पारस तेक्वान्दोमा उत्कृष्ट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बन्नुभएको छ । ग्योरोगीमा कांस्य पदक जित्नुभएका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु शिवाकोटीले जानकारी दिनुभयो ।

च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जित्नुभएको थियो । उहाँले ग्योरोगीको महिला ४२ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । यसैगरी महिला ५९ केजी तौल समूहमा सुभाङ्गी श्रेष्ठले कांस्य पदक जित्नुभयो । सिनियर ग्योरोगीतर्फ नेपालले दोस्रो स्थान हात पारेको नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिनुभयो । च्याम्पियनसिपमा ग्योरोगीतर्फ नेपालले तीन स्वर्ण, तीन रजत र सात कांस्य पदक जितेको थियो ।

यसअघि नेपालका अभिषेक बराल र आशुतोष बरालले स्वर्ण जित्नुभएको थियो । अभिषेकले पुरुष ८० केजी र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । यसैगरी पुजन खड्का, सुरज कार्की र अवास खानले रजत तथा पूजा कुँवर, अभिषेक डल्लाकोटी, श्रीचन्द्र कार्की, अफ्ताव खान र ज्वालासिंह गुरुङले कांस्य पदक जित्नुभएको थियो ।

यसैगरी पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जित्नुभएको थियो । यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जित्नुभएको थियो ।

नेपाली खेलाडीले अब भियतनाममा हुने ११औँ एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *