‘ग्यास बिक्रेताको संगठन विस्तारका लागि तीव्र रूपमा लागि पर्दैछौं’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आगामी असोज ८ गते ग्यास बिक्रेता महासंघ नेपालको पाँचौं महाधिवेशन सम्पन्न हुँदैछ । राजधानीमा हुनलागेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेे छ । हाल महासंघको उपाध्यक्ष पदमा रहनुभएका विष्णुप्रसाद दुलाल वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यासी हुनुहुन्छ । नेपाल ग्यासमा २२ वर्ष काम गर्नुभएका दुलालले आफ्नै कम्पनी नमुना ग्यास सप्लायर्स सञ्चालन गर्दै आउनुभएको छ । २०६० सालदेखि महासंघमा विभिन्न पदमा रहेर काम गरिरहनु भएका दुलाल ग्यास व्यवसाय र यस क्षेत्रका विषय वस्तुबारे जानकार हुनुहुन्छ ।

ग्यास बिक्रेता महासंघ नेपालको पाँचौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । नेतृत्वमा आएपछि के-के काम गर्ने योजना बनाउनुभएको छ ?
मलाई सक्रियतापूवर्क संगठन विस्तार गर्ने सोच छ । नेपालमा प्रदेश ६ र ७ नम्बरबाहेक सबैतिर हाम्रो संगठन छ । महासंघमा मैले भूमिका पाएपछि बाँकी प्रदेशमा संगठन विस्तार गर्ने योजना छ । संगठन र जनताको समस्या समाधान गर्न म जहिल्यै तयार छु ।

खासगरी ग्यास बिक्रेता महासंघ नेपालले के-कस्तो काम गर्छ ?
यसले बिक्रेताको पक्षमा काम गर्छ । बिक्रेतालाई कुनै समस्या पर्दा समाधान गर्ने, उपभोक्तालाई चेतनामूलक काम गर्ने, बिक्रेताको कमिसनको हित हुने काम गर्छ । त्यसबाहेक यस क्षेत्रमा हुने विकृति, बेथिति हटाउन पहल गर्छ । कुनै बिक्रेताको गल्ती छ भने हामी उनीहरूलाई कारबाही गर्छौं ।

ग्यासमा हुने कालोबजारीलाई कसरी रोक्ने ?
कालोबजारी र विकृति रोक्न हामीले डिलर प्रमाणीकरण हुनुपर्छ भन्ने धारणा अगाडि सारेका छौं । हरेक डिलरमा पुग्दा नयाँ तथा पुराना ग्यासको दर रेट् देखिने टाँसिएको हुनुपर्छ । यसले गर्दा उपभोक्तालाई जानकारी होस् । कसैले बढी पैसा लिएमा तुरुन्त उजुरी गर्नुपर्छ । हाल कालोबजारी भएको छैन । कोही नपाउनेले गुनासोमात्र गर्नुभएको हो । नाकाबन्दी, भुइँचालोमा कालोबजारी पक्कै एकै हो ।

विपन्न नेपालीहरूका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउने प्रसंग बेला-बेला उठ्छ । यसको कार्यान्वयन कत्तिको सम्भव छ ?
ग्यासमा सहुलियत दिन सरकारले प्रभावकारी र पारदर्शी कार्यक्रम ल्याउनुपर्छ । गरिब, पीडितहरूले सहजै सहुलियत नपाउँदा फेरि कालोबजारी बढ्छ । सरकारले व्यावसायिक र घरायासी प्रयोजनका लागि फरक मूल्य तोक्ने खबर सुनिन्छ । त्यो उचित हुँदैन । जहाँ दुई थरी मूल्य हुन्छ, त्यहाँ पक्कै गड्बड भइहँल्छ । सम्भावित कालोबजारी रोक्न यी कुरालाई व्यवस्थित गर्नुपर्छ ।

तपाइँ समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । समस्या र अफ्ठ्यारोमा परेकालाई कसरी मद्धत पुर्‍याइरहनु भएको छ ?
विगतमा मेलम्ची बाढीपीडितलाई व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराएको छु । यस्तै भूकम्प, नाकाबन्दीमा ग्यास र राहत उपलब्ध गराएको छु । तराई क्षेत्रमा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा हामीले सिरहा, सप्तरीलगायतका जिल्लामा लत्ता, कपडा बाँड्यौं ।

विगतमा ग्यास सिलिन्डर प्रयोग गर्ने क्रममा कतिले ज्यान गुमाउनुभयो । यसबारे जनचेतना जगाउन महासंघले कस्तो भूमिका खेलिरहेको छ ?
ग्यास सिलिन्डर प्रयोग गर्ने क्रममा कैयौंले ज्यान गुमाउनु भएको छ । कसरी ग्यास सिलिन्डर प्रयोग गर्ने ? कस्तो अवस्थामा खतरा हुन्छ ? ग्यास बाल्दा-बाल्दै आगलागी भए के गर्ने ? कसरी ज्यान बचाउने ? हामीले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छौं । काठमाडौं उपत्यका बाहिर ६/७ हामीले सचेतना फैलाउने कार्यक्रम आयोजना गर्‍यौं । राजधानीभित्र विभिन्न कार्यक्रम आयोजना गर्‍यौं । ठूलो संख्यामा उपभोक्ताले आग्रह गरेमा हामी सहयोग गर्छौं । महासंघमा प्राविधिकका रूपमा म र गेहेन्द्रप्रसाद रिजालले छौं । देशभर हामीले निःशुल्क सेवा दिन्छौं । गृहिणीलाई बढी लक्षित गरेका छौं । उहाँहरूका लागि एकदमै उपयोगी छ । यसबारे कसैलाई जिज्ञासा भएमा वा हामीलाई बोलाउनुपरेमा मलाई सिधैं सम्पर्क गर्न सक्नुहुनेछ ।

विगतमा महासंघको कुन-कुन पदमा रहेर भूमिका निभाउनुभयो ?
म २०६८ मा ग्यास बिक्रेता संघ काठमाडौं जिल्ला सचिव र २०७० मा महासचिव भएर काम गरेँ । २०७१ मा ग्यास विक्रेता महासंघको केन्द्रीय सदस्य र २०७३ मा सचिव भएर पनि काम गरियो । २०७४ पछि दुई वर्ष कार्यबाहक महासचिवका रूपमा जिम्मेवारी लिएँ । २०७७ देखि उपाध्यक्ष छु । हाल मसहित महासंघमा पाँचजना उपाध्यक्ष छौं ।

प्रस्तुतिः गोपिकृष्ण चापागाईं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?