बहुदलीय पद्धतिमा असहमति प्रकट गर्ने र संगठन गर्ने अधिकार सुरक्षित मानिन्छ । कुनै पनि दलमा आबद्ध सदस्यहरू त्यस दलका कामदार वा कमारा होइनन् । कुण्ठा पालेर कोही कुनै पनि दलमा बस्नु निरर्थक हुनेछ । अथवा स्वतन्त्र मानिसहरूले कुनै पार्टीको नेतृत्वलाई लिएर चौबाटोमा आलोचनाको वर्षा गरिरहनुभन्दा आफैँ मन मिल्दा सदस्यहरू मिलेर राजनीतिक दल खोल्ने अधिकार राख्दछन् । विचारका आधारमा, कार्यक्रमका आधारमा र सामाजिक छविका आधारमा राजनीतिक दलहरूको हैसियत निर्माण हुँदै जान्छ । नेपालमा आज पनि मानिसहरू सदा पुरानैसँग जस्तो भए पनि टाँसिएर बसिरहने परम्परा विद्यमान भएको हुनाले नयाँ राजनीतिक दलहरू वैकल्पिक शक्ति हुन असमर्थ देखिएका छन् ।
२००६ सालदेखि अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टीमा भने असहमतिका अनेक चिरा विद्यमान छन् । अहिले कम्युनिष्ट पार्टीको विकल्प कम्युनिष्ट पार्टी नै हुने अवस्था छ । एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार पार्टी हो भने २०५२ पछि सशस्त्र हिंसाद्वारा सतहमा आएको माओवादी पार्टी त्यसको विकल्प हुन पुगेको छ । अहिले त एमालेबाट विभाजित नेकपा समाजवादी कम्युनिष्ट आन्दोलनमा तेस्रो शक्तिको रूपमा प्रकट भएको छ । विगतमा धेरै कम्युनिष्ट पार्टीहरू भए पनि नारायणमान बिजुक्छेको नेतृत्वको नेमकिपा र विष्णुबहादुर मानन्धरको नेतृत्वको नेकपा संयुक्तले इतिहासमा स्थान बनाएका थिए । २०१५ सालमा चार स्थान जितेको कम्युनिष्ट पार्टी अहिले बहुमतका साथ सत्तामा पुग्ने, अन्यथा अल्पमतलाई आफ्नो प्रभावमा पार्न सफल हुने र शासन गर्ने अवस्थामा पुगेको छ ।
करिब साठी प्रतिशत मत नेपालका विभिन्न घटकका कम्युनिष्ट पार्टीहरूको पोल्टामा रहेको छ । स्वयं लोकतान्त्रिक आन्दोलनको मूल मियो नेपाली कांग्रेस कम्युनिष्ट पार्टीको वैशाखीबिना सत्तामा पुग्न नसक्ने गरी अपांग हुन पुगेको छ । २००३ सालदेखि नै स्थापित र इतिहासका अनेक परिघटनाहरू र परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेसमा केही सामान्य टुटफुट आए पनि वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण हुन सकेको छैन । किन होला ? यो प्रश्नमाथि गम्भीरतापूर्वक विचार गर्नुपर्ने समय भएको छ । निर्दलीय पञ्चायत कालमा भएको छिटफुट सत्ताको सिँढीमा चढ्न चाहने, आन्दोलन र संघर्षको यात्रामा थकितहरूको महत्वाकांक्षाको प्रतिविम्ब मात्रै थियो ।
२०४६ को परिवर्तनपछि गम्भीर अवस्थामा समेत तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले पार्टीलाई जोगाएको हुनाले केही समय कांग्रेसको शक्ति यथावत् रहृयो र विकल्पका सम्भावनालाई रोक्ने काम गर्यो । तर, २०५८ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको अहंकार र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ताकांक्षाको परिणाम नेपाली कांग्रेस विभाजित भएर विकल्पको सम्भावना देखिएको थियो । यो सम्भावनालाई माओवादीको आतंक, सातबुँदे सहमति र माओवादीको शान्ति प्रक्रियामा अवतरणसँगै माओवादीको कब्जाको अन्तर्निहित मनोदशाले पुनः कांग्रेस एकताको मार्गमा लाग्न विवश भयो । देउवा र कोइराला नेतृत्वका बीच एकता हुनु तत्कालको आवश्यकता भए पनि यसबाट सुदूर रूपमा कांग्रेसको हित देखिएन ।
