शीर्ष पार्टीका प्रमुख नेतृत्वलाई बिदाइ गर्न लामिछानेको आह्वान, गठबन्धनको कडा आलोचना

अनिल क्षेत्री
Read Time = 8 mins

-अनिल क्षेत्री

काठमाडौं । मुलुकका प्रमुख र स्थापित ठूला राजनीतिक दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । स्थापित ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतले आसन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गरिसकेका छन् । यस्तै, मतदातालाई आफूतिर तान्न प्रशिक्षण, गोष्ठी र चुनावी केन्द्रित अभियानका विभिन्न स्वरूपका कार्यक्रमसहित जनताको घरदैलोमा पुग्न थालेका छन् ।

स्थापित राजनीतिक दलहरूभन्दा एक कदम अगाडि बढेर पछिल्लो समय खुलेका नयाँ राजनीतिक दलहरू पनि स्थापित राजनीतिक दलहरूलाई चुनौती हुनेगरी चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् । भर्खरै गठन भएका राजनीतिक दलहरू जनताबाट परीक्षण नभएपछि ठूला दललाई चुनौती दिने कसरतमा छन् ।

मंसिर ४ मा तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पूर्व टेलिभिजन प्रस्तोता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पहिलो उपत्यकास्तरीय भेला आयोजना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न आमनिर्वाचनलाई लक्षित गरेर काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त भेला आयोजना गरेको हो । उक्त पार्टीले केही समय अघिदेखि देशका विभिन्न ठूला सहरहरूमा आमसभा र भेला गरिरहेको छ । त्यसकै निरन्तरताअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको भेला आयोजना गरेको हो ।

‘तीन ‘बा’लाई बिदा गरौँ, अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गर्नुभएको छ । पार्टीले शनिबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न निर्वाचनबाट बिदाइ गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पछिल्ला गतिविधिको प्रशंसा गर्दै लामिछानेले भन्नुभयो, ‘म सबै ‘बा’हरूलाई आज बाको मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहन्छु । पछाडि बा भएका तीन ‘बा’ केपी बा, देउवा र नानीका बालाई स–सम्मान बिदा गरौँ अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके ।’

काठमाडौंका मेयर साहले पछिल्ला दिनमा गरिरहेको कामको प्रशंसा गर्दै लामिछानेले जनताको छोरो डोजर लिएर जाँदा कानुनी छिद्र खोजेर काम गर्न नदिने प्रयास भइरहेको आरोप लगाउँदै भन्नुभयो, ‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेहरूले दुई मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।’

गठबन्धन गरेर चुनावमा जानु ठगी भएको टिप्पणी

सभापति लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको आरोप लगाउनुभएको छ । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा–टुक्रा विभाजित पार्टीहरू एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको टिप्पणी गर्नुभएको हो ।

सत्तारूढ दलहरूको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्लाएक्लै चुनाव लड्न चुनौतीसमेत दिनुभयो । आफूलाई अर्काको कुरा नगर, आफ्नो राजनीतिक सिद्धान्तबारे बुझाउ र राजनीतिक सिक भन्ने सुझाव आउने गरेको भन्दै लामिछानेले भन्नुभयो, ‘हामीलाई राजनीतिक सिक्नु छैन । पानी परेको बेला सडक पिच भइरहेको हुन्छ । त्यसो गर्नुहुँदैन भन्नका लागि राजनीतिक सिक्नु पर्दैन । राजनीति सिक्दै गरौँला, यसपटक ती पुराना पार्टीहरूलाई जिताउन हुँदैन । बा पुस्ताका नेताहरूलाई आगामी चुनावमा नजिताउन आग्रह गर्छु ।’

केही वर्ष पहिले टिभी कार्यक्रममा भनेको विवादास्पद भनाइको प्रष्टीकरण दिँदै पूर्व– टेलिभिजन प्रस्तोता लामिछानेले कोरोना कालमा औषधिमा पनि भ्रष्टाचार गरेको प्रसंगमा ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर घुमेर हान्नुपर्ने त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भन्ने अभिव्यक्ति दिएको जिकिर गर्नुभयो । औषधिमा समेत कमिसन खाएपछि आफूले बाध्य भएर उक्त अभिव्यक्ति दिएको जिकिर गर्दै लामिछानेले भन्नुभयो, ‘जब जनता कोभिडको महामारीमा मारिइरहेका थिए । त्यतिबेला जनता बचाउने औषधिमा पनि कमिसन खाएपछि बाध्य भएर मैले भनेको थिएँ टुँडिखेलका विषयमा । टुँडिखेलका विषयमा टेलिभिजनबाट भनेको त्यो किकलाई मैले भोटमा बदलेको छु । त्यो किक भनेको मंसिर ४ गते ब्यालेट बक्समा तपाईंहरूले खसाल्ने मत हो । हिजोको भनाइलाई सच्याउन आज म टुँडिखेलमा उपस्थित भएको छु ।’

अस्पताल सुधार गर्नुप¥यो भने कोही अगाडि नबढ्ने तर अस्पतालका लागि उपकरण खरिद गर्नुप¥यो, सबै अगाडि बढ्ने गरेको बताउँदै सभापति लामिछानेले यो देशलाई कसले कंगाल बनायो भन्ने सबैलाई थाहा भएको तर उनीहरूका बारेमा कसैले चुइँक्कसम्म बोल्न नसकेको टिप्पणी गर्नुभयो । राजनीतिक दललाई पोस्नु छैन भने एउटा इमानदार कार्यकारीले धेरै काम गर्न सक्ने दाबी गर्दै सभापति लामिछानेले राजनीतिक दलका भ्रातृ संगठनहरू राज्य दोहनमा क्रियाशील भएको कारण आफ्नो दलले भ्रातृ संगठन नबनाएको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?