गठबन्धनको संस्कार र आसन्न निर्वाचन

Read Time = 16 mins

✍️ गणेश सुवेदी

गठबन्धन आफैँमा पनि त्यति सहज शब्द होइन यो । समान विचार र निश्चित उद्देश्यलाई प्राप्त गर्न गरिएको गठबन्धनलाई टिकाउन त कति ठूलो धैर्यता तथा आत्मविश्वास चाहिन्छ भने फरक-फरक विचार र सिद्धान्तबाट प्रभावित राजनीतिक दलहरूको अहिलेको गठबन्धन टिकाउनु आफैँमा फलामको चिउरा चपाउनु जस्तै हो । झन् त्यसमा आसन्न निर्वाचनमा पार्टी-पार्टीबीच सिट बाँडफाँड गरेर सामूहिक रूपमा निर्वाचनमा जानु पक्कै चुनौती नै छ ।

निर्वाचनलाई केन्द्रित गरेर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा निर्वाचनको प्रयोजनका लागि कार्यदल निर्माण भएको छ । यसमा सबै दलहरूले आफूलाई अनुकूल हुनेगरी प्रस्ताव लिएर आउने छन् । त्यसलाई न्यायोचित वा आवश्यकताको सिद्धान्तको आधारमा भागवण्डा होला, दलहरू संयुक्तरूपमा निर्वाचनमा जालान, त्यो भोलिको दिनले देखाउनेछ । तर नेपाली कांग्रेस आफ्नो निश्चित गति र गन्तव्यप्रति सचेत रहँदै अहिलेको निर्वाचनमा केन्द्रित हुनुपर्ने छ । आगामी निर्वाचन पछि गठबन्धन दलहरूको गठबन्धन सदाका लागि अन्त्य हुनुपर्दछ । सरकार जुनसुकै दलको बनोस्, उसले आफ्नो नीति र कार्यक्रम अनुरूप सरकार चलाउन पाउनुपर्दछ अनिमात्र विकासले रफ्तार लिन्छ । एउटै सोच र संकल्पअनुरूपका गतिविधिहरू सञ्चालन गर्न बल पुग्दछ । त्यसपछि मात्र मुलुकको समुन्नतिको यात्रा प्रारम्भ हुन्छ ।

नेपालमा प्रजातन्त्र आएको, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको करिब तीन दशक पार भइसकेको छ । जनता तथा स्वयं कार्यकर्तामा निराशा छाउन थालेको छ । यसैलाई मध्यनजर गरी स्वतन्त्र तथा केही चर्चित पात्रहरू राजनीतिक रंगमा घुलन हुँदै गइरहेका छन् ।

नेपालमा प्रजातन्त्र आएको, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको करिब तीन दशक पार भइसकेको छ । जनता तथा स्वयं कार्यकर्तामा निराशा छाउन थालेको छ । यसैलाई मध्यनजर गरी स्वतन्त्र तथा केही चर्चित पात्रहरू राजनीतिक रंगमा घुलन हुँदै गइरहेका छन् । स्थानीय निकायको निर्वाचनले त्यसको सम्भावनालाई पुष्टि गरिसकेको छ । युवाहरू राजनीतिमा आउनु, राजनीतिक दलहरू निर्माण गरिनु पक्कै परिवर्तनकामी जनताहरूको आवश्यकताको सम्बोधन हुने संकेत हो तर नेपालमा भइरहेका र हुँदै आएका गतिविधि खासै जनता र मुलुकको समुन्नतिका लागि हुन् भन्ने कुरामा दृढतापूर्वक भन्ने अवस्था छैन । किनकि हालसम्म नेपालमा सञ्चालन भएका गतिविधि कतै न कतैबाट निर्देशित छन् भन्ने प्रमाणित भइसकेको छ । अहिलेका गतिविधि पनि भोलि प्रमाणित हुँदै जालान् ।

