काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अर्को महिना दशरथ रङ्गशालामा बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा सामेल हुनुभएको छ । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उहाँलाई अनुशासनको कारबाही गर्दै टोलीमा राख्नुभएको थिएन ।
एन्फाले बङ्गलादेशविरुद्धको खेलका लागि कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेसँगै किरणलाई राष्ट्रिय टोलीमा राखिएको थियो । माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहनुभएका किरण स्वदेश फर्कंदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनुभएको हो ।
नेपाली टोलीले लगनखेलस्थित आर्मीको मैदानमा औपचारिकरूपमा बुधबारबाट अभ्यास सुरु गरिसकेको छ । प्रशिक्षक हुमागाईंले बङ्गलादेशविरुद्धको खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा रोहित चन्द, मनीष डाँगी र देवेन्द्र तामाङबाहेक सबै प्रशिक्षणमा सामेल भइसक्नुभएको छ । व्यावसायिक फुटबलका लागि रोहित इन्डोनेसिया र मनीष बहराइनमा हुनुहुन्छ ।
यसअघि जेठमा भएको एसियन कप छनोटमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उहाँलगायत १० जना खेलाडीमाथि अनुशासनको कारबाही गर्नुभएको थियो । उक्त समय माल्दिभ्समै रहनुभएका किरणले त्यहाँस्थित माजिया स्पोर्टस् एन्ड रिक्रिएसन सेन्टरबाट खेल्दै माल्दिभ्सको दिवेही प्रिमियर लिग जित्नुभएको थियो । किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको थियो । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको थियो । यस्तै किरण यसै साता भारतीय (आई) लिगमा पनि आबद्ध हुनुभएको छ । किरण पञ्जाब एफसीमा आबद्ध हुनुभएको हो ।
नेपाली टोली र बङ्गलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ । राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाइएका ४० खेलाडीहरूमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ र राजन गुरुङ हुनुहुन्छ ।
यस्तै मिडफिल्डरमा सन्जोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनीष डाँगी, सुरजज्यु ठकुरी, सुभास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट तथा फरवार्डमा विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाईं, अभिषेक रिजाल र भरत खवास हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका