सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस, बैठक आज पुनः बस्दै, कांग्रेसलाई कस्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको रणनीति

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा सहमति जुटाउन सोमबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठक पनि निष्कर्षविहीन भएको छ । आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटको खाका तयार गर्न नसकेपछि छलफलमा जुटेका शीर्ष नेताहरूको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो । आसन्न आम निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि शीर्ष नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो । कार्यदलले जिम्मेवारी सुम्पिएपछि पहिलोपटक सोमबार गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।

बैठकपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेताहरूको बैठकमा बाँडफाँटबारे छलफल भएको तर कुनै निष्कर्षमा पुगिनसकेको जानकारी दिँदै भन्नुभयो, ‘मुख्य रूपमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा बारेमा छलफल भयो । बैठक निष्कर्षनजिक पुगेको छ । अलिक दिन कुरेपछि सबै थाहा हुन्छ तपाईंहरू आउँदै गर्नुहोस् ।’
बैठकमा सत्ता गठबन्धनमा अन्य दललाई पनि समेट्नेबारे छलफल भए पनि कुनै निर्णय नभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे फेरि बस्नेछ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा जाने सहमति भएको छ । तर, सिट बाडफाँटको विषय भने गठबन्धनका दलहरूले सहमति जुटाउन सकिरहेका छैनन् ।

दलहरू एक-अर्कालाई गलाउने रणनीतिमा
सत्तारूढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय जटिल बनेको छ । गठबन्धनले सिट बाँडफाँटको खाका तयार पार्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सिट बाँडफाँटको खाका तयार पार्न तीनवटा औपचारिक बैठक बसे पनि सहमति जुट्न सकेन । सिट बाँडफाँट गर्ने काम कार्यदलस्तरमा सम्भव नभएपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

कार्यदलमा सिट बाँडफाँटका लागि आधार बनाउने विषयमा विवाद बढेको थियो । गठबन्धनको दोस्रो ठूलो दल माओवादीले ०७४ मा जितेका प्रत्यक्ष सिटलाई कायम राखेर ८१ सिटमा मात्रै बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । एक वर्षअघि गठन भएको एकीकृत समाजवादी पार्टीको हकमा भने विशिष्ट मापदण्ड बनाउनुपर्ने माओवादीले प्रस्ताव राखेको थियो । माओवादीको प्रस्तावलाई एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले सकारात्मक रूपमा लिए पनि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सहमत हुन सकेन ।

न्यूनतम् आधार बनाउने विषयमै विवाद भएपछि प्रतिनिधिसभाका १६५ सिट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सिटौला नेतृत्वको कार्यदलले खाका बनाउन असफल भएपछि शीर्ष नेतृत्वलाई नै जिम्मेवारी सुम्पिन बाध्य भयो । नेपाली कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिटलाई बटमलाइन बनाएको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै चर्को दबाब छ ।

गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र ६० सिटको अडानमा छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कम्तीमा २५–२५ सिट पाउनुपर्ने अडान छोडेका छैनन् । स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमालेलाई हराउन आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने नेकपा समाजवादीको तर्क छ । राष्ट्रिय जनमोर्चाले ६ सिट दाबी गरेको छ । पाँच दलीय गठबन्धनमा जोडिन खोजिरहनु भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चार र वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्ट्रिय अभियान पार्टीले एकसिट दाबी गरिरहेको छ ।

गठबन्धनमा आबद्ध वाम दलहरूको असहमतिका बाबजुद प्रधानमन्त्री देउवा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउन प्रयास गरिरहनु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन कांग्रेसभित्र चर्को दबाब छ । अर्कोतिर गठबन्धनका वाम दलहरूले उपगठबन्धनको तयारी गरिरहेका छन् । गठबन्धनभित्रै उपगठबन्धन बनाउन सके सिट बाँडफाँटमा कांग्रेसमाथि दबाब बढाउन सकिने वाम दलहरूको बुझाइ छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले भदौ १५ गतेभित्र सिट बाँडफाँट टुंग्याउने समझदारी गर्नुभएको छ ।

सिट बाँडफाँटका कारण गठबन्धनमा समस्या आउँदैन : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्न पाँच दलीय गठबन्धन आवश्यक भएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन नेपालले गुल्मीको तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले पाँच दलीय गठबन्धन संविधान रक्षाको लागि समयको आवश्यकता भएको बताउनुभएको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर फाटो आउँछ कि ? भन्ने प्रश्नमा नेता खनालले गठबन्धनमा सिट बाँडफाँटको समस्या नहुने दाबी गर्नुभयो । सिट मिलानका लागि कार्यदलले काम गरिहेको र कार्यदलको छलफलपश्चात् शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले समस्या नहुने तर्क गर्दै नेता खनालले भन्नुभयो, ‘आफूले धेरै सिट पाए हुन्थ्यो भन्ने चाहना सबैलाई हुन्छ । तर, सबैलाई मागे जति पुग्दैन । त्यसैले सहमतिमै सबै मिल्छ । फाटो नै आउने गरी समस्या हुँदैन ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तीनबुँदे सहमति : चुनावी घोषणापत्र एउटै हुने
सत्तारूढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावपछि पार्टी एकता गर्ने गरी तीनबुँदे सहमति भएको छ । सोमबार ललितपुरको हात्तीवनस्थित एक निजी निवास (प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घर) मा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भएको वार्तामा पार्टी एकता गर्ने गरी तीनबुँदे सहमति भएको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै सिट बाँडफाँटमा दुवै पार्टीले एउटै पहल गर्ने समझदारी भएको छ । दुई पार्टीका शीर्ष नेताहरूबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार उठाउँदा पनि मिलेर उम्मेदवारी दिने सहमति भएको छ । दुई दलका शीर्ष नेताहरूबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकताका लागि राजनीतिक, वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने पनि समझदारी भएको उपाध्यक्ष हमालले जानकारी दिनुभयो ।

पार्टी एकता संयोजन समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट भने नाम टुंगो लाग्न बाँकी छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी रहेको दुई दलका शीर्ष नेताहरूको छलफलमा सिट बाँडफाँटको लागि गठन गरेको गठबन्धन कार्यदलमा कांग्रेसले धेरै सिट दाबी गरेको विषयमा पनि छलफल भएको जनाइएको छ । समाजवादी केन्द्रको अवधारणामा बाबुराम भट्टराई र वामदेव गौतमसमेत जोडिनुभएकाले बलियो शक्तिको अभ्यासमा लाग्न नेताहरू सहमत भएको बताइएको छ । समाजवादी केन्द्र निर्माणमा बाबुराम भट्टराई र वामदेव गौतमलाई पनि समेट्ने नीतिअनुसार उहाँहरू माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?