प्राणस्वरूप ऋषिहरू

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

मैले विगतका लेखमा क्षरपुरुषको जुन प्रथम कलाका रूपमा प्राणलाई नै स्थापित गरेको थिएँ हो त्यो प्राणको प्रथम रूप भनेको ऋषि नै हो । यसमा शतपथ ब्राहृमणको छैटौं काण्डको प्रारम्भमा नै भनिएको छ-‘स योऽयं मध्ये प्राणः एषएवेन्द्रस्तानेष प्राणान्मध्यत इन्द्रियेणैन्ध, यदैन्ध, तस्मादिन्ध, इन्धो ह वैतमिन्द्र इत्याचक्षते परोक्षं परोक्षं कामा हि देवास्त इद्धा सप्तनाना पुरुषानसृजन्त । तेऽब्रुवन न वाइत्थं सन्तः शक्ष्यामः प्रजनयितुमिमान्त्सप्त पुरुषानेकं पुरुषं करवामेति, तएतान्त्सप्त पुरुषानेकं पुरुषमकरोत्’ । अर्थात् यी प्राणइन्ध (प्राणशक्ति) सातमा विभाजित भएर बसेका हुन्छन् ।

यिनमा पनि दुई दुईको जोडा बनेर चार माझमा रहेका हुन्छन् भने बाँकी दुई चाहिँ तिनकै प्वाँख या पक्षका रूपमा बाहिर निक्लेर बसेका हुन्छन् । माथिका मन्त्रमा पनि यी सातैको स्थिति बताइएको छ । यिनै पक्षीमा पक्ष (प्वाँख) पैदा हुन्छ । ‘साकज्जानां सप्तथमाहुरेकगं षडिद् यमाऋषयो देवजाइति । तेषामिष्टानिविहितानिधामशः स्थात्रे रञ्जन्तिविकृतानि रूपशः’ भनेर ऋग्वेदको पहिलो मण्डलको १६४औं सूक्तको १५औं मन्त्रमा पनि यसैसँग मिल्दो कुरो गरिएको भेटिन्छ । यसै कारणले यी दुईलाई पक्ष नै भनिन्छ । एउटा पुच्छरका रूपमा तल झुण्डन्छ बाँकी सातैको सार भाग चाहिँ श्रीरूपबाट माथि उठेर शिरका रूपमा प्रकट हुन्छन् । यो नै सबैको श्री हो र यसै कारणले यसलाई शिर भन्ने गरियो ।

यसलाई हामीले आआफ्नै शरीरलाई सूक्ष्म रूपले हेर्‍यौँ भने बुझ्न थाल्छौँ । मान्छेका शरीरमा चार भिन्नाभिन्नै विभाग हुन्छन् र तिनलाई चार प्रकारका गुहा भनेर संकेत गर्दछ शास्त्रले । सबैभन्दा माथि शिरोगुहा छ त्यसपछि उरोगुहा छ भने तेस्रो उदरगुहा भनिन्छ र चौथो हो पादगुहा । यी चारै गुहामा माथि मन्त्रमा भनिए झैँ सात-सात प्राणको उपस्थिति रहेको हुन्छ र तिनको श्रीका रूपमा एउटा माथि निक्लेको हुन्छ । शिरोगुहामा दुई नेत्र, दुई नासिका छिद्र आत्मास्थानी भएर रहेका हुन्छन् । दुई कान पक्षका रूपमा बाहिर आएका हुन्छन् अनि एक मुख पुच्छस्थानी भएर तल झरेको हुन्छ । यी सातैका श्रीको सारभाग चाहिँ ब्रहृमरन्ध्र हो ।

