सुदूरपश्चिम : खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्

हिमालय टाइम्स
Read Time = 10 mins

धनगढी/रासस । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ । यो प्रदेशमा खेलकुद सामग्री, मैदानलगायतका भौतिक संरचना तथा पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएका छन् । यसका बाबजुद पनि क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, फुटबलजस्ता खेलमा प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

पर्याप्त पूर्वाधारको अभाव हुँदा पनि सुदूरपश्चिमका धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर देशको नाम चिनाउन सफल भएको क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय धनगढीका प्रमुख टोपबहादुर विष्टले बताउनुभयो । ‘पूर्वाधारको अभावमा खालीचौर र ढुंगामाटोमा खेल्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तर खेलका पर्याप्त पूर्वाधार जुटाउनेतर्फ राज्यको ध्यान कहिल्यै पुग्न सकेको छैन ।’

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्ट र सुनिल शर्मा, भलिबलका भरत शाह, जगदीश भट्ट, नेविका चौधरी, सरस्वती चौधरी, जनक विष्ट, फुटबलका चन्द्रा भण्डारी, बक्सिङका विष्णुबहादुर सिंह र डम्मर भट्ट, ब्याडमिन्टनका पशुपति पनेरु, इन्द महता, रूपेशसिंह धामी सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ ।

क्रिकेटरको हकमा यो प्रदेशले फड्को मारेको देखिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा सुदूरपश्चिम प्रदेशबाट ५० देखि ६० प्रतिशतभन्दा बढी क्रिकेटरको सहभागिता रहने गरेको छ । नाम चलेका क्रिकेटर भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायत खेलाडी यसै प्रदेशबाट उदाउनुभएको हो ।

पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव भइरहँदा खेलमा अभिरुचि राख्ने खेलाडी निरुत्साहित हुनुपर्ने अवस्था रहेको खेलप्रेमीको भनाइ छ । स्वस्थ शरीर बनाउन र आत्मरक्षाका लागि उपयोगी मानिने बक्सिङ खेलको विकास र विस्तारमा राज्यको लगानी सबैभन्दा निराशाजनक रहेको यो खेलका प्रशिक्षकले बताउने गरेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको समयमा बाहेक अन्य कुनै पनि समयमा बक्सिङको विकास र विस्तारका लागि राज्यको लगानी शून्यप्रायः रहेको बताउनुहुन्छ बक्सिङका ‘रेफ्री’ शेरबहादुर साहु ।

यो खेलमा चाहिने जति लगानी हुन नसक्दा इच्छुक व्यक्ति, खेलाडी र संस्थाले व्यक्तिगत वा संस्थागत लगानीका साथै अरूबाट चन्दा सहयोग जुटाएर बक्सिङका प्रतियोगिता सञ्चालन गर्नुपरेको जनाइएको छ ।

बक्सिङ खेलका लागि रिङ (बक्सिङ खेलाइने ठाउँ) बक्सिङ ग्लोब, प्याड, पञ्चिङ प्याड, किट ब्यागलगायत खेल सामग्री चाहिने भए पनि यी सामग्रीको खेलाडीलाई अभाव हुने गरेको छ । बक्सिङलगायत खेलकुदको हलका साथै एथलेटिक्स, क्रिकेट, हृयान्डबल, भलिबल, जुडो, टेबुलटेनिस, बास्केटबलका प्रशिक्षकको अभाव छ । स्वयंसेवकका रूपमा क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरिरहनुभएका ज्ञानेन्द्र क्षेत्री क्रिकेटको प्रशिक्षण गराउन ठूलो मैदान चाहिने भए पनि त्यसको अभावमा प्रशिक्षण दिन समस्या भइरहेको बताउनुहुन्छ ।

सात वर्षदेखि स्वयंसेवी भएर प्रशिक्षणमा खटिरहनुभएका उहाँले भन्नुभयो, ‘निर्माणाधीन रंगशालामा क्रिकेट खेलाउन सकिने गरी मैदान छैन, तैपनि जसोतसो प्रशिक्षण दिइरहेका छौं ।’ धनगढी र महेन्द्रनगरमा रहेका बहुउद्देश्यीय कभर्डहल मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

