आफैँले पालन गर्न नसक्ने अरूले पालन गर्नुपर्ने सिद्धान्त

Read Time = 16 mins

✍️ स्वयम्भुनाथ कार्की

सर्वसाधारण जनताको भलाइ तथा कल्याणकारी राज्य स्थापनाको अभिष्ट लिएर संसारमा अनेकौं राजनीतिक वादहरू प्रचलनमा छन् । प्रत्येक वादका कुरा सुन्दा, तिनीहरूलाई मनन गर्दा सबै जसो कर्णप्रिय र मन आनन्दित गर्ने किसिमका हुन्छन् । जब त्यसको कार्यन्वयनको कुरा आउँछ, त्यो सिद्धान्तका आधारभूत तत्व भनेर बताइएका कुराहरूको उलंघन त्यसै सिद्धान्तका अनुयायी दल र त्यसका सदस्यबाट भएको पाइन्छ । सैद्धान्तिक कुराहरूको सम्मोहनमा परेर जब कोही कुनै सिद्धान्तमा आफूलाई समर्पित गर्छ त्यसबेला उसले थाहा पाउँछ कि यो सिद्धान्त त व्यावहारिक रूपमा लागू गर्न सम्भव नै छैन ।

पुँजीवादको आर्थिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रताको कुरा कुनै मनमोहक संगीतबाट प्राप्त हुने आनन्दभन्दा कम छैन । यसै गरेर साम्यवादीहरूको सबैको आधारभूत भौतिक आवश्यकताको परिपूर्तिको जिम्मा लिने र त्यसका निमित्त व्यक्तिगत सम्पत्तिको उन्मूलन हुनुपर्ने कुनै स्वप्नलोकको वासभन्दा कम विल्कुलै छैन ।

त्यो कुरा लागू गर्न विशिष्ट परिस्थिति चाहिन्छ । सिद्धान्तको सम्मोहनले बसीभूत भएका र दलका नेतृत्व वर्गको बसीकरणले व्याप्त भएका व्यक्तिहरू आफूले मानेको सिद्धान्त सम्पूर्ण रूपमा कार्यान्वनयन गर्न पाएमा पैदा हुने भनेर देखेको राम्रो परिकल्पनाको परिपूर्तिको निमित्त सबै किसिमका प्रयत्न गर्न थाल्दछन् । उनीहरूको यो प्रयत्न अन्य सर्वसाधारणलाई पीडादायक हुन सक्छ, हिंसक पनि हुन सक्छ ।

पुँजीवादको आर्थिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रताको कुरा कुनै मनमोहक संगीतबाट प्राप्त हुने आनन्दभन्दा कम छैन । यसै गरेर साम्यवादीहरूको सबैको आधारभूत भौतिक आवश्यकताको परिपूर्तिको जिम्मा लिने र त्यसका निमित्त व्यक्तिगत सम्पत्तिको उन्मूलन हुनुपर्ने कुनै स्वप्नलोकको वासभन्दा कम विल्कुलै छैन । समाजवादको त सबैभन्दा आनन्ददायक देखा पर्दछ । निर्बलहरूको संरक्षण गर्ने र सबललाई निर्वलहरूमाथि अन्याय र अत्याचार गर्न रोकेर समतामूलक समाजको स्थापना गर्ने अनि सामाजिक न्याय स्थापना गर्ने कुरामा असहमति जनाउने कसको पो मन होला र ?

प्रजातान्त्रिक वा लोकतान्त्रिक पद्धतिको कुराको गर्दा व्यक्तिको अर्थात् नागरिक सर्वोच्चतालाई प्रथम तत्व मानिन्छ । ‘जनताले जनताको निमित्त जनताको शासन व्यवस्था’ यस पद्धतिको आधार हो । सबैको वैचारिक स्वतन्त्रता र सम्मान गर्ने भनेको यो लोकतान्त्रिक सिद्धान्तको अनुयायी दलको व्यवहार त्यस्तो देखिँदैन । आफैँलाई लोकतन्त्रको पर्याय घोषण गरेका लगायत प्रजातनन्त्रिक हौं भन्ने दाबी गर्ने दलहरूले व्यवहारतः तानाशाही कार्यप्रणाली अपनाएका छन् । अपवादमा पनि प्रजातान्त्रिक चरित्र भेटिँदैन ।

