एमाले केन्द्रीय समिति बैठक आजबाट, यस्ता छन् एजेण्डा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठकमा स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेण्डामा छलफल हुनेछ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्न आजबाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

त्यस्तै, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लिखित रूपमा पेश गर्ने निर्णय भएको गुरुङले बताउनुभयो । त्यसमा छलफल गर्दै आगामी रणनीति तयार हुने उहाँले बताउनुभयो । चार जनालाई केन्द्रीय सदस्यहरूको शपथ गराउने र सचिवालयको निर्णय अनुमोदन गराउने एजेण्डा रहेको उहाँले बताउनुभयो ।

सचिवालय र पोलिटब्युरोले बनाएको उम्मेदवारको छनोटको मापदण्ड अब केन्द्रीय समिति बैठकले पारित गराउने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको उजुरीमा छानबिनका लागि विष्णु पौडेलको प्रतिवेदन आजको केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । पार्टी सदस्य संख्या आठ लाख ५५ हजार भए पनि केहीको नम्बरमा दोहोरोपन आएकाले संगठित सदस्यहरूको नम्बर मिलाइने गुरुङले बताउनुभयो ।

यस्तै, अनुशासन आयोगसहित तीन आयोग र सल्लाहकारहरूको रिर्पोट पनि आजको बैठकमा पेश गरेर अनुमोदन गर्ने निर्णय गरिएको छ । एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने बिहीबार पोलिटब्युरो बैठक बोलाएको थियो । उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । ओलीको प्रतिवेदनमाथि खिमलाल देवकोटा, शान्ता चौधरी, खगराज अधिकारी, कृष्णकुमार राई लगायतले आफ्नोे धारणा राख्नुभएको थियो ।

एमालेले तय गरेको मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धतालाई पहिलो आधार मानिएको छ । यस्तै, आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठालाई दोस्रो तथा लोकप्रियता र विजयको सुनिश्चिततालाई तेस्रो तथा महत्वपूर्ण आधार बनाइएको छ । संविधानअनुसार सन्तुलन र समावेशीको सिद्धान्तलाई चौथो आधार मानिने गुरुङले बताउनुभयो । प्रस्तावित मापदण्डलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ । प्रत्यक्ष चुनाव लड्न डराउने र पटक(पटक समानुपातिकबाट सिट सुरक्षित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समानुपातिक सांसद दोहोरिन नपाउने विषयलाई एउटा आधार बनाउन पोलिटब्युरो सदस्यहरूले माग गरेका छन् ।

बैठकले ११ वटा एजेण्डा केन्द्रीय कमिटी बैठकका लागि पारित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?