यसको सूर्यप्राणसँग निरन्तर आवागमनको सम्बन्ध रहेको हुन्छ । यसै कारणले ध्वजारूपको शिखाआर्यले शिरमा राख्ने गरेका हुन् । यो नै ती सातैको सार हो र यसैले सबैलाई बल प्रदान गर्दछ भन्ने वैदिक अभिमत रहेको देखिन्छ । आचार्य चाणक्यले नन्दराजको उच्छेद नगरी शिखा नबाँध्ने प्रतिज्ञा गरेका थिए । शिखा ऋषिहरूको सूचना प्रदान गर्ने विशेष यन्त्रजस्तो पनि देखिन्छ । संसार चारी, संसारका सारा कुरा चाल पाउने नारदको टुप्पी सधैँ ठाडो देखाइएको भेटिनाको रहस्य पनि यही नै हो । ऋषि मुद्गलको पनि शिखामा विशेष शक्ति रहेको कुरो मुद्गल पुराणमा बताइएको छ ।

मान्छेका शरीरमा चार भिन्नाभिन्नै विभाग हुन्छन् र तिनलाई चार प्रकारका गुहा भनेर संकेत गर्दछ शास्त्रले । सबैभन्दा माथि शिरोगुहा छ त्यसपछि उरोगुहा छ भने तेस्रो उदरगुहा भनिन्छ र चौथो हो पादगुहा ।

यी शरीरका अवयवका सम्बन्धमा मैले बताएँ ती तिनै आठवटा प्राणका आयतन अर्थात् स्थान हुन् । यिनमा बसेर काम गर्ने शक्तिहरू प्राणका भिन्न-भिन्न विभेद हुन् । यसैगरी अन्य गुहाका सम्बन्धमा पनि अब म संक्षेपमा व्याख्या गर्छु । यसका निमित्त तिनमा रहने प्राणशक्तिलाई राम्ररी बुझ्नु आवश्यक छ । दोस्रो उरोगुहामा दुईवटा फोक्सा रहेका हुन्छन् र दुईवटा स्तन (दुद) यी चारवटा आत्मस्थानी मानिन्छन् । पक्षरूप (पँखेटा) का रूपमा दुई हात बाहिर निक्लेका हुन्छन् र पुच्छ (पुच्छर) रूपको हृदय झुण्डिएर बसेको हुन्छ । यी सातैको श्री कण्ठकूप (कण्ठनली या कण्ठखाडल) लाई मानिन्छ ।

यसमा पनि एउटा प्राण प्रतिष्ठित भएर बसेकै हुन्छ र यो नै मुख्य पनि हो । यसमा आघात पर्दा मान्छेलगायत सारा प्राणीको तत्कालै मृत्यु हुन्छ । वेदले पुच्छलाई प्रतिष्ठाको एउटा रूप मानेको हुनाले यहाँ जति पनि मैले पुच्छ या पुच्छर भनेको छु त्यो हाम्रो व्यवहारको पुच्छर होइन । उपयुक्त शब्दका अभावमा काम चलाउन तत्सम या तद्भवलाई नै लिइएको हो । यसैका आधारमा प्राणको स्थिति बनेको हुन्छ । यसलाई अवलम्ब नबनाईकन दुनियाँका कुनै पनि प्राणी बस्न सक्दैनन् । बस्नका निमित्त पीठ आधारको काम पुच्छ (पृष्ठ) ले प्रदान गर्दछ । तेस्रो उदर गुहामा दुईवटा क्लोम (वयावसावहननं नाभिः क्लोमयकृत्प्लिहा), दुईवटा यकृत (कलेजो÷लिवर) र प्लीहा (फियो÷फोक्सो) हुन्छन् र यी आत्मस्थानीय मानिन्छन् ।

यिनमा दुई कोखापक्षका रूपमा बाहिर निक्लेका हुन्छन् र सातौं नाइटो पुच्छ रूपबाट तल झुण्डेर रहेको हुन्छ । यी सातैको श्री चाहिँ हृदय नै हो जब कि पहिलेका गुहाको पुच्छसँग यो मिलेर या सम्बद्ध बनेर रहेको हुन्छ । चौथो पादगुहामा मूत्रेन्द्रिय र दुई अण्डकोष हुन्छन् र यी चार वटै आत्मस्थानीय मानिन्छन् । पक्षका रूपमा दुईवटा गोडाबाहिर निक्लेका छन् । पुच्छ रूपको सातौं प्रतिष्ठा रूप मलद्वार या मलोत्सर्जनेन्द्रिय रहेको हुन्छ । यी सबै सातैवटाको श्रीका रूपमा मस्तकस्थानीय त्यही नाभि रहेको हुन्छ जो यसपूर्वका गुहाका पुच्छका साथमा सम्मिलित भएको हुन्छ । वस्तुतः यो पुरुष शरीरका रूपको कुरो एउटा दृष्टान्त हो ।

यसै प्रकारले समस्त पदार्थमा ऋषि या प्राणको स्थिति हुन्छ भन्ने बुझ्नु पर्दछ । यसका सम्बन्धमा जसले राम्ररी बुझ्दछ त्यो व्यक्ति ती सारा पदार्थमा रहेका आध्यात्मिक पक्षलाई पर्गेलेर बुझ्न सक्छन् । यसै क्रमबाट देवता रूपमा परिणत हुन्छन् । आत्मस्थानीय प्राणलाई इन्द्र भनिन्छ । यसै प्राणले इन्द्र देवतालाई आविर्भाव गराउँछ । पुच्छस्थानीय प्राणलाई वाक् या अग्नि भनिन्छ र यो नै अग्निको आविर्भावक हो ।
यो त भयो प्राणरूप ऋषिहरूको विवरण । तारामण्डलमा ध्रुवका चारैतिर घुम्ने जुन सप्तर्षि नामका ठूलाठूला सातवटा तारा देखिन्छन् तिनको पनि स्थिति माथि मैले व्याख्या गरेजस्तै मानिएको छ । त्यहाँचार एउटा चतुष्कोण बनाएर आत्मरूपबाट अवस्थित हुन्छन् । दुईवटा पक्षरूपबाट अलग्ग बाहिर निक्लेका देखिन्छन् र एउटा पुच्छ रूपमा तुर्लुंग झुण्डिएको हुन्छ । पहिले भनिएकाऋषि प्राणको यी ताराहरूमा बहुलता छ । यसै कारणले यिनलाई सप्तर्षि भन्ने नाम दिएको हो । यिनीहरू पूर्वतिरबाट क्रमशः तलका क्रममा रहेका हुन्छन् । मरीचि, वशिष्ठ, अंगिरा, (यिनीहरू तीनवटाको एउटा त्रिकोण ) हुन्छ । अत्रि, पुलस्त्य, पुलह, क्रतु (यिनको चतुष्कोण रहेको) हुन्छ ।

यिनीहरू सप्तर्षिका नामबाट शास्त्र प्रसिद्ध छन् । यिनै नामका मनुष्य विशेष पनि सप्तर्षि कहलिएका देखिन्छन् जो यी तत्वका आविष्कारक मानिन्छन् । यसका अतिरिक्त आकाश मण्डलका विचमा विषुवत् वृत्तका नजिकमा मत्स्य, वशिष्ठ र अगस्त्य नामक तारा पनि ऋषि नै मानिन्छन् । यिनै अगस्त्य ऋषि दक्षिण दिशामा रहन्छन् भन्ने मानिन्छ भने उत्तरमा वशिष्ठ र माझमा मत्स्य रहेका हुन्छन् । पुराणहरूमा यिनै अगस्त्यलाई समुद्रपानकर्ता भनेर मानिएको देखिन्छ । यसको आशय के हो भने वर्षा ऋतुको अन्त नजिकिएपछि यो अगस्त्य तारो देखिन्छ र यो उदाउनासाथै अन्तरिक्षमा सूक्ष्म किसिमले भरिएर रहेको जललाई यसले शोष्छ र चाँडै नै वर्षा अन्त्य हुन्छ । वेदका शब्दमा अन्तरिक्षको नाम पनि समुद्र नै हो ।

