डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवविरुद्धको छानबिन अगाडि बढ्यो

हिमालय टाइम्स
Read Time = 5 mins

अनिल पोखरेल/हिटा
राजविराज । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध परेको उजुरीमा छानबिन प्रक्रिया अघि बढाइएको छ । उनी र उनका श्रीमान् महेन्द्रकुमार यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा केही समयअघि उजुरी दर्ता भएको हो । ‘उजुरी दर्ता भएपछि हामीले छानबिनका प्रक्रिया अघि बढायौँ’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भन्नुभयो, ‘हालसम्म बयान-सोधपुछको कार्य सकिएको छ र अरू कुरा हामी बुझ्दैछौँ ।’

सोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जानकारी माग गरेको प्रजिअ गौतमको भनाइ छ । ‘हाम्रो छानबिन जारी छ र सोबारे अख्तियारले पनि जानकारी माग गरेको छ, छानबिन सकिएसँगै हामी त्यहाँ पनि जानकारी पठाउँछौँ’ उहाँले बताउनुभोे । जिल्ला प्रशासन कार्यालयमा साउनको दोस्रो साता दर्ता भएको उजुरीमा मीरा र उनका श्रीमान् महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गरिएको थियो ।

विधानसभा निर्वाचन क्षेत्र, विहारको निर्वाचक नामावलीअनुसार श्रीमान् श्रीमती दुवै भारतीय मुलका स्थायी नागरिक रहे तापनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख गरिएको छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजितले साबिकको सप्तरीको औरही गाविस वडा नम्बर-३ (हाल डाक्नेश्वरी नगरपालिका-६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको र मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका श्रीमान् महेन्द्र र छोरा इन्द्रजितको नागरिकता प्रमाणपत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ । भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रमसंख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

उजुरीमा मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाही माग गरिएको छ । उजुरीकर्ताले नाम गोप्य दर्ता गराएको सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ ।

उता, उपमेयर मीराले आफू नेपाली नागरिक रहेको दाबी गरिन् । ‘म नेपाली हुँ, हनुमाननगर कंकालिन नगरपालिकास्थित मधुवापुर, अर्री-विराजी टोल मेरो माइती हो’ उनले भनिन्, ‘अनि सुसराली चैँ डाक्नेश्वरी नगरपालिका–६ औरही टोल हो, अनि म कसरी भारतीय भए ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?