-रामचन्द्र रायमाझी
पाल्पा । तानसेनका तुल्सीराम पोखरेल जिल्लाका नमूना कृषक हुनुहुन्छ । उहाँले भैसी पालनबाट दूध विक्री गर्दै आउनु भएको छ । उहाँको परिवार दुध बेचेर आएको आम्दानीमै आश्रित छ । विहानदेखि बेलुकासम्म कडा मेहनत गरी भैसी पाल्दै आउनुभएका पोखरेलले तानसेनका डेरीमा दूध विक्रीको लागि पठाउने गर्नुहुन्छ । तर उहाँले दुधको उचित मूल्य भने पाउन सक्नुभएको छैन । दूधको मूल्यमा विचौँलियाको हालिमुहाली त छदै छ, उता सरकारी अनुदानसमेत एउटै व्यक्तिलाई पटक–पटक विभिन्न नाममा दिदा उहाँ जस्ता कृषक मारमा पर्दै आएका छन् । यहाँका कृषकबाट सस्तोमा दूध खरिद गरी विचौलियाले धेरै नाफा कमाए । तर कृषक कहिल्यै उँभो लागेनन् । न त कृषको जीवनस्तर माथि उठ्न सक्यो न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि विचौलियाहरुको फन्दामा परेका तानसेनका कृषकले भने अहिले आफै दूध डेरी खोलेर उचित मूल्य पाउनुको साथै उपभोक्तालाई सस्तो र राम्रो दूध दिन थालेका छन् ।
नगरभित्रका कृषकहरु मिलेर तानसेनमा सस्तो दूध डेरी सञ्चालनमा ल्याएका छन् । तानसेनका उपभोक्तालाई सस्तो र गुणस्तरीय भैसीको दूध उपलब्ध गराउने अभियानका साथ कृषकहरुको सञ्जाल तानसेन दूग्ध उत्पादक समूहले तानसेन नगरपालिका–२ असनटोलस्थित महेन्द्रबोधी विद्यालयको गेटमा दूध डेरी सञ्चालनमा ल्याएको हो । तानसेन बजारमा भैंसीको दूधको अत्याधिक माग रहेकाले बजारका उपभोक्तालाई लक्षित गरी समूहले तानसेनमा दूध डेरी सञ्चालनमा ल्याइएको जनाएको छ । समूहले बजार मूल्य १ सय ५ रुपैयाँ प्रति लिटरमा भैसीको दूध विक्री शुरु गरेको छ । अहिले बजारमा अन्य दूध डेरीहरुले १ सय १० रुपैयाँमा भैसीको दूध विक्री गर्दै आएका छन् । तानसेनका कृषकहरु मिलेर समूह–समूह बनाएका छौं सोही समूहबाट मूल समूह निर्माण गरी विचौलिया विहीन तरिकाले कृषकहरुले आफ्नो उत्पादनको मूल्य आफै राख्ने, निश्चित नाफा राखेर आफै विक्री गर्ने, उपभोक्तालाई अन्य दूध डेरीले भन्दा सस्तो दरमा विक्री गर्ने, व्यवस्थापकिय खर्च कटाएर बचेको रकम सहकारी मार्फत कृषकहरुलाई नै वितरण गर्ने गरी काम शुरु गरेको समूहका अध्यक्ष तुल्सीराम पोखरेलले बताउनुभयो । तानसेन नगरपालिका, हेफर प्रोजेक्ट, युएनडिपी र ग्रामीण आर्थिक विकास संघ रेडाको सहयोगमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना मार्फत सञ्चालन भएको दूध डेरीले नाप जाँच सहितको गुणस्तरीय भैसीको दूध आगामी दिनमा १ सय रुपैयाँमा विक्री गर्ने लक्ष्य लिएको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले उपभोक्तालाई लिटरमा कम्तीमा १० रुपैयाँसम्म सस्तोमा भैसीको दूध उपलब्ध गराउने गरी गृहकार्यमा जुटेका छौं ।’ समूहले आगामी दिनमा दूधका सबै किसिमका परिकारहरु, स्थानीय उत्पादन तरकारी समेत विक्री गर्ने जनाएको छ । सस्तो दूध डेरीको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप–प्रमुख प्रतिक्षा सिंजाली र निवर्तमान प्रमुख अशोककुमार शाहीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा नगर प्रमुख श्रेष्ठले तानसेनको ७० प्रतिशत भू–भाग ग्रामीण क्षेत्र रहेकाले कृषि र पशुपालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । तानसेनको विकास र पहिचान कृषि र पशुपालन क्षेत्रबाट मात्र सम्भव भएकाले सोही अनुसारको काम जनप्रतिनिधीबाट हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उप–प्रमुख प्रतिक्षा सिंजालीले तानसेनका जनतालाई गुणस्तर र सस्तो दरमा उपभोग्य सरसमान उपलब्ध गराउन नगर सरकारको दायित्व भएकाले अहिले दूधबाट शुरु भएको बताउनुभयो । यस्ता दूध डेरीहरुलाई नगर सरकारले आवश्यक सहयोग प्रदान गर्ने उप–प्रमुख सिंजालीको भनाई छ ।
निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले विकास निर्माण भनेको बाटो, घाटो भवन मात्र नभई नगरका जनतालाई दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने, उत्पादन, आय आर्जन र श्रमसँग जोडिने र स्वरोजगार बनाउने काम कृषि र पशुपालनबाट मात्र सम्भव रहेको निजी साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु उद्यमशिलता परियोजना तानसेन नगरपालिकाले शुरु गरेको बताउनुभयो । यो अभियानबाट प्रत्यक्ष रुपमा ४ सय र अप्रत्यक्ष रुपमा ८ सय भन्दा बढी व्यक्तिहरु लाभान्वित भएको निवर्तमान नगर प्रमुख शाहीले बताउनुभयो । कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले तत्काल डेरीमा पद्मेटारी, चवनवारी, छेर्लुङ्ग र तिलाहार क्षेत्रको ५ सय लिटर भैसीको दूध संकलन भएको र आगामी दिनमा तानसेनका अन्य भागका कृषक र रिब्दीकोट क्षेत्रको दूध संकलन हुने बताउनुभयो । यो दूध डेरीका कृषकसँगै तानसेन नगरपालिका सहित हेफर, युनडिपि, रेडा जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सहभागिता रहेकाले गुणस्तरमा ढुक्क भएर दूध प्रयोग गर्न नगरवासीलाई निर्देशक कार्कीले अनुरोध गर्नुभयो । तानसेनमा चिनारी दूग्ध उत्पादक सहकारी संस्था, डुम्रे दूग्ध उत्पादक सहकारी संस्था, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था र निजी रुपमा श्रीनगर डेरी, गोरस घर डेरीले दूग्ध कारोबार गर्दै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका