जिम्बाबेमाथि भारतको क्लिनस्विप

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली । भारतले जिम्बाबेविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृङ्खलामा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा १३ रनले जिम्बाबेलाई हराउँदै भारतले क्लिनस्विप गरेको हो ।

जितका लागि २९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बाबे ४९.३ ओभरमा २७६ रनमा अलआउट भयो । जिम्बाबेका सिकन्दर राजाले ९५ बलमा नौ चौका र तीन छक्कासहित ११५ रनको शतकीय इनिङ्स खेल्नुभयो ।

जिम्बाबेका लागि आठौँ विकेटका लागि ब्राड इभान्स र राजाले ७७ बलमा १०४ रनको शतकीय साझेदारी गर्नुभएको थियो । अन्तिम नौ बलमा १५ रन चाहिएको अवस्थामा राजा क्याच आउट हुनुभयो । यस्तै सन विलियम्स ४६ बलमा सात चौकासहित ४५ रन तथा इभान्सले ३६ बलमा दुई चौकासहित २८ रन जोड्नुभयो ।

भारतका आवेश खानले ९.३ ओभरमा एक मेडनसहित ६६ रन खर्चेर तीन विकेट लिनुभयो । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । भारतका शुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ९७ बलमा १५ चौका र एक छक्कासहित सर्वाधिक १३० रनको शतकीय इनिङ खेल्नुभयो ।

त्यसअघि ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्नुभयो । धवन ६८ बलमा पाँच चौकासहित ४० रनमा तथा कप्तान राहुल ४६ बलमा एक चौका र एक छक्कासहित ३० रनमा आउट हुनुभयो ।

इशान किशन ६१ बलमा ६ चौकासहित ५० रनमा आउट हुनुभयो । तेस्रो विकेटका लागि इशान किशन र गिलले १२७ बलमा १४० रनको शतकीय साझेदारी गर्नुभयो । जिम्बाबेका तीव्र गतिका बलर ब्राड इभान्सले १० ओभरमा ५४ रन खर्चेर पाँच विकेट लिनुभयो । यसअघि भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?