने रुचि जागेको बताउनुभयो । निर्देशक राजु अधिकारीसँग काम गर्ने क्रममा आफू अभिनयसँगै निर्देशनतर्फ आकर्षित भएको बताउनुभएको छ ।

उहाँले पहिलोपटक म्युजिक भिडियोबाट निर्देशन सुरु गर्नुभएको थियो । प्रमोद खरेलको स्वरमा रहेको गीत चितवनका स्थानीय कलाकारलाई लिएर चलचित्र ‘माई भिलेज’ निर्देशन गर्नुभयो । सो चलचित्रलाई दर्शकले रुचाएपछि २०६६ तिर केडीले चलचित्र ‘मायाँ मन भित्र’ को निर्देशन गर्नुभयो । यो चलचित्रले उहाँलाई निर्देशनमा स्थापित गरायो । यसपछि उहाँले मेरो भगवानसहित थुप्रै चलचित्रको निर्देशन गरेर राष्ट्रियस्तरको अवार्ड हासिल गरिसक्नुभएको छ ।

हालसम्म आधा दर्जन चलचित्रको निर्देशन र एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नु भएका केडी मोफसलबाट पनि राष्ट्रियस्तरको चलचित्र बनाउन सकिन्छ भन्ने उदाहारणका रूपमा चिनिनुहुन्छ । उहाँ यतिबेला नयाँ चलचित्रको निर्देशन तयारीमा जुट्नुभएको छ । प्रदीप बाँस्तोलासहितका कलाकारलाई लिएर दशैँपछिबाट नयाँ चलचित्रको छायाँकनमा उत्रने बताउनुहुन्छ । उक्त चलचित्रको अहिले स्कृप्टको काम भइरहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?