थारू समुदायमा अटवारी पर्वको रमझम

हिमालय टाइम्स
Read Time = 5 mins

-विवेक खड्का

दाङ । थारू समुदायले ‘दिदीबहिनी’को अटल सौभाग्यको कामना गर्दै आज (आइतबार) अटवारी पर्व मनाउँदै छन् । दाङसहित कञ्चनपुर, कैलाली, बाँके, बर्दिया क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने चलन छ । आज थारू समुदायका बस्तीमा अटवारीको रौनक छाएको छ । ‘यो पर्वमा विशेष गरेर दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नखाएर व्रत बसेर साँझपख भीमको पूजा गर्ने चलन छ ।’ थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले भन्नुभयोे, ‘व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलबाट बनेका रोटी लगायतका परिकार र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको व्रतालुले खाने चलन छ ।’

उहाँका अनुसार दिदीबहिनीका लागि निकालिएको भागलाई अग्राशन भन्ने गरिन्छ । व्रत बसेको साँझपख कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन–चारजना मिलेर आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिन्छ । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान रोक गरिएको हुन्छ । त्यस्तै, महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका उपप्रध्यापक कुलवीर चौधरीले अटवारी थारू समुदायले मनाउने महत्वपूर्ण पर्व भएको बताउनुभयो । ‘दाजुभाइ, दिदीबहिनी र छरछिमेकीहरूको बीचमा माया, ममता सदभाव, भ्रातृत्व र बलियो एकताको प्रतिकको रूपमा यो पर्वको महŒव छ,’ उहाँले भन्नुभयोे ।

यो पर्वमा व्रतालुले आ-आफ्नो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने र अलग्याएर राखेको खानेकुरा भोलिपल्ट दिदीबहिनीलाई दिने चलन छ । ‘दिदीबहिनी दाजुभाइ आउने प्रतीक्षामा बस्ने र वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्ने गर्छन् ।

‘अग्राशन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने चलन छ’ उपप्रध्यापक चौधरीले भन्नुभयो । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायतका पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्ने गर्ने प्रचलन छ । यो पर्व थारू समुदायको माघी, दशैँपछिको ठूलो चाडपर्वका रूपमा छ । पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको प्रचलन रहेको उपप्रध्यापक चौधरीले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

थारू समुदायको बाहुल्यता रहेको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका थारू समुदायलाई बिदा दिइएको हो । प्रदेश सरकारले विज्ञप्तिमार्फत बिदा दिइएको जनाएको छ ।

थारू समुदायले लामो समयदेखि अट्वारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिलेदेखि नै अट्वारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुसी भएको थारू कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताउनुभयो । थारू समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?