अछाम, बैतडी, बझाङमा कभर्डहल नै छैनन् । महाकाली नदीमा केही वर्षअघि आएको बाढीले दार्चुला सदरमुकाममा रहेका कभर्डहल भत्किएर क्षति पुगेको थियो । यसपछि त्यहाँ कभर्डहल बनेको छैन । डडेलधुरामा कभर्डहल निर्माणाधीन छ । डोटीमा इन्डोर खेल खेल्न सकिने कभर्डहल छ । पहाडी क्षेत्रका कतिपय जिल्लामा खेलकुदका आफ्ना भवन छैनन् ।
दश वर्षअघि धनगढीमा निर्माण थालिएको प्यारापिटसहितको क्षेत्रीय रंगशाला निर्माणको काम अझै पूरा हुन सकेको छैन । रंगशालामा निर्माण गरिने १६ प्यारापिट (दर्शक बस्ने ठाउँ) मध्ये गएको दश वर्षमा तीन प्यारापिटको निर्माण पूरा हुन सकेको छ । पर्याप्त बजेट विनियोजन नहुँदा बाँकी १३ प्यारापिटको निर्माणको काम अधुरै छ । चालु वर्षमा भने प्यारापिट निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

कार्यालय प्रमुख विष्टले भन्नुभयो, ‘पटक–पटक बजेट पेश गर्‍यौं तर मागअनुसारको पर्याप्त बजेटको व्यवस्था नहुँदा रंगशालाका आवश्यक संरचना निर्माण हुन सकिरहेको छैन ।’ विसं २०६८ मा धनगढीमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका क्रममा क्षेत्रीय रंगशाला निर्माण सुरु भएको थियो । रंगशाला परिसरमै ‘सेमी कभर्डहल’ निर्माणाधीन छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गरी खेलबाट सन्न्यास लिएका प्रदेशका खेलाडीका लागि ‘निवृत्त खेलाडी कल्याणकारी कोष’ को व्यवस्था गर्ने प्रदेश सरकारको नीति कार्यक्रम पनि कार्यान्वयनमा आउन सकेको छैन । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपकबहादुर सिंहले ऐनअनुसार गठन भएको प्रदेश खेलकुद परिषद्लाई अधिकारविहीन बनाइँदा सोचेको काम हुन नसकिरहेको बताउनुभयो । ‘यसका बाबजुद सरकारको नीतिअनुसार गत वर्ष प्रदेशमा ११ निर्वाचन क्षेत्रमा ११ खेलमैदान निर्माण गरेका छौं,’ सिंहले भन्नुभयो, ‘महेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहल, टीकापुरमा स्पोट्र्स एकेडेमी, डडेलधुरामा बहुउद्देश्यीय कभर्डहलको निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।’

धनगढी उपमहानगरपालिका-३ मा रहेको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने लक्ष्यसहित सरकारले पूर्वाधार विकास समिति गठन गरेपछि भने खेलाडी र खेलप्रेमीमा नयाँ आशा जागेको छ । उक्त मैदानलाई व्यवस्थित र सुविधासम्पन्न क्रिकेट मैदान बनाउने लक्ष्यसहित विगतमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) को पहलमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो ।

क्षेत्रीय र जिल्ला खेलकुदका कार्यालयमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी कार्यरत छन् । यी कर्मचारीलाई प्रदेश खेलकुद परिषद्मा समायोजन नगर्दा अन्योलको वातावरण देखिएको छ । यसैबीच पोखरामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३३ खेलमा सहभागिता हुन लागेको छ । आर्चरी, स्क्वास, प्याराग्लाइडिङबाहेक ३३ खेलमा सुदूरपश्चिम प्रदेशले सहभागिता जनाउन लागेको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । यसका लागि विभिन्न खेलको छनोट प्रतियोगिता सुरु भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?