वाइसिएलको नयाँ नेतृत्वलाई पद तथा गोपनीयताको शपथ

Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ । आज यहाँ आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसिएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिनुभयो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी हुनुहुन्छ ।

यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा हुनुहुन्छ । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित हुनुभएको छ ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेशसभाको निर्वाचनलाई भव्यरुपमा सम्पन्न गराउन तत्कालै जनपरिचालन तथा युवा परिचालनको कार्यक्रम सुरु गरिने वाइसिएलले जनाएको छ । सङ्गठन विस्तार, हरेक वडा वडामा वाइसिएल तथा राजनीतिका अलावा सामाजिक सुधार र जागरणको क्षेत्रमा समेत काम गर्ने गरी भेलाले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव पुष्प ओलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?