नवौँ राष्ट्रिय खेलको लागि ६० करोड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं/रासस । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो ।

उहाँले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिनुभयो । पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड लिने उहाँले बताउनुभयो । सरकारले पहिलो चरणको लागि १० करोड रकम भने विनियोजन गरिसकेको छ ।

उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुंगोे लाग्ने राखेप सदस्य सचिव घिसिङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?