राजनीतिमा सामान्यभन्दा सामान्य जनताको पहुँच हुनुपर्दछ । नेताको पहुँचमा जनता हुनुपर्दछ । राजनीतिक सेवाबाट सञ्चालित हुन्छ । त्यस आदर्शबाट प्रभावित व्यक्तिमात्र राजनीतिज्ञ बन्छ भन्ने हिजोको मान्यता थियो । त्यतिबेला राजनीतिमा होमिन चाहने व्यक्ति जनता निकट हुनै पर्दथ्यो तर अहिले त्यो सिद्धान्तमा फरकपन आएको छ । अहिले राजनीतिमा होमिन चाहने व्यक्तिले नेताहरूसँग निकट भए पुग्छ । त्यो बेला जनता सर्वोपरी हुन्थे, अहिले नेता सर्वोपरी हुनथाले । त्यसबेला जनता जनार्दन थिए अहिले नेता धनार्जन छन् अर्थात् कोर्ष परिवर्तन भएको छ राजनीतिको ।

यस अवस्थामा जनताको आस्था र भरोसा रहेको तथा मुलुकको अवस्था र आवश्यकता अनुरूप गठन भएको दल नेपाली कांग्रेस भएकाले अहिले पनि जनताहरू कांग्रेसप्रति आशावादी छन् । नेपाल र नेपालीको परिवर्तनका लागि गठित भएको दल, मुलुकको माटो र जनताको मुटुसँग जोडिएको दल नेपाली कांग्रेसले विगतलाई स्मरण गर्नुपर्दछ । नेपाली कांग्रेसको सिद्धान्तको प्रतिपादक नेपाली सुपुत्रहरू नै थिए । कम्युनिष्ट दलहरूको आदर्श र निष्ठा भनेका माओ, माक्र्स, लेलिन, स्टालिन भए झैँ नेपाली कांग्रेसको आदर्श मुलुक र जनता नै थिए र अझै छन् । तर, नेपाली कांग्रेस अरूसँग जोडिँदै गर्दा, गठबन्धन गर्दै गर्दा आफ्नो निष्ठा र आदर्शबाट विमुख हुँदैछ भन्ने आशंका बढेको वर्षौं भइसक्यो ।

विशेषगरी माओवादी द्वन्द्वको विसर्जनदेखि संविधान निर्माणसम्म र कम्युनिष्ट नामका दलहरूको एकीकरणदेखि विखण्डनसम्मको अवस्थामा अर्थात २०६०/०६१ देखि २०७८/०७९ सम्मको यो डेढ दशक लामो अन्योलतालाई व्यवस्थापन गर्नमा नै नेपाली कांग्रेसको ध्यान गएको छ । कम्युनिष्टहरू जुटे पनि उनीहरूको स्वेच्छाचारिताविरुद्ध लड्नु परेको छ । फुटे पनि उनीहरूको व्यवस्थापनमा कांग्रेस नै खटाउनु परेको छ । नेपाली कांग्रेस दल अहिले पनि उनीहरूको साख र प्रतिष्ठा जोगाइदिने ठेक्का लिएर बस्नुपरेको छ । केपी ओलीको अघिल्तिर प्रचण्ड र माधव नेपालको इज्जत र प्रतिष्ठा बचाइदिन पनि कांग्रेस नै चाहिएको छ । यो कस्तो विडम्बना हो । राजनीति मुलुक र जनताका लागि गर्नुपर्ने अवस्थामा कम्युनिष्ट आचरण र व्यवहार व्यवस्थापनमा नेपाली कांग्रेसले समय खर्चिनु मुलुक र जनताको विडम्बना हो ।

