अपमानित नाम ‘कुकुर्नी’ सच्याएर ३५ वर्षपछि सावित्राले पाइन् आफ्नै नामको नागरिकता

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ४ की सावित्रा कामीको नागरिकतामा ‘कुकुर्नी कमिनी’ थियो । नागरिकतामा कुकुर्नी कमिनी भए पनि उहाँले ३५ वर्षदेखि यही नामको नागरिकताबाटै ‘अफिसियल’ र घरायसी काम गर्दै आउनु भएको थियो । जब सामाजिक संजालदेखि संसदमा यस्तो अपमानित नामका विषयमा आवाज उठ्यो, त्यसपछि सरकारले नै अपमानित नाम हटाएर वास्तविक नामकै नागरिता दिने निर्णयो ग-यो ।

त्यसपछि सावित्रीे जस्ता नागरिकतामा अपमानित नाम रहेकाले जिल्ला प्रशासनमा पुगेर वास्तविक नामको नागरिकता बनाउनु भयो । ३५ वर्ष अगाडि घुम्ती टोलीले नागरिकतामा जथाभावी नाम लेखिदिँदा उहाँले अपमानित जीवन बिताइरहनु भएको थियो । सावित्राले अहिले आफ्नै नाममा नागरिकता पाएपछि खुसी हुनु भएको छ । ५६ वर्षीया सावित्राको नागरिकतामा नाम ‘कुकुर्नी कमिनी’ लेखिए पनि अहिलेसम्म कसैले पनि यसको विषयमा आवाज उठाएका थिएनन् ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले सावित्रालाई सोमबार वास्तविक नामको नागरिकताको प्रतिलिपि प्रमाण पत्र दिनुभयो । राज्यको कानुन र निर्देशन अनुसार नागरिकता संशोधन गराएर वितरण गरिएको पौडेलले बताउनुभयो । अपमानित नामका विषयमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले नाम संशोधन गर्न निर्देशनसहित सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

नागरिकता पाएपछि सावित्रासँगै रहेका उनका पति हस्तराम, छोरा भविलाल र छोरीले खुसी व्यक्त गरे । ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे, अब त सावित्रा नामले बोलाउँछन् होला,’ हस्तरामले भन्नुभयो, ‘नातागोताले पनि नाक खुम्च्याउँथे, अब कसैले अपमान सहनु नपरोस, हामी गरिब, दलित भएर होला नागरिकता बनाउने हाकिमले यस्तो अपमान गरेर नाम राख्देको, गाउँमा बुढीको नाम सुन्दा पनि धेरैले नराम्रो नजरले हेर्थे ।’

सावित्रीको परिवारनै सदरमुकामदेखि ७० किमी पश्चिमको बिसौना गाउँबाट उनीहरू नागरिकता लिन सदरमुकाम आएका थिए । आइतबार आए पनि समयमा काम नसकिएपछि सोमबार दिउँसो मात्रै सावित्राले नागरिकता हात पार्नु भएको हो । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ अर्मनमा वि.सं २०२३ सालमा जन्मेकी उनी कान सुन्दिनन् भने बोली पनि प्रस्ट छैन ।

कुकुर्नी नाम पाएपछि समाजमा सबैले उहाँलाई हेला गर्थे । पति हस्तरामले भन्नुभयो, ‘कुकुर्नीको परिवारभन्दा मैले मात्र हैन, छोराछोरीले पनि अपमान भोग्नुप-यो, यो नामले गर्दा समाजले हामी प्रति हेर्ने हेराई पनि फरक थियो, उनको (सावित्रा) नाम एउटा नागरिकतामा हाकिमले अर्को गरिए छन्, हामी लेख्न पढ्न नजान्ने मान्छेलाई झुक्याएछन्, पढ्न लेख्न जानेको भए उतिबेलै आवाज उठाउँथ्यौँ होला, अहिले सबैले भनेपछि बल्ल नागरिकतामा नाम फेरियो ।’

छोरा भविलालले कक्षा ५ पढ्दा पढ्दै विद्यालय छाडेका थिए । सबैले कुकुर्नीको छोरो भनेर जिस्क्याउँदा पढ्नै नमानेर छाडेको हस्तरामले बताउनुभयो । पढाइ छाडेपछि भविलाल वैदेशिक रोजगारीमा साउदी जानु भयो । अहिले उहाँ ३० बर्षका भइसक्नुभयो ।

अपांगता भएकै कारण सावित्राले आफ्नो नाम बारे बताउन नसक्दा घुम्ती टोलीका सदस्यले ‘कुकुर्नी कमिनी’ राखिदिएका थिए । घुम्ती टोली प्रमुख सुन्दरराज अर्यालले उक्त नागरिकतामा हस्ताक्षर गरेका छन् । नागरिकता संशोधन भएकाले अब सावित्राले मतदाता परिचयप त्र पनि संशोधन गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो ।

सावित्रीका श्रीमन हस्तराम भन्नुहुछ, ‘यो खास्सै बोल्न पनि सक्दिन, कान पनि सुन्दिन, उतिबेला नागरिकता बनाउन संगै गएका साथीहरुले पनि हेरेनछन्, पछि सच्याउन पाइन्न होला भन्ने भयो त्यही भएर अहिलेसम्म यही नामको नागरिकतालेनै काम गर्दै आएका थियौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?