रत्नपार्क क्षेत्रमा भोल्टेज समस्या समाधान

Read Time = 4 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले नयाँ ट्रान्सफर्मर चार्ज गरेर सञ्चालनमा ल्याएपछि रत्नपार्क आसपासमा विद्युत् भोल्टेज कम हुने समस्या हटेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको रमितेडाँडामा सय केभिएको ट्रान्सफर्मर सञ्चालनमा ल्याएपछि बाम्राङ र दिक्तेलको रत्नपार्क आसपासमा कम भोल्टेजको समस्या अन्त्य भएको हो ।

नयाँ ट्रान्सफर्मर चालु भएसँगै फेमिली केयर अस्पतालमा भोल्टेज समस्या हटेकोे फेमिली केयर अस्पतालका अध्यक्ष डा. केके राईले बताउनुभयो । यसअघि नियमित विद्युत् नहुने र कम भोल्टेज आउँदा एक्सरे मेसिन चलाउन समस्या थियो । डा. राईले भन्नुभयो, ‘अहिले विद्युत् नियमित छ, भोल्टेज पनि प्रशस्त छ ।’

फेमिली केयर अस्पतालसँगै रत्नपार्कको सडक आसपासका ग्यारेज, वर्कसप, गान्दीप समिल, कोष तथा लेखा नियन्त्रक कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भोल्टेजको समस्या हटेको छ । ती कार्यालयमा भोल्टेज कम हुँदा प्रिन्टर मेसिन नचल्ने तथा ग्यारेजमा कम्प्रेसर मेसिन चलाउन जेनेरेटर चलाउनुपर्ने थियो । अहिले भने कम्प्रेसर मेसिन चलाउन भोल्टेज समस्या नरहेको र जेनेरेटर चलाउनुपर्ने बाध्यता हटेको उद्योगी व्यवसायी बताउँछन् ।

रत्नपार्क आसपासमा कम्प्रेसर मेसिन, एक्सरे मेसिन, वासिङ मेसिन, वेल्डिङ मेसिन चलाउन भोल्टेजको कुनै समस्या नहुने प्राधिकरणका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार त्यस आसपासका उपभोक्ताले पहिला अल्छेढुंगाको ट्रान्सफर्मर हुँदै आएको विद्युत् लामो तार हुँंदै घर तथा कार्यालयसम्म ल्याउँदा एक सय ८५ सम्म भोल्टेज आउने गरेको थियो तर अहिले दुई सय ४० देखि दुई सय ५० सम्म भोल्टेज आउन थालेको छ भने तारको खपतसमेत घटेको छ । यसअघि सैनिक ब्यारेकबाट बाम्राङसम्म ल्याइएको ११ केभी प्रसारण लाइनलाई रमितेडाँडासम्म ल्याएर नयाँ ट्रान्सफर्मर राखिएको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा शतप्रतिशत बक्यौता असुली गर्ने अभियानअन्तर्गत साउनमा मात्रै प्राधिकरणले एक सय २४ जना ग्राहकको लाइन काटेको छ । लाइन काटिएकामध्येमा ८० जना ग्राहकले जडान दस्तुर आठ सय ४७ रुपैयाँ तिरेर पुनः लाइन जडान गर्दा सात लाख २६ हजार तीन सय ४५ रुपैयाँ बक्यौता महसुल उठेको छ । ४४ ग्राहकले भने पुनः लाइन जडान गरेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?