सामसुङद्वारा नेपालमै टिभी कारखाना स्थापना

Read Time = 4 mins

काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधिअनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न भएको छ । सो अवसरमा सामसुङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भन्नुभयो, ‘हाम्रो लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडी टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसुङका उत्पादनप्रति उपभोक्ताले देखाउनुभएको बढ्दो विश्वास एवं मायाको प्रतीक हो । हामी नेपाल सरकार र स्थानीय निकायलाई उहाँहरूले दिनुभएको साथ सहयोगका लागि आभार व्यक्त गर्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालका लागि एउटा कोसेढुङ्गा साबित हुने भन्दै कारखाना स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने बताउनुभयो ।

कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्याय सुुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कार तथा रोजगारीसाथ देशमा इलेक्ट्रोनिक्स क्षेत्र रूपान्तरण गर्ने सम्भावना व्यापक बनाएको उहाँको भनाइ छ । कारखानाले सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसुङले प्रवेश पाएको हो र आज देशमा सामसुङ ब्रान्ड घरेलु नाम बनिसकेको छ । हाल कम्पनीले आफ्नो साझेदारमार्फत् नेपालमा इलेक्ट्रोनिक्स उत्पादन टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव र स्मार्टफोन बिक्री गर्दै आएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसुङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एचके पार्कको उपस्थिति रहेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा, सामसुङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरियाका राजदूत पार्क चोग सुक, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?