एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह विभाजन गरिएको छ ।

प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समूह विभाजनमार्फत छलफल हुने जानकारी दिनुभयो ।

पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आ–आफ्ना प्रतिवेदन पेश गर्नुभएको छ ।

सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ । शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने नेता रिजालले जानकारी दिनुभयो ।

बैठकमा सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरु गरिएको छ । अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचनसम्मको पार्टीको कार्यदिशासमेत तय गर्ने एमालेले जनाएको छ ।

अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवेदनमाथि पनि शनिबारको बैठकमा छलफल हुनेछ । ओलीको प्रतिवेदनसहित विभिन्न निर्णय गर्दै बैठक शनिबारै सकिने एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?