सरकारले बजेट नदिएको रेल्वे प्रमुखको गुनासो

Read Time = 4 mins

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि मन्त्रालयले रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिन मन्त्रालयले बेवास्ता गरेको बताउनुभयो ।

उहाँले मन्त्रालयले पूर्वमहाप्रबन्धकलाई पैसा दिने गरेको भए पनि आफू आएपछि पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोपसमेत लगाउनुभयो । महाप्रबन्धक झाले हाल रेल्वेमा यात्रुको चाप अत्यधिक रहेको तर अर्को रेल खरिद गर्न कम्पनीसँग पैसा नभएको बताउनुभयो । उहाँले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्न सके रेल्वे कम्पनी नाफामा लैजान सकिने दाबीसमेत गर्नुभयो । महाप्रबन्धक झाले भन्नुभयो,‘ रेल्वे सञ्चालनका लागि अन्य समस्याभन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसिएल कम्पनीसँग सम्झौता गर्दा लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रबन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौँ । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरू के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाइरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मभन्दा पहिलाका प्रबन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्योभन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौँ । सम्झौता र मन्त्रिपरिषद्ले गरेको पैसा माग गरेका हौँ ।’

महाप्रबन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताउनुभयो । भारतबाट सिधै रेलमार्फत् जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा, काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको उहाँको भनाइ छ । झाले भन्नुभयो, ‘जनकपुर जयनगर रेल सञ्चालनसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको छ ।

अहिले सिधै भारतबाट रेलमा जनकपुर आउने जनकपुरबाट सातामा तीन दिन पोखरा हवाई उडान भएको छ । त्यहाँबाट पोखरा जाने, काठमाडौं आउने वातावरण बनेको छ । सडकमा ट्राफिक जामको समस्या समाधान भएको छ । साढे छ सय यात्रु भनेको कम्तीमा १० वटा सवारी आवश्यक पर्छ । रेलले बहुआयामिक क्षेत्रमा प्रभाव पारेको छ । यो कुरा बुझ्न र बुझाउन सक्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?