अरूले के गर्छन् भन्ने गौण कुरा हो, कम्युनिष्ट एकताको नेतृत्व एमालेले लिनुपर्छ : घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्राय: पार्टी बैठकमा फरकमत राख्दै आउनु भएको एमाले नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकताको नेतृत्व एमालेले नै लिनुपर्ने बताउनु भएको छ ।

पार्टीको पोलिट्ब्युरो बैठकमा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्व पुनर्स्थापनका लागि प्रस्ताव पेस गर्दै स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट एकताको नेतृत्व लिन नसक्ने भएकाले त्यसका लागि एमालेले नै पहलकदमी लिनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर भुसालले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गर्नुभएको थियो ।

'अरूले के गर्छन् भन्ने कुरा गौण हो, हामी नै कम्युनिष्ट आन्दोलनका मुख्य शक्ति हौँ । त्यसैले एकताको पहलकदमी हामीले नै लिनुपर्छ,'उहाँले भन्नुभएको छ, 'माओवादी र एकीकृत समाजवादीले कम्युनिष्ट एकताजस्तो महत्तम कार्यभारको जिम्मेवारी लिन सम्भव नै छैन । हामीले नै पहलकदमी लिनुपर्छ र त्यसमा नेतृत्व स्थापित गर्नुपर्छ ।'

भुसालले एउटा राजनीतिक पार्टी चलखेलका आधारमा अगाडि बढ्न नसक्ने बताउनु भएको छ । कम्युनिष्ट पार्टीबीच एकताका साथ अगाडि बढ्दा मुलुकको वामपन्थी जनमत फेरि एकताबद्ध हुने भुसालको विश्वास छ। कांग्रेसबाट मुलुकको संकट समाधान नहुने पुष्टि भइसकेको पनि भुसालले उक्त प्रस्तावमा भन्नुभएको छ ।

'कांग्रेसबाट मुलुकको संकट समाधान हुँदैन भन्ने कुरा कैयौं पटक पुष्टि भइसकेको छ । मुलुकमाथि संकट आउँदा एमाले नै अगाडि आउनुपर्छ भन्ने पनि पुष्टि भइसकेको छ । त्यस्तो अवस्थामा हाम्रा कुन गल्ती–कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताका बीचमा जाँदा जनताले अझ ठूलो समर्थन दिनेछन् ,'उहाँले लेख्नुभएको छ ।
पार्टीको अझै ऐतिहासिक अवसर बाँकी नै रहेको बताउँदै भुसालले इतिहासमा गरेका कमजोरीबाट उम्मिने प्रयास गरियो भने आन्दोलन र पार्टीप्रति घोर बेइमानी हुने उहाँले बताउनु भएको छ ।

बिहीबारको पोलिटब्युरो बैठकमा पनि भुसालले आफ्नो मत लैजाने तयारीमा हुुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?