आगामी भदौ ११ गतेको शनिबार कुश उखल्ने, बाबाको सम्मान पर्व र मोतीराम भट्टको जन्मजयन्ती पर्न गएको छ । यही पावन तिथिलाई पिता वा बाबाको मुख हेर्ने दिन भनेर छोराछोरीहरूले उत्सवको रूपमा मनाउँदछन् । हाम्रो वैदिक सनातन संस्कृतिमा हुने सबै तिथि, बार, नक्षत्रहरू पर्वकै बिम्ब हुन् । सामान्यतया ‘पर्व’ धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने उत्सव वा चाड हो । ‘उत्’ भनेको भगवान, ‘सव’ भनेको प्रकट हुनु भन्ने अर्थ पनि गर्छन् कतिपय । कुनै पनि समाजको सभ्यता, संस्कार, आचार र विचारको मूल स्रोत गर्विला पर्व नै हुन् ।
यस दिन सबै भक्तजन ब्राहृममुहूर्त अर्थात् सूर्योदय हुनुभन्दा दुई घण्टाअघि नै उठेर नदी, तलाउ, इनार, कुवा वा धारामा गएर नुहाउने गर्छन् । यो दिन उत्तर गयाको रूपमा मानिने काठमाडौंको गोकर्णेश्वर महादेव, बेत्रावती र अन्य तीर्थस्थलहरूमा स्नान, दान र पितृतर्पणदि कर्मको विशेष महत्व छ । कुश एक प्रकारको काँसजस्तै धारिलो वनस्पति वा घाँस हो । यो वनस्पति हाम्रो सनातन संस्कृतिमा जन्मदेखि मृत्युसंस्कारसम्म प्रयोग र उपयोगमा आउँछ । धार्मिक, आध्यात्मिक, वैज्ञानिक महत्व बोकेको यो घाँस देवदेवीका पूजाआजा गर्दा, बुबाआमाको श्राद्धमा, न्वारन, पास्नी, सूतक पर्दा र जूठो वा मृताशौचमा परिशुद्धिको अचूक बुटी बनेर रहेको छ । मन्त्रद्रष्टा हाम्रा ऋषिमुनिद्वारा सम्पादित उपनिषद्हरूमा ‘प्राणो वै वनस्पति’ अर्थात् वनस्पति भनेका प्राण हुन्, भनेर सूत्रात्मक रूपमा मानव जीवनसित यसको अनन्य सम्बन्ध भएको कुरा देखाएका छन् । ध्यान गर्दादेखि अवसानतक कुशकै बिछ्यौना आवश्यक हुन्छ ।
स्वर्गका राजा इन्द्रको बज्र, विष्णु भगवान्को सुदर्शन चक्र र शिवको त्रिशूलजस्तै शक्तिशाली छ कुश । त्यसै भएर त देव एवं पितृपूजनमा कुश बज्र, चक्र र त्रिशूलको प्रतीक बनाएर औंलालगायतमा धारण गर्ने चलन छ ।
यदि कसैको पञ्चकमा (धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र) मृत्यु हुँदा दोष हटाउन कुशबाटै पाँचवटा पुत्ला बनाई घाटमा जलाउने चलन छ । दैवीय वा प्राकृतिक घटनाबाट मरेकाको लास पत्ता लाउन नसकिएमा लासहरूको प्रतिमा वा पुत्ला यही कुशबाट बनाई सतगत गर्ने प्रचलन पनि छ ।
कुशको चामत्करिक शक्ति कति छ यो श्लोकले छर्लंग पार्छ :
‘यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथा विप्रपवित्रकम्’ ।।
अर्थात् स्वर्गका राजा इन्द्रको बज्र, विष्णु भगवान्को सुदर्शन चक्र र शिवको त्रिशूलजस्तै शक्तिशाली छ कुश । त्यसै भएर त देव एवं पितृपूजनमा कुश बज्र, चक्र र त्रिशूलको प्रतीक बनाएर औंलालगायतमा धारण गर्ने चलन छ । कुशको आशनमा बस्दा, औँठी लगाउँदा, तालु तथा कम्मरमा सिउरिँदा हामीमा सबै खाले शारीरिक र मानसिक संवेग र आवेगहरू नियन्त्रित हुन्छन् । रक्तसञ्चारको ऊध्र्वगामी र अधोगामी रफ्तारमा सन्तुलन कायम गर्छ अर्थात् ल्बडप्रेसर हाई वा लो हुँदैन । मुटुको चाललाई तन्दुरुस्त राख्छ, कुशासनमा बस्दा हृदयको, मस्तिष्कको तथा नशाको घात हुनै सक्दैन ।
