एकैपटक पाँच सहकारी मर्ज हुँदै

Read Time = 4 mins

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकआपसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच मर्जर सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुद्देश्यीय सहकारी संस्था एक हुने भएका हुन् । संस्थाका अनुसार मर्जपछि संस्थाको कारोबार झण्डै नौ अर्ब रुपैयाँ पुग्नेछ भने बचत चार अर्ब ६३ करोड ७० लाख आठ हजार पाँच सय ९७ रुपैयाँ, चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार एक सय २८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै संस्थाको कुल सम्पत्ति सात अर्ब ५८ करोड १ लाख ७५ हजार एक सय ९६ रुपैयाँ पुग्नेछ । सम्झौताअनुसार मर्जपछिको सहकारीको नाम ‘नेसनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहनेछ भने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहनुहुनेछ ।

मर्जपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार पाँच सय रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या छ हजार आठ सय ५८ पुग्नेछन् । संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ रुपैयाँ र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ रुपैयाँ पुग्नेछ । संस्थाको तरलता रकम एक अर्ब १३ करोड ९८ लाख ८७ हजार आठ सय १७ रुपैयाँ र २४.५८ प्रतिशत रहनेछ ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विभिन्न ठूला सहकारीले दिएको सेवाको उदाहरण दिँदै जति ठूलो सहकारी उति धेरै सेवा पाउन सक्ने दाबी गर्नुभयो । उहाँले अन्य संस्थाले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, सञ्चालकले सदस्यको पैसामा रजाइँ नगरी सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीमा बचत फिर्ताको समस्या नआएको दाबी गर्दै बैंक तथा वित्तीय संस्थाले अनावश्यक हल्ला फिँजाएको दाबी गर्नुभयो । बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तीय संस्थाले कृत्रिम अभाव देखाएर अपवाह फैलाएको उहाँको जिकिर छ ।

बागमती प्रदेशका रजिस्टार नारायण ज्ञवालीले सहकारी अभियानमा बिचौलिया घुसपैठ हुँदा समस्या आएको भन्दै एकताबद्ध भएर समस्या समाधान गर्न आग्रह गर्नुभयो । कतिपय सहकारीले कार्यक्षेत्र बढाउने, सेवा केन्द्र बढाउनेमात्र उद्देश्यले मर्ज गर्ने गरेको भन्दै उहाँले पाँचवटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको बताउनुभयो । मर्जपछि बन्ने ‘नेसनल आइडल यमुना बचत तथा ऋण सहकारीका प्रस्तावित अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यको विश्वासलाई कायम राख्दै थप सबल तथा बलियो संस्था बनाउन सदस्यको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?