बाध्यता पनि छ नेपाली कांग्रेसलाई । राजनीतिक दलहरू मुलुकप्रति जिम्मेवार हुनै पर्दछ । बाटो बिराएका राजनीतिक दल र नेतृत्वलाई सही ट्याकमा हिँडाउनै पर्दछ तर नेपाली कांग्रेस अर्काको घरको भित्तो टाल्न सक्रिय रहँदै गर्दा आफ्नो घरको छानो चुहिएको थाहा पाउने कि नपाउने ? निर्घिणी छिमेकीको भित्तो टालेर दुई/चारजनाको जीउधन बचाउने कि आफ्नो घरको छानो हालेर लाखौं आश्रितको जीवनरक्षामा लाग्ने ? नेपाली कांग्रेसले यस विषयमा सोच्नु पर्दछ ।

वास्तवमा नेपालमा कम्युनिष्ट भनिनेहरू कम्युनिष्ट नै होइनन् । आफ्नो कुरामाथि परेन भने दल नै छोड्ने, दल नै फोड्नेहरू कसरी कम्युनिष्ट हुन सक्छन् ? यिनीहरू त जहानियाँ राणा शासक र निरंकुश पञ्चायती शासकभन्दा घृणित व्यवहार र घटना घटाउँदै जाँदैछन् । एक–अर्कालाई सत्तोसराप गर्दै हिलो छ्यापाछ्याप गर्दै छन् । नेपाली कांग्रेसले तिनीहरूको व्यवस्थापनमा समय दिनुपर्ने हो ? वर्तमान गठबन्धन पनि त्यही हो । हिजो नेपाली कांग्रेसकै काँध चढेर, कांग्रेसकै घाँटी निमोठेको दाग अझै छ कांग्रेसमा तर किन कुन्नि चेत्दैन कांग्रेस ? बाँदरलाई लिस्नो र कम्युनिष्टलाई काँध कहिल्यै नदिनु भन्ने बुढापाकाहरूको उक्ति नै छ । तर नेपाली कांग्रेस जानी जानी कम्युनिष्टलाई काँध दिँदै अघि बढिरहेको छ । तर, एक पटक सोचौँ त काँधमा चढेकाले आँखा छोपिदियो भने नेपाली कांग्रेस कहाँ पुग्छ ? जनता कहाँ पुग्छन् ? कम्युनिष्टहरू जनताको मन र मुटुमा बसेको नाटक गरेर त्यही छातीमा प्रहार गर्न माहिर छन् भन्ने कुरा हिजोको राजनीतिक प्रवृत्ति हेर्दा प्रष्टै हुन्छ त ।

जे होस् नेपाली कांग्रेसले प्रचण्ड र माधव नेपाललगायत दलहरूलाई काँध दिइरहने दिनको अन्त्य गर्नुपर्दछ । अहिले पनि त बेलाबेलामा हामीले साथ छोड्यौँ भने तिम्रो बिल्लिबाठ हुन्छ भनेर धम्क्याउँदै आएकै छन् त । के यिनीहरूलाई बोकेर सत्ता चलाउनकै लागि स्थापित भएको पार्टी हो र ? किन बुझ्दैन कांग्रेस नेतृत्वले यो कुरा । हिजो झण्डै दुई तिहाइ नजिकको सरकार हाँकेका केपी ओलीले अब ५० वर्ष नेपाली कांग्रेस सत्तामा जाँदैन भनेका थिए त । तर, तीन वर्षपछि उनीहरूकै भाइभारदारले कांग्रेसलाई सत्तामा विराजमान गराएरै छोडे त अर्थात निष्ठापूर्वक राष्ट्र सेवा र जनासेवा गर्ने नेता र राजनितिक दलले सत्ता विमुख भएको विश्वको कुनै इतिहास बनेको छैन । हुँइयाको डरले हो कि किन हो नेपाली कांग्रेस कुडाकर्कटको भरमा अघि बढिरहेको छ । यिनीहरूको औकात देखाइदिनुपर्ने होइन र कांग्रेसले ?

