नेपालको वरीयता यथावत्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले निकालेको पछिल्लो वरीयतामा नेपाल यथास्थान मै छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाजस्तै १७६औं स्थानमा यथावत् हो । पछिल्लो समय अन्तर्राष्ट्रिय खेलहरू भइरहेको छैन । सोही कारण पनि कुनै पनि टोलीको वरीयतालाई प्रभाव देखिएको छैन ।

नेपालले पछिल्लोपटक गत जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्काे महिना घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायम छ । १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

१८६औं स्थानमा रहेको भुटान नेपालपछि चौथो स्थानमा रहँदा बंगलादेश १९२औं स्थानमा पुगेको छ । १९६औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाको पुछारमा छ ।

विश्व वरियतामा ब्राजिल शीर्षस्थानमा यथावत् छ । बेल्जियम दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहेको छ । शीर्ष २१ सम्म कुनै परिवर्तन भएको छैन । फ्रान्स, इंग्ल्याण्ड, स्पेन, इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष १० मा छन् । जर्मनी, मेक्सिको, उरुग्वे, अमेरिका, क्रोएसिया, स्वीट्जरल्याण्ड, कोलम्विया, सेनेगल, वेल्स, स्वीडेन र पेरु शीर्ष २१ मा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?