पक्षाघात, हृदयाघात, मष्तिस्काघात जस्ता डरलाग्दा समस्या रोक्ने सामथ्र्य कुशमै छ रहेको कुरा हाम्रा ऋषि अर्थात् रिसर्चम्यानले शोध गरेर बताएका हुन् । हाम्रो घरगाउँमा अझै पनि जरो आउँदा श्रीमद्भागवत्को ‘ज्वरस्तुति’ पाठ शुद्ध तथा लयबद्ध तरिकाले गर्नुपर्छ । अनि भिजाएको लामो कुशले शिरदेखि पैतलासम्म डुलाएर जरोलाई खिचेर बाहिर फालिन्छ, जुनअनुभव हामीले पनि गरेका हौँ ।
कुशेऔँसीका दिन पात्रोले तोकेको शुभ मुहूर्तमा कुश उखेल्दा उच्छेदनकर्ता पूर्व वा उत्तर मुख फर्काएर जरैसमेत आउने गरी झिक्नुपर्छ । कतिपय उच्छेदन कर्ता उखेल्न झन्झट लागेर कुश काट्ने पनि गर्दछन् तर त्यो सर्वथा त्याज्य छ । उखल्नुभन्दा पहिले कुशलाई षोडषोपचारसाथ पूजाआजामार्फत यसरी प्रार्थना गर्नुपर्छ-
‘विरञ्चिना सहोत्पन्न, परमेष्ठि निसर्गतः ।
नुदः सर्वाणि पापानि दर्भः स्वस्तिकरो भव ।।’
अर्थात् हे कुश ! ब्रहृमासितै तिमी धरतीमा आएका हौ, तिमीसित थुप्रै पाप (विविध रोगका भाइरस, मानसिक अशान्ति) निर्मूल गर्ने अदम्य शक्ति छ । कल्याणमा सक्षम भएका तिमीलाई मेरो नमस्कार छ । मलाई उखेल्न अनुमति देऊ । यही अनुरोधसँगै अनि ‘ॐ हुम् फट्’ ॐ भनेर कुश समात्ने, हुम् भन्दा पूरा बल गर्ने र फट् उच्चारण गर्नासाथ फेदमा समातेर कुशको जरैसमेत आउने गरी उप्काउने काम गर्नुपर्छ । यसरी निकाल्दा त्यस्ता कुश पूर्णआयुका हुन्छन् । कुशेऔँसीको दिन सोमबार परेमा त्यस बेला उखलेको कुशको आयु बाह्र वर्षसम्म काम दिने हुन्छ भन्ने मान्यता छ । मन्त्रमा अचम्मको बल हुन्छ भन्ने कुरा यसले पनि प्रमाणित गर्दछ । कुशलाई कुथ, दर्भ, कुथ र पवित्र आदि नामले चिनिन्छ ।
कुश वा कुथ तत्कालै शक्ति दिने चामत्कारिक वनस्पति हो । हाम्रा मन्त्रद्रष्टा ऋषिमुनिहरूले कुशप्रति किन अनुरक्त भए भनेर भारतका प्रसिद्ध वैज्ञानिक (नोबलिष्ट) जगदीशचन्द्र वसुले शोधकार्य गरेका छन् । जसअनुसार कुश हातमा, कटीमा वा टुप्पीमा धारण गर्नु र कुश आसनमा बस्नु पृथ्वीको विद्युत् प्रवाहलाई मानव शरीरमा पस्नुबाट रोक्नु रहेछ । हाम्रो मस्तिष्कमा विद्यमान आध्यात्मिक सञ्चित शक्तिलाई त्यस विद्युत्ले गोडालगायत विभिन्न स्थानबाट प्रवेश गरेर खिच्ने भएकाले त्यो ऊर्जा बचाउँन कुश ओछ्याउने, लाउने र कुशले शुद्ध पारिएको जल आचमन गरिएको रहेछ ।
अन्तरिक्षमा व्याप्त विद्युत् प्रवाह जसलाई आजको वैज्ञानिक भाषामा ‘इथर’ भनिन्छ । अझ यसलाई सरल भाषामा भन्नुपर्दा —सम्पूर्ण आकाशमा व्याप्त भएको र त्यसैबाट प्रकाशका किरण पृथ्वीमा आउने पारदर्शी सूक्ष्म तत्व भनेर बुझिन्छ । यसले मानवपिण्डलाई चारैतिरबाट घेराबन्दीमा पारेको हुन्छ । विशेष गरेर दुई गोडा, दुई हात र टाउकोको केन्द्र भाग गरी पाँच ठाउँबाट भाइरसहरू पस्न खोज्ने हुँदा यी स्थानहरूमा कुशलाई राख्ने काम भएको हो । खास गरेर हरेक धार्मिक काम गर्दा सिद्धासन, पद्मासन वा सुखासनमा बस्नुपर्छ । ती आसनहरूमा दुवै पाउ घुँडाको तल रहन्छन् । गोडा फैलाएर टाङ फट्याएर बस्नु अनुचित हुन्छ । पूजापाठ र अनुष्ठानको समयमा कुशको उपयोग गर्दै शरीरको रक्षा गर्नु अनिवार्य छ ।
