तीनपटक घटेर आए पनि नेपालमा घटेन इन्धनको मूल्य

Read Time = 5 mins

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपाल आयल निगमले भने मूल्य समायोजनका लागि चासो देखाएको छैन । मूल्य समायोजनका लागि चौतर्फी दबाबलाई उसले बेवास्ता गर्दै आएको छ । पछिल्लो समय मूल्य घटेर आए पनि निगम अर्बौंको घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसकिने उसले बताउँदै आएको छ ।

यातायात व्यवसायीले चाडबाडको समयमा पेट्रोलियमको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियमको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेकाले नेपाली बजारमा पेट्रोलियम मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिनुपर्ने बताउनुभएको छ । भारतबाट नेपालमा आयात हुने पेट्रोलियमको मूल्य निरन्तररूपमा तीनपटक घटेर आएको छ ।

आइओसीले पछिल्लोपटक लगातार तीनपटक पठाएको मूल्यअनुसार पेट्रोल ३४.९४ र डिजेल ३३.९४ रुपैयाँ प्रतिलिटर घटेको छ ।

त्यसैले चाडपर्वको समयमा नेपालमा पनि मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्ने महासङ्घको माग रहेको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहतको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद भएको भन्दै सार्वजनिक सवारीसाधन कर, बैङ्कको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बिमा, सवारीसाधनको इन्जिनको मूल्य अत्यधिक बढ्दा मारमा परेका यातायात व्यवसायी पेट्रोलियम मूल्य समायोजन नहुँदा थप मारमा परेको बताउनुभएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले लगातार तीनपटक पठाएको मूल्यअनुसार पेट्रोल ३४.९४ र डिजेल ३३.९४ रुपैयाँ प्रतिलिटर घटेको छ । तर पनि निगम घाटामै रहेको निगमको दाबी छ । निगमका अनुसार पछिल्लो मूल्यअनुसार पेट्रोलमा १२.६० करोड नाफा, मट्टितेलमा ४१ लाख नाफा, हवाई इन्धनमा ४१.७१ करोड नाफा, डिजेलमा १६.७४ करोड घाटा, ग्याँसमा ६९.२८ करोड घाटा गरी कुल ३१.२९ करोड घाटा रहेको छ । आइओसीबाट बढेको दर पाउनासाथ सोही दिन मूल्य बढाउने निगमले घटाउन अटेर गरेको हो ।

निगमका कार्यकारी निर्देशक उमेश थानीले विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको दरअनुसार नेपाली बजारमा समायोजन गर्न नपाउँदा १० अर्ब ऋण, २३ अर्ब आइओसीको बक्यौता र ५० अर्ब रुपैयाँ सञ्चिती नोक्सानी बेहोर्नुपरेको दाबी गर्नुभएको छ  । हाल निगमले पेट्रोल प्रतिलिटर ९८.६७ रुपैयाँमा किनेर एक सय ८१ रुपैयाँमा बिक्री गर्दै आएको छ भने डिजेल १२०.०५ र मट्टितेल १२३.५२ रुपैयाँमा किनेर एक सय ७२ रुपैयाँमा बिक्री गर्दै आएको छ । ११३.४७ रुपैयाँ प्रतिलिटरमा किनेको हवाई इन्धनमध्ये आन्तरिक विमानका लागि एक सय ९० रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडान गर्ने विमानका लागि १.६४५ डलर प्रतिलिटर मूल्यमा बिक्री गर्दै आएको छ ।

घटेर आएको मूल्यपछि पनि हालको बिक्री मूल्य यथावत् राखी पेट्रोलियम पदार्थको कारोबार गर्दा निगमलाई आगामी १५ दिनमा ३१ करोड २९ लाख रुपैयाँ नोक्सान हुने निगमको दाबी छ । सरकारसँग सात अर्ब र हाम्रो सम्पत्ति धितोमा राखेर थप तीन अर्ब गरी कुल १० अर्ब रुपैयाँ ऋण लिएकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने बक्यौता २३ अर्ब पुगिसकेको कार्यकारी निर्देशक थानीको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?