केन्यामाथि नेपालको कीर्तिमानी जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केन्यामाथि नेपालले कीर