जनसाधारणको विचारको सम्मानको कुरा त परै जाओस् आफ्नै दलका साधारण सदस्यहरूको कुराको पहुँच पनि नेतृत्व वर्गसम्म छैन । जब विचार राख्ने पनि अवसर छैन भने त्यसको सम्मानको त कल्पनासम्म हुन सम्भव छैन । लोकतन्त्रमा छनौटको प्रक्रिया सदस्यहरूको सहभागितामा बहुमतको आधारमा हुनुपर्दछ । दलभित्र खानापुरीको निमित्तमात्र यो पद्धति कायम रहेको भेटिन्छ, छद्म अभ्यास भन्न सकिने गरेर ।

नेपालीमा उखान छ ‘धन देख्दा महादेवका तीन नेत्र’, यससँग मिल्ने वाक्यांश अन्य भाषामा पनि पक्कै होलान् । सनातनमा सबैभन्दा फक्कड र दिनमा लोभ फिटिक्कै नगर्ने देवमा महादेव आउँछन् । त्यस्ता देवमा पनि धनले लोभ पैदा गर्न सक्छ भन्ने आशयको यो उखानअनुसारको प्रवृत्ति संसारभर नै छ । अझ कुनै धन मिहिनेत नगरी प्राप्त हुने भयो भने त धेरै मान्छे जे पनि गर्न तयार हुन्छन् । मान्छेको यो स्वभावजन्य कमजोरीको फाइदा समाजवादले उठाएको छ । साम्यवादको सङ्गठन निर्माणको त प्रमुख हतियार नै यही हो कि भएकाहरूबाट खाटेसेर बाँड्ने कुरा । यो कुरा सामाजिक न्यायको निमित्त ठीक मान्न सकिन्छ । तर, व्यवहारतः भएका र नभएकाहरू छुट्याउने जिम्मेवारी लिनेको स्वविवेक चल्छ ।

त्यसो हुँदा परिस्थिति रिझाउनेलाई वरदान दिने र नरिझाउनेलाई कजाउने संस्कृति मौलाएको भेटिन्छ । यसरी नै साम्यवादी सिद्धान्तको आधारभूमि आर्थिक समानता हो । त्यसका निमित्त सम्पत्तिको निजी स्वामित्वको अन्त्य आवश्यक काम हो । त्यसपछि कामदारहरूको कामको सुनिश्चितता तर त्यस श्रमको अवसरले आधारभूत भौतिक आवश्यकताको समान परिपूर्तिको सिद्धान्त बोकेका साम्यवादी नेताहरूको विलासी जीवनशैली छ ।

उनीहरूले शोषक तथा सामन्ती भनेर वर्ग शत्रु तोकिएकाभन्दा धेरै नै विलासी जीवनशैली छ । अर्काले संकलन गरेको पुँजी शोषण हो भन्ने सावित गर्न साम्यवादका सबै साहित्यहरू समर्पित भएका छन् । यस्ता सम्पत्ति खोसेर समान वितरण गर्ने कुरामा जसको सम्पत्ति खोसिनेमा पर्दछ त्यसबाहेक अन्य सबैले समर्थन नै नगरे पनि विरोध करिब शून्य नै हुन्छ । अपवाद छोड्ने हो भने यस्ता साम्यवादी अनि समाजवादी नेताहरू प्रायश सम्पत्तिवाल नै हुने गर्दछन् । अझ कतै कतै त नेता भएपछि नै सम्पत्ति जोडेको उदाहरण पनि भेटिन्छन् ।