प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँड गर्दा नेता हेरेर होइन कार्यकर्ताहरूको मनस्थिति हेरेर गरिनु पर्दछ । नेतालाई सुरक्षित गर्दै गर्दा कार्यकर्ता असुरक्षित रहनु हुँदैन । भोटको मर्यादा पनि राखिनु पर्दछ । जहाँका कार्यकर्ता वर्षौंदेखि अन्य राजनीतिक दलहरूबाट प्रताडित छन् ।

राजनीतिमा जे पनि हुन सक्छ भन्ने दृष्टान्त होला अहिलेको राजनीतिक अवस्था तर यो नै नेपाली कांग्रेसको अन्तिम कम्युनिष्ट बोकाइ हुनुपर्दछ । राजनीतिमा यस्ता खाले गठबन्धनले जनतालाई न्याय र समानता तथा मुलुकलाई दिशा दिन सक्दैन । दशतिर मुख भएका व्यक्तिहरूको समूह निर्माण गर्दैमा एकमुखे विकास हुनै सक्दैन । राष्ट्रलाई भार बढाउने, जनतामा असन्तुष्टि बढाउने यस्ता खाले गतिविधिहरूको अन्त्य आसन्न निर्वाचनबाट खोजिनुपर्दछ । अर्काको इज्जत बचाउँदै गर्दा आफ्नो धोती खुस्केको छ/छैन हेक्का राख्नुपर्दछ ।

अर्को कुरा प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँड गर्दा नेता हेरेर होइन कार्यकर्ताको मनस्थिति हेरेर गरिनुपर्दछ । नेतालाई सुरक्षित गर्दै गर्दा कार्यकर्ता असुरक्षित रहनु हुँदैन । भोटको मर्यादा पनि राखिनुपर्दछ । जहाँका कार्यकर्ता वर्षौंदेखि अन्य राजनीतिक दलहरूबाट प्रताडित छन् । त्यहाँका जनताको सम्मान र सुरक्षातर्फ पनि पार्टी र कार्यदलको ध्यान जानुपर्दछ । नेपाली कांग्रेसले सतहत्तर जिल्लालाई नै समानताको सिद्धान्तले हेरी सिट बाँडफाँड गर्न कार्यदललाई निर्देशन दिनुपर्दछ । नेताका टाउका गनेर भागबण्डा गर्ने होइन कार्यकर्ताको भावना बुझेर गरिने निर्णय नै सर्वोपरी निर्णय हुन्छ ।

जनतामा बढेको निराशालाई सम्बोधन गर्ने लक्ष्य र उद्देश्यमा अविराम हिँड्ने प्रतिबद्धता कांग्रेसले जगाउन सक्यो भनेमात्र जनताको उल्लेख्य अभिमत नेपाली कांग्रेसले पाउनेछ । कम्युनिष्टहरूको व्यवहारबाट जनताहरू वाक्कदिक्क भएका छन् । नेपाली कांग्रेस केही नवीन कार्यक्रम र उद्देश्यसहित जनताको घरघरमा गयो भने जनताले पुनः नेपाली कांग्रेसलाई बहुमत दिने नै छन् किनकि नेपाली कम्युनिष्ट पार्टीहरूको स्वार्थ केन्द्रित राजनीति जनताले बुझिसकेका छन् । जनताको त्यो मनोभावना बुझी कार्यान्वयन हुन सक्ने खालका योजना र कार्यक्रमसहितको घोषणापत्र निर्माण गरी जनतामा जानु बुद्धिमानी हुन्छ ।

नेपाली कांग्रेसले संकल्प गर्नै पर्दछ । यस पटक जारी गरिने घोषणापत्र अनुरूपमा गतिविधि गर्न प्रतिबद्ध छौँ भनेर जनतालाई विश्वास दिलाउनुपर्दछ । किनकि जनताले पत्याएको र विश्व समुदायले विश्वास गरेको दल नै नेपाली कांग्रेस हो । त्यसैले नेताहरूले दह्रोसँग खुट्टा टेकी, छातीमा हात राखेर प्रतिबद्ध हुनै पर्दछ भोलिको उज्यालोका लागि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?