आजदेखि बस्ने एमाले केन्द्रीय समिति बैठकका लागि ११ एजेण्डा तय, लोकप्रिय र जित्ने सुनिश्चितता भएकालाई प्रतिनिधिसभामा उम्मेदवार बनाइने

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि विभिन्न मापदण्ड बनाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार सम्पन्न भएको पोलिटब्युरो बैठकमा मापदण्डबारे छलफल भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमालेले तय गरेको मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धतालाई पहिलो आधार मानिएको छ । यस्तै, आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठालाई दोस्रो तथा लोकप्रियता र विजयको सुनिश्चिततालाई तेस्रो तथा महत्वपूर्ण आधार बनाइएको छ । संविधानअनुसार सन्तुलन र समावेशीको सिद्धान्तलाई चौथो आधार मानिने गुरुङले बताउनुभयो । प्रस्तावित मापदण्डलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ । प्रत्यक्ष चुनाव लड्न डराउने र पटक-पटक समानुपातिकबाट सिट सुरक्षित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समानुपातिक सांसद दोहोरिन नपाउने विषयलाई एउटा आधार बनाउन पोलिटब्युरो सदस्यहरूले माग गरेका छन् ।

बैठकले ११ वटा एजेण्डा केन्द्रीय कमिटी बैठकका लागि पारित गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अहिलेको परिस्थिति, सत्ता गठबन्धनका क्रियाकलाप, निर्णयहरू र स्वाधिनतामा परेको असर, मूल्यवृद्धिलगायत विषयमा छलफल गरेको गुरुङले बताउनुभयो । दोस्रो एजेण्डा आगामी चुनावको तयारी तथा विगतको स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको उहाँले बताउनुभयो । ‘धेरै ठाउँमा सत्ताको ठूलो धाँधलीले हार्न परेको र केही स्थानमा पार्टीभित्रको अन्तरसंघर्षले हार्नुपरेको निष्कर्ष निकालेको छ,’ उहाँले भन्नुभयो, ‘फेरि पनि नेकपा एमालेले लोकप्रिय मत पाएको र पहिलो पार्टी भएको देखिएकाले आगामी प्रतिनिधिसभा निर्वाचनमा यसलाई कायम राखेर जित निकाल्नुपर्ने छ ।’

त्यस्तै, शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लिखित रूपमा पेश गर्ने निर्णय भएको गुरुङले बताउनुभयो । त्यसमा छलफल गर्दै आगामी रणनीति तयार हुने उहाँले बताउनुभयो । चार जनालाई केन्द्रीय सदस्यहरूको शपथ गराउने र सचिवालयको निर्णय अनुमोदन गराउने एजेण्डा रहेको उहाँले बताउनुभयो ।

सचिवालय र पोलिटब्युरोले बनाएको उम्मेदवारको छनोटको मापदण्ड अब केन्द्रीय समिति बैठकले पारित गराउने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको उजुरीमा छानबिनका लागि विष्णु पौडेलको प्रतिवेदन आजको केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । पार्टी सदस्य संख्या आठ लाख ५५ हजार भए पनि केहीको नम्बरमा दोहोरोपन आएकाले संगठित सदस्यहरूको नम्बर मिलाइने गुरुङले बताउनुभयो । यस्तै, अनुशासन आयोगसहित तीन आयोग र सल्लाहकारहरूको रिर्पोट पनि आजको बैठकमा पेश गरेर अनुमोदन गर्ने निर्णय गरिएको छ । एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने बिहीबार पोलिटब्युरो बैठक बोलाएको थियो । उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । ओलीको प्रतिवेदनमाथि खिमलाल देवकोटा, शान्ता चौधरी, खगराज अधिकारी, कृष्णकुमार राई लगायतले आफ्नोे धारणा राख्नुभएको थियो ।

वाममोर्चा भए प्रत्यक्षमा १५० सिट जितिन्छ : भुसाल
नेकपा एमालेका पोलिटब्युरो सदस्य घनश्याम भुसालले वाम एकताको प्रस्ताव गर्नुभएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गर्नुभएको हो ।
भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गर्नुभएको छ । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताउनुभएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकिर गर्नुभयो । वाम एकता गरेर श्वेतपत्र जारी गरेमा जनताले दुईतिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उहाँले दाबी गर्नुभयो ।

‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तीमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ भुसालले प्रस्तावमा उल्लेख गर्नुभएको छ, ‘फेरि पनि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसद्मा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लंगै छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?