कसैको विरोधमा जनसाधारण उतार्नु परेमा अरू कुराभन्दा आर्थिक कुरा धेरै प्रभावकारी हुन्छ । शायद यही प्रचारको कारणले होला सबै जसो आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा साम्यवादतर्फ आकर्षित हुन्छन् भन्ने कुरा विभिन्न व्यक्तित्वहरूका जीवनीको अध्ययनले देखाउँछ । सुन्दामा आकर्षक लाग्ने यस्तो नारा साम्यवादी नेताहरूले आफैँ व्यवहारमा ल्याएको भने पाइँदैन । यस्तो अरूलाई मात्र अर्ति दिने आफूले भने मान्नु नपर्ने सिद्धान्त आर्थिक कुरामा मात्र सीमित छैन । नेपालका प्रमुखको पद थामेका व्यक्तिले पनि आफूले काम गर्दा गरेका मोलाहिजालाई अहिले अरूले त्यस्तो नगर्नू भनेर लगातार उपदेश दिइरहेका छन् ।

आफू कार्यक्षेत्रमा हुँदा गरेको काम अहिले आफू कार्यक्षेत्रमा नहुँदा र अर्काले गर्दा गलत भयो भनेको कुरालाई सर्वसाधारणले कुन रूपमा लिने हुन् भन्ने धक पनि नमानीभन्दा अर्ति सजिलो तर पालन शून्य भएको प्रष्ट देखिन्छ । यही शृंखलाको अर्काे कडीका रूपमा मिसन पत्रकारितालाई लिन सकिन्छ । आफूले मिसन पत्रकारिता गरेर वरिष्ट भएकाहरू अहिले नवोदित पत्रकारहरूलाई मिसन पत्रकारिता पीत पत्रकारिता हो भन्ने उपदेश दिन्छन् ।

विद्यार्थीहरूलाई भविष्यको संवाहक भनेर राजनीतिमा होमेर तिनैको बलमा शक्ति हासिल गरेकाहरू अहिले विद्यार्थी राजनीतिलाई आफ्नो काल देख्दैछन् र नयाँ सिद्धान्त दिँदैछन् विद्यार्थीले राजनीति गर्नु हुँदैन । यो शिक्षक र कर्मचारीमा पनि लागू भएको छ । अर्थात् आफूले चढेको भर्‍याङ अरूले चढ्न नपाऊन् भन्ने सोच । पेशागत संगठन भनेर विभिन्न पेशा वा समूहको हितका निमित्त आएका संगठनका रूप हेर्दा त अझैँ कहाली लाग्दछ । विद्यार्थी संगठनहरूमा क्रियाशील व्यक्तिहरू हेर्ने हो भने उनीहरूमध्ये अधिकांश वर्तमानमा विद्यार्थी नै होइनन् । मजदुर संगठनको नेतृत्वमा रहेकाहरूले काम गर्ने कारखाना कुन हो सो कुरा सामान्य व्यक्तिहरूको नजरले त थाहा पाउन सक्दैन ।

किसानका नेताहरूले त खेतको धुलो वा हिलो देखेको कुरामै शङ्का व्यक्त गर्न सकिन्छ, धुलो हिलो टेक्ने त निकै परको कुरा हो । यसरी हरेक क्षेत्रका पेशागत वा वर्गीय संगठनहरूको बनौट र स्वभाव हेर्दा जुन पेशा वा वर्गको हितको बहानामा गठन भएको छ उसैको पहुँच नभएको स्पष्ट देखिन्छ ।

साम्यवादी नेताहरूलाई आफ्नो सम्पत्तिबाटै साम्यवादको कार्यान्वयन गरौँ न भनेर कसैले भन्यो भने उनीहरूको जवाफ हुन्छ पहिले विभिन्न चरणको क्रान्ति हुन्छ । त्यसले पुँजीवादी समाजवाद स्थापना गर्दछ । त्यसपछिको चरण मात्र साम्यवाद हो । त्यो चरण आइपुग्न अझैँ कुस्त समय बाँकी छ । त्यसै गरेर आफ्ना पालामा त तपाइँले यो सबै गर्नुभयो अहिले चाहिँ किन नहुने भनेर सोध्यो भने त्यतिखेर समयको माग थियो र अहिले त्यो माग छैन भन्ने जवाफ हाजिर हुन्छ जुन सिद्धान्तअनुसार आचरण गर्ने अवस्था आउन युगौं लाग्छ, जुन सिद्धान्त एक वर्षमा उचित अर्को वर्षमा अनुचित जस्ता चक्रीयतामा आधारित हुन्छ त्यसलाई सिद्धान्त नै मान्न सकिँदैन ।

