साग स्वर्णधारी सन्तोषी सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ सम्मानित हुनुभएको छ । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बुद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेक्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराइदिन आयोजकसँग अनुरोध गर्नुभएको थियो । सन्तोषीले १३ औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जित्नुभएको थियो ।

सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा द्रुक अन्तर्राष्ट्रिय सितोरियो कराँते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

त्यस्तै ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्वधाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्वधाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्वखेलाडी नरबहादुर थापा पनि सम्मानित हुनुभएको थियो ।

त्यसै अवसरमा वरिष्ठ संगीतकार एवं गायक पुष्प गजमेर, गीतकार तथा भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष खेम रिजाल, संगीत संयोजक जीवनप्रकाश प्रधान र गायक तथा संगीतकार प्रताप सुब्बालाई पनि सम्मान गरियो ।

उहाँहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्वधावक एवं रचनाकार बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?