सुनकोसी तेस्रोमा लगानी गर्न बङ्गलादेश तयार

Read Time = 8 mins

काठमाडौं । काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको छ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न बङ्गलादेश तयार देखिएको छ ।

बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ । अवलोकनपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रोलगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बङ्गलादेश इच्छुक र तयार रहेको बताउनुभयो । आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

सचिव रहमानले भन्नुभयो, ‘दुई देशको लगानीमा पाइलट परियोजनाका रूपमा सुनकोसी अघि बढाउन बङ्गलादेश तयार छ, आयोजनामा लगानीका लागि बङ्गलादेश इमानदार र गम्भीर छ, सुनकोसी तेस्रोमात्र होइन, दोलखा र रामेछाप जिल्लामा पहिचान भएको १७ सय २० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त अर्को आयोजनामा समेत लगानी गर्न इच्छुक छौँ, यसका अतिरिक्त बङ्गलादेशका निजी क्षेत्रले समेत नेपालका निजी क्षेत्रसँग सहकार्य गरी आयोजनामा लगानी गर्न सक्छन् ।’

ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा सुनकोसी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने उहाँले बताउनुभयो । संयुक्त कार्यदलको बुधबार र निर्देशक समितिको बैठक बिहीबार काठमाडौंमा हुनेछ ।

सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रोलगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बङ्गलादेश इच्छुक र तयार रहेको बताउनुभएको छ ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि पाँचवटा जलविद्युत् आयोजनाको प्रस्ताव बङ्गलादेशसमक्ष गरेको थियो । बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रो अघि बढाउन आयोजनाको संयुक्तरूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।

कार्यक्रममा रामेछापका सङ्घीय सांसद श्याम श्रेष्ठ, सुनापति गाउँपालिका अध्यक्ष ठूलाकान्छा तामाङ, स्थानीय राजनीतिक दलका नेतालगायतले प्रभावित क्षेत्रको मुहार फेरिने गरी दुई मुलुकका साझा आयोजनाका रूपमा निर्माण गरिनुपर्ने, निर्माण समय नबढ्ने गरी काम हुनुपर्ने जानकारी दिँदै स्थानीयरूपमा आवश्यक सहयोग तथा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको बैठकले बङ्गलादेशसँगको विद्युत् व्यापार र सुनकोसी तेस्रो आयोजनामा लगानीको विषयलाई टुङ्गो लगाउने बताउनुभयो । सुनकोसी आयोजना नेपाल र बङ्गलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

विद्युत् विकास विभागका महानिर्देशक सन्दिप देव र उपमहानिर्देशक सञ्जय ढुङ्गेलले आयोजनाको हालसम्मको अध्ययन, विशेषता, प्रभावित क्षेत्रलगायतका विषयमा जानकारी गराउनुभएको थियो । विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अध्यावधिक गरिएको थियो ।

प्राधिकरणका अनुसार बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा पर्ने लुभुघाटमा एक सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ ।

इआइए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वडा प्रभावित हुनेछन् । आयोजनाबाट तीन हजार दुई सय ३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । जसका लागि तीन हजार तीन सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ भने छ सय ५५ हेन्टर वन क्षेत्रको जग्गा पर्नेछ । आयोजनाबाट ११ हजार सात सय जनसङ्ख्या विस्थापित हुने देखिएको छ । वार्षिक दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युत्मध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?