आज र आफैँमा लागू गर्न नसकिने सिद्धान्त भनेको आफू ठालु भएर अन्य सबैलाई आफ्नो दास बनाउने प्रपञ्च हो । हिजो ठीक र आज बेठीक भन्ने कुरा मेरो मात्र स्वाथ्र्य सिद्धि गर्न पाऊ भन्ने दूराग्रह हो । कुनै सिद्धान्तका प्रतिपादक, त्यसका समर्थक तथा त्यसका प्रचारकहरू आफैँले त्यो सिद्धान्त अवलम्बन गर्न सक्दैनन् भने त्यसलाई कस्तो सिद्धान्त भन्ने ? त्यसैले त्यो सजिलो अर्ति पालन शून्य, नचाहिँदो सिद्धान्त हो ।

साम्यवादी नेताहरूलाई आफ्नो सम्पत्तिबाटै साम्यवादको कार्यान्वयन गरौँ न भनेर कसैले भन्यो भने उनीहरूको जवाफ हुन्छ पहिले विभिन्न चरणको क्रान्ति हुन्छ । त्यसले पुँजीवादी समाजवाद स्थापना गर्दछ । त्यसपछिको चरणमात्र साम्यवाद हो ।

अब यस्तो नेता जो आफैँले पूरा गर्न नसक्ने राजनीतिक सिद्धान्त बोक्छ, त्यसको भार थाम्न सकिँदैन भनेर भन्ने बेला भइसकेको छ । यस्तो परिस्थिति निर्माण भएपछि वा यस्तो गरिसकेपछि मात्र यो स्वप्नलोक र त्यसको फाइदा पाइन्छ भनेर आफूले अहिलेको व्यवस्थाको सम्पूर्ण लाभ लिने र सर्वसाधारणले त्याग र बलिदान गर्नुपर्छ भनेर आदर्श बखान गर्नेहरूलाई सोध्ने बेला भइसकेको छ कि ‘हामी तिमीहरूको दास हौँ र तिमीहरूको भलाई र उन्नतिको निमित्त त्याग गर्नुपर्ने ?’ कुनै पनि सामाजिक वा राजनीतिक पद्धति सर्वसाधारणको भलाइको निमित्त हो भने त्यस पद्धतिको भलाइको निमित्त सर्वसाधारणले मात्र सधैं त्याग गर्नुपर्ने अवस्थाको अन्त्य हुनै पर्दछ ।

व्यवहारमा तुरुन्त लागू गर्न नसकिने, सर्वसाधारणको भन्दा अगुवाहरूको भलो हुने र उनीहरूको निमित्त सर्वसाधारणले सधैं दिइरहनुपर्ने व्यवस्था सर्वसाधारणको हुनै सक्दैन । बरू व्यासाशनमा बसेर पण्डितले भनेको पुराण आध्यात्मवाद र परत्र सुधार्न उपयोगी होला तर भाषण छाँट्ने आफैँले व्यवहारमा ल्याउँन नसक्ने सिद्धान्तहरूले केही सुधार्दैन सिवाय नेताहरूको जीवनस्तर । जनताको रगत पसिनाको कमाइबाट हिस्सा लिएर अगुवाको काम स्वीकारेकाले सधैँभरि भोको पेट बसेर भए पनि जनताले आफूहरूलाई मार्ग दर्शन गरिरहनुपर्दछ भनेर गरेको आग्रह नकच्चरोपनको परकाष्टा हो ।

यदि कोही जनताको सम्पत्ति कर वा चन्दाबाट लिएर आफ्नो जीवनयापन गर्न छोडेर अरूसरह अन्य मिहनितेले पालिएर अगुवाको जिम्मेवारी लिन्छ भने त्यो स्तुत्य छ । त्यस आदरणीय प्राणीलाई कोटी कोटी नमन पनि जनताले गर्नै कर लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?