कांग्रेस निर्विकल्प लोकतान्त्रिक पार्टी भएको र विकल्प नभएका कारण कांग्रेसको नेतृत्वले आन्तरिक निरंकुशता, असहमतलाई धुलोमा मिलाउने प्रयास मात्र गरेन पार्टी नेतृत्वको स्वेच्छाचारितालाई चुनौती दिनसक्ने पुस्ता वा व्यक्ति नै प्रकट हुन सकेको छैन । कांग्रेसको विकल्पमा लोकतान्त्रिक शक्ति निर्माणको प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुरुमा देखा परेको थियो । तर, नेता मात्रैको भिड र एकले अर्कालाई स्वीकार गर्न नसक्ने प्रवृत्तिगत यात्रासँगै सैद्धान्तिक अस्पष्टता र विचलनका कारण यो पार्टी जुनसुकै रूपमा पनि सशक्त हुन सकेन । २०५१ मा केही समय र २०७० मा केही वर्ष यसले ठूला दलका लागि आग्लो हुने अवसर पाएको थियो । अहिले नयाँ पुस्ताको आकर्षण छ तर पुरानो मुद्दाले यो पार्टीलाई लोकतान्त्रिक विकल्प हुन दिँदैन जस्तो देखिन्छ ।
डा.बाबुराम भट्टराईले एकपटक गहिरो प्रयास गर्नुभयो नयाँ शक्तिका नाममा तर छिन्नभिन्न हुँदै अहिले त उहाँ माओवादी नेतृत्वको शरणमा पुग्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी र समाजवादी पार्टीहरू त राष्ट्रिय रूपमा शक्ति आर्जन गर्ने बाटोमा भन्दा केही नेताहरूको तुष्टीकरणको भाँडो सिद्ध भइरहेका छन् । नेपाली कांग्रेसका केही पुराना र निष्ठावान् सदस्यहरूले नेपाली कांग्रेस (बिपी) लाई गठन गरेको भए पनि नेतृत्वको क्षमता र नीतिमा स्पष्टता देखाउन सकेको छैन यो पार्टीले । लोकतान्त्रिक आन्दोलनको विकल्प हुने प्रयासमा आएको साझा पार्टीको रथ चकनाचुर भएको अवस्था छ । यतिखेर गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तरंगले नेपाली कांग्रेस (बिपी) मा केही स्पन्दन भरेको देखिन्छ । स्थानीय निर्वाचनमा अन्यायमा परेका अनेक नेता र सदस्यहरू नेपाली कांग्रेसलाई परित्याग गरी बिपीमा संलग्न भएको हुनाले यसको शक्ति बढेको देखिन्छ ।
कांग्रेसका अनेक नेताहरूको गृहक्षेत्रमा आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाउने, उठ्नै नदिने, परिवारलाई स्थापित गर्न कारबाहीको खुँडा चलाउने र नेतृत्वमा पुगेपछि पार्टीका सदस्यहरूलाई कमारा जस्तो गर्ने प्रवृत्तिका कारण अरू धेरै व्यक्तित्व अलगअलग छन् । ती सबैका बीचमा लय मिलेको अवस्थामा र ऊ त्यो पार्टी पनि कुनै अर्को पार्टीसँग सहकार्यमा निर्वाचनमा उत्रियो भने विकल्प निर्माणको बाटो खुल्न सक्नेछ । अन्यथा नेपाली कांग्रेसको नेतृत्व अराजक, स्वेच्छाचारी, विवेकहीन, निरंकुश र अहंकारी हुने बाटोमा निर्विघ्न यात्रा गर्नेछ । अर्थात् फेरि पनि लोकतन्त्रको बाटोमा वैकल्पिक शक्ति निर्माण असम्भव हुन्छ । परिणामस्वरूप अरू केही वर्षमा लोकतान्त्रिक पार्टी कम्युनिष्ट पार्टीको दयामा जीवित हुनुपर्ने बाध्यता हुनेछ र कम्युनिष्ट पार्टीमा एकछत्र शासन र विपक्षको अवस्था देखिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका