बालेन अघि अघि, डोजर पछि पछि

Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिनुभएको छ । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।

नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयर बालेन नेतृत्वको महानगर टोलीले पसल हटाएर अनधिकृत संरचना भत्काएको हो । यसरी भत्काउनुअघि महानगरले नक्सा पास भए नभएको एकीन गर्दै नभएको खण्डमा ३५ दिन समय दिएको छ ।

नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन मेयर बालेन आफैं उपस्थित हुनु भएको छ । संरचना भत्काउन जाँदा हेर्दाको दृश्यले बालेन अघि अघि र डोजर पछि पछि देखिन्छ ।

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार महानगरले सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।

बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । साथै न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ । नविल बैंक न्युरोड शाखाले बनाइएको अनधिकृत संरचना पनि महानगरले भत्काउने भएको छ ।

यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।

बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुग्नुभयो । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुग्नुभएको हो। मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी छ ।

नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?