पितासम्मान दिवस वा बाउको मुख हेर्ने दिन यही यही तिथि हो । हामीलाई जन्म, लालनपालन र शिक्षादीक्षा दिएर जीवनको मार्गदर्शन गराउन अहं भूमिका खेल्ने पिता, बा, बाबा, जनक, तात आदि बुबालाई जनाउने शब्द हुन् । पितृ देवो भव, त्यसै भनिएको होइन । वेदव्यासले एक सन्दर्भमा भनेका छन् :
‘पिता धर्मः पिता स्वर्गः, पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने, सर्बाः प्रीयन्ति देवताः ।।’
अर्थात् : पिता नै धर्म, स्वर्ग र उत्तम तपस्या हो । पिता खुसी भएमा नै समस्त देवगण स्वतः प्रसन्न हुन्छन् । रामायणमा पनि भनिएको छ - ‘न सत्यं दानमानौ वा, न यज्ञाश्चाप्तदक्षिणाः ।’ अर्थात् पिताको सम्मान र सेवा गर्नाले जति भलो हुन्छ, त्यति सुरक्षा त कुनै पनि दान मान र दक्षिणा दिएर गरिने यज्ञबाट समेत सम्भव छैन भनी किटिदिएको छ । आजभोलि परचक्रीको अनुकरण हामी डुबेका छौँ, पञ्चामृत पञ्चगव्यजस्ता सेनिटरको हजुरबा बिर्सिएर होलीवाइनमा रमाएर हाम्रा ऋषिका गुणकारी अक्कल वाक्यलाई ठक्कर दिँदा हाम्रो भावी पुस्ता नै अक्करमा पुगेर जोक्कर बनाउँदै आफ्नो परिचय मेट्दैछौँ ।
जिउँदा पिताहरूमा उपहार, शिष्टाचार, सेवाभाव र चोखो माया दिन तत्पर बनौँ भने पितृलोक पुगेका स्वर्गीय आत्माको शान्तिका लागि तर्पण पिण्डदान गरेर श्रद्धा तिथि मनाऔँ । यही सन्तान हुनुको परं कर्तव्य हो ।
पाश्चात्य विकृतिलाई सभ्यताको नाम दिएर पारिवारिक स्नेह, ममता, प्यार, सम्मान र सुमधुर सम्बन्ध खण्डित तथा ध्वंस गर्दैछौँ यो सुन्दर धराधाम देखाएर शिक्षाको घाम दिने पितृसत्तालाई विचार, आचार र व्यवहारबाट आदर गरौँ । जिउँदा पिताहरूमा उपहार, शिष्टाचार, सेवाभाव र चोखो माया दिन तत्पर बनौँ भने पितृलोक पुगेका स्वर्गीय आत्माको शान्तिका लागि तर्पण पिण्डदान गरेर श्रद्धा तिथि मनाऔँ । यही सन्तान हुनुको परं कर्तव्य हो । बा वा आमाको मुख हेर्नु भनेको उहाँहरूको अशक्त, रुग्ण र वृद्धा अस्थामा विवेक पुर्याएर प्रतिदिन हेरविचार पुर्याउनु हो ।
छोराछोरीहरूले मातृपितृसत्तालाई वृद्धाश्रम, पाटीपौवामा धकेलेर अपमानित गर्ने निकृष्ट विसंगति रोकौँ । बाँचेका पितामातालाई असीम आत्मीय माया र आदरको अँगालो गम्लंग हालौँ, स्वर्गीय पितृहरूमा श्राद्धादि कर्मले सन्तुष्टि प्रदान गरौँ र पितृदिवसमा मन, वचन र कर्मले बोलौँ : ‘पितृदेवो भव ! मातृदेवो भव ! आचार्य देवो भव ! सबैमा विवेकशील चेतनाले राज गरोस् ! समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच