पुस्तक : ‘आमा’ डा.विष्णु केसीको बालकाव्य

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

डा.विष्णु केसी प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ तर उहाँ प्राध्यापनका साथै साहित्यमा समेत संलग्न हुनुहुन्छ । विशेषगरी बालसाहित्यको सिर्जनामा उहाँको सिद्धहस्तता रहेको छ । पाठ्यपुस्तक र सन्दर्भ सामग्री लेखनमा उहाँका संख्यात्मक हिसाबले धेरै नै पुस्तकहरू सार्वजनिक भइसकेका छन् । यसका साथै बाल कविताहरूका समेत प्रसस्त पुस्तकहरू रचना गर्नुभएको छ । राष्ट्रकवि माधव घिमिरेको खण्डकाव्यकारितामा विद्यावारिधि गर्नुभएका केसीको हालै बालकाव्य प्रकाशित भएको छ ‘आमा’ शीर्षकमा ।

‘आमा’ सानो र आकर्षक आकारमा रहेको छ । शब्दार्थ प्रकाशन चाबहिल काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रकाशन यही वर्ष २०७९ सालमा भएको छ र यो १००० प्रति छापिएको छ । भूमिका खण्डसमेत गरी ३७ पृष्ठ रहेको यस पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ । भुवन अर्यालको ले–आउट रहेको यस पुस्तकको कम्प्युटरको कार्य सङ्गीता भण्डारीले गर्नुभएको छ । सर्वाधिकार कृतिकारमै रहेको पुस्तकको मुद्रण टचटोन प्रिन्टिङ प्रेसमामा भएको छ ।
आवरण आकर्षक छ, काव्यको भावना अनुसार एकजना आमाले दुई जना छोराहरूलाई अङ्कमाल गरिरहेको चित्र आवरणमा देख्न सकिन्छ । पृष्ठभूमि हल्का रातो छ । माथि पुस्तकको शीर्षक ‘आमा’ ठूला राता अक्षरमा राखिएको छ र त्यसमुनि कोष्ठकमा बालकाव्य भनिएको छ । तल काव्यकारको नाम रहेको छ । पुस्तक सेतो स्तरीय कागजमा छापिएको छ र यसको छपाइ पनि स्तरीय छ । अशुद्धिहरू पाइँदैनन् तर दुई-चार ठाउँमा अक्षरको फन्ट नमिलेको पाइन्छ ।

पृष्ठ आवरणका फोटोसहित काव्यकारको चिनारी दिइएको छ । जसअनुसार उहाँका गीत समालोचना र निबन्धका पुस्तकहरू प्रकाशित भएको उल्लेख छ । साहित्यमा विष्णु केसीका नामले चिनिए पनि उहाँको वास्तविक नाम विष्णुकुमार खत्री रहेको जानकारी पनि यही पृष्ठबाट पाउँन सकिन्छ । यही पृष्ठको तल प्रकाशक शब्दार्थ प्रकाशनको लोगोसहित नाम उल्लेख गरिएको छ । हाल डा.केसी पशुपति बहुमुखी क्याम्पस चाबहिलमा प्राध्यापनरत हुनुहुन्छ ।

पुस्तकको भूमिका खण्डमा डा.शैलेन्दुप्रकाश नेपालको ‘शुभकाना’ र काव्यकार डा.केसीको ‘मेरो भन्नु’ रहेको छ । त्यसपछि काव्यको शीर्षकको क्रम वा विषयसूची ‘यसभित्र’ भनेर दिइएको छ । यहाँ जम्मा ११ वटा सर्ग रहेका छन् । सानो काव्य हो यो तर यसमा काव्यकारले ‘नहूँ अलमलमा’ भनेर काव्यको नियमानुसार मङ्गलाचरणबाट काव्य थालनी गर्नु भएको छ । यसमा उहाँले
‘बसिदेऊ है सरस्वती
मेरो कलममा
अघि बढ्दा कतै पनि
नहूँ अलमलमा’
भनेर सरस्वती माताको आराधना गर्नुभएको छ ।

यहाँ एउटा सडकबालक, अर्को एउटा बालक राजु र राजुकी आमा तीन जना पात्रका माध्यमबाट काव्यको कथानक सिर्जना भएको छ । काव्यको मूल भाव यस्तो छ :
राजु नामको बालकले सधैँ विद्यालय जाँदाआउँदा एउटा बालकलाई देख्छ । त्यो बालक एउटा ठूलो घोक्रामा प्लास्टिकहरू बटुल्ने काम गर्छ र खोलाको पुलमुनि बास बस्छ । राजु उसलाई भेट्न र बोल्न चाहन्छ तर ऊ सधैँ तर्किएर हिँड्छ । केही दिनपछि राजुले उसलाई पुलमुनि सुतिरहेको देख्छ । काममा नगएर यसरी दिउँसै सुतिरहेको हुँदा राजु उसलाई भेट्छ र सोध्छ तर ऊ बिरामी भएको पाउँछ । घरमा गएर आमासँग पैसा मागेर औषधि किनेर दिन्छ । आमाले राजुको त्यस कार्यको चियो गरेकी हुन्छिन् ।

त्यस्ता बालकसँग सङ्गत गर्नु हुँदैन भनेर राजुलाई सम्झाउँछिन् तर राजुले आमालाई नै त्यस्ता बालकलाई त हामीले माया र सहयोग गर्नुपर्छ भनेर सम्झाउँछ । आमा उसका कुरामा सहमत हुन्छिन् । तराईमा बाढी आएर आमाबाबु बगेर बेपत्ता भएपछि बेवारिसे बनेको त्यस बालकलाई एकजनाले काठमाडौं ल्याएर घरमा नोकर राखेको हुन्छ तर गालीगलौज र कुटपिटबाट आजित भएर त्यो बालक सडकबालक बन्न पुगेको हुन्छ । राजु र उसकी आमाले त्यस बालकलाई घरमा ल्याउँछन् र परिवारकै सदस्य बनाएर राख्छन् । त्यो राजुको भाइ र आमाको कान्छो छोराका रूपमा परिवारको सदस्य बन्छ । यसरी यस काव्यको शीर्षक ‘आमा’ पनि यस काव्यको कथानकबाट सार्थक बन्न पुग्छ ।

यही कुरालाई काव्यकार डा.केसीले विभिन्न सर्गका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । गरिबहरूलाई सहारा दिऔँ भन्ने यस काव्यको अभिप्राय पाइन्छ । काव्यकारको प्रस्तुति सरल छ, बालकहरूले बुझ्ने स्तरको छ । छोटो काव्य भएका कारण १०-१५ मिनेटमै यो पढिसकिन्छ । भाषा सरल र अनुप्रासयुक्त छ । विशेषतः बाललकहरूकै लागि साहित्य सिर्जना गर्दै आउनु भएका डा.केसीबाट अरू यस्ता काव्यहरूको निरन्तरताको अपेक्षा गर्नु अन्यथा होइन । उहाँलाई बधाई तथा शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?