काठमाडौं । काठमाडौं उपत्यकामा महिनौँदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । महिना दिनभन्दा लामो समयदेखि थुपारिएको उपत्यकाको फोहोरको डंगुर उठाउन थालिएको हो । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको बञ्चरे डाँडामा स्थानीयले अवरोध गरेपछि महिना दिनभन्दा बढी समयदेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन । पछिल्लो समय तत्काललाई प्रभावितको आन्दोलन स्थगित भएपछि फोहोर उठ्न थालेको हो । हाल स्थानीयको अवरोध पनि सामान्य बनेको छ । अवरोध सामान्य भएसँगै उपत्यकाका सडकमा थुप्रिएको फोहोर जेसिबी लगाएर उठाउन थालिएको छ ।
दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको कामपा वातावरण विभाग प्रमुख सरिता राईले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार साविकबमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एकसातामा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने छ । यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।
फोहोर नउठाउँदा मुख्यगरी महानगरका बजार, टोल नै दुर्गन्धित बनेका छन् । फोहोर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहोरको डंगुरले दैनिकीमा नै समस्या भएको छ । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहोरका कारण आवतजावत बन्द थियो । उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालेसँगै कलंकी, कालीमाटी, बल्खु, टेकुलगायत स्थानको फोहोरको अन्तिम व्यवस्थापनको काम सकिएको छ ।
एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिनुभएको हो । काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ । फोहोर उठाउन थालिएसँगै फोहोर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको महानगरले जनाएको छ । संघीय राजधानी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।
हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन रहेको छ ।
‘अण्डरग्राउण्ड पार्किङ’मा ‘एक्सन’ लिँदै महानगर
काठमाडौं महानगरपालिकाले ‘अण्डरग्राउण्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउन सुरु गरेको छ । सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि महानगरले उक्त ठाउँ खाली गराउन सुरु गरेको हो । सोमबार महानगरले बानेश्वर कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ खुलाउन संरचना भत्काएको छ ।
काठमाडौं नगर प्रहरीले अण्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो । अण्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन आग्रह गर्दै ३५ दिने सूचना जारी गरे पनि नमानेपछि संरचना भत्काएको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्साअनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।
अण्डरग्राउण्डमा खोलिएका पसल हटाउन मेयर बालेन्द्र साह बिहान बानेश्वर क्षेत्रमा आफैँ पुग्नुभएको थियो । भवनको नक्सापास भएअनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने महानगरले जनाएको छ ।
पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमै प्रयोग गर्दिनुहोला : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमै प्रयोग गरिदिन आग्रह गर्नुभएको छ । यसो गर्दा सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुने र सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुने उहाँको विश्वास छ । यसले महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुने मेयर साहले बताउनुभयो । ‘अण्डरग्राउण्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको छ,’ उहाँले भन्नुभएको छ, ‘हामीले बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । विस्तारै सबैतिर महानगर पुग्नेछ । पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमै प्रयोग गरिदिनु होला । यसो भएमा सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका