सार्वजनिक खरिदसम्बन्धी क्षमता विकास तालिम सुरु

Read Time = 2 mins

धनगढी । स्थानीय तह र प्रदेशका कर्मचारीका लागि चारदिने सार्वजनिक खरिदसम्बन्धी क्षमता विकाससम्बन्धी तालिम मङ्गलबारदेखि धनगढीमा सुरु भएको छ । तालिममा सुदूरपश्चिम प्रदेशका खानेपानी, यातायात व्यवस्था कार्यालयसहित कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम, बैतडी र दार्चुलाका २० पालिकाका इन्जिनियरको सहभागिता रहेको छ । तालिममा अधिकांश सहभागी नयाँ रहेको र उनीहरूले सार्वजनिक खरिदसम्बन्धी तालिमले आफूहरूको क्षमता अझ वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका इन्जिनियर हंशबहादुर थापाले आफू लामो समयदेखि काम गरिरहेको भए पनि कैयौँ नयाँ विषय सिक्न पाउने अपेक्षा गरेको बताउनुभयो ।

आयोजक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीका प्रमुख महेश्वर घिमिरेले सार्वजनिक खरिद जाने सजिलो र नजाने जटिल रहेको भन्दै सार्वजनिक खरिदको काम गर्दा गल्ती गर्ने छुट नभएको बताउनुभयो । गल्ती गरे सजायको भागिदार हुनुपर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । सहभागीलाई स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीका प्रमुख घिमिरे, तुलसीराम भट्टराई, कृष्णबहादुर धामी र कृष्णबहादुर शाहीले प्रशिक्षण दिनुहुनेछ । यसअघि गत साता सडकको सर्भे, डिजाइन र अनुगमनसम्बन्धी तालिम भएको थियो ।

चालु आर्थिक वर्षमै स्थानीय र प्रदेशका कर्मचारीका लागि झोलुङ्गे पुलसम्बन्धी क्षमता विकास तालिम आयोजना गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?