आर्य वैदिक सनातनधर्मी द्विजातिका गोत्र र प्रवर ऋषिका नामबाट प्रचलित रहेको हामी सबैले बुझेकै कुरो हो । त्यो गोत्रका विशेष प्रभावशाली व्यक्ति जति भएका छन् तदनुसार कोही द्विप्रवर, कोही त्रिप्रवर, कोही चतुष्प्रवर र कोही पञ्चप्रवरी हुन्छन् ।

त्यही समुद्रको शोषण गर्ने भएको हुनाले पुराणले आख्यानीकरण गरेर अगस्त्यलाई समुद्र शोषणकर्ता भनेको रहस्य खोलिन्छ । यसरी पुराण र वेदका संकेतमा एक प्रकारको तारतम्य रहेको देखिन्छ । किन्तु समाजमा मनुष्याकारका मान्छेले पार्थीव समुद्र पान गरे भन्नु चाहिँ भ्रान्त धारणा हो । यी तारा मण्डलका अतिरिक्त मानव समाजमा ऋषि पनि तीन प्रकारका मानिएका देखिन्छन् (क) सृष्टि प्रवर्तक (ख) गोत्र प्रवर्तक र (ग) मन्त्रप्रवर्तक एवं मन्त्रप्रवक्ता पनि । यसै कारणले आर्य वैदिक सनातनधर्मी द्विजातिका गोत्र र प्रवर ऋषिका नामबाट प्रचलित रहेको हामी सबैले बुझेकै कुरो हो । त्यो गोत्रका विशेष प्रभावशाली व्यक्ति जति भएका छन् तदनुसार कोही द्विप्रवर, कोही त्रिप्रवर, कोही चतुष्प्रवर र कोही पञ्चप्रवरी हुन्छन् ।

‘वर’ को अर्थ श्रेष्ठ, प्रभावशाली जसका नामले त्यो गोत्र समुदायको प्रशस्ती सुविख्यात भएको छ तिनलाई प्रवरका रूपमा लिइन्छ र जसबाट सृष्टि आरम्भ भयो भनिन्छ तिनलाई गोष्ठपति गोत्रपुरुषका रूपमा लिइन्छ । नेपाली समाजमा चलेको थर चाहिँ वैदिक पद्धतिभन्दा अलि भिन्न तर थातथलासँग सम्बद्ध बनाएर चलाएको देखिन्छ । मूलतः नेपाली थरहरू कुनै घटना, कुनै स्थान, तत्कालीन त्यस क्षेत्रमा पाएको राज्याधिकार जस्ता कुरासँग सम्बद्ध रहेका देखिन्छन् । यसरी हेर्दा थरले नेपालभित्र पसेपछिको अवस्था देखाउँछन् भने गोत्रले प्राक् वैदिककालदेखि चल्दै आएर वैदिक कालका ऋषिहरूले चलाएको व्यवस्थालाई प्रदर्शन गर्दछ र सबैलाई समेट्छ पनि ।

जति समेटिएका देखिँदैनन् तिनलाई कश्यप ऋषिबाट चलेको सृष्टि मानेर काश्यपगोत्र मान्ने चलन पछिल्ला ऋषिहरूले चलाएका छन् । जसरी विद्या हराए काशी या काश्मीर जानु, काशकी जानु, न्याय हराए गोरखा जानु जस्ता भनाइ चले समाजमा त्यसैगरी नेपाली या भारतेली थरले चाहिँ पछिल्लो व्यवस्थामात्रै जनाएको देखिन्छ । त्रिपाठी, शुक्ल, चतुर्वेदी जस्ता थर चाहिँ उनीहरूले पढेको विद्याका प्रकारसँग सम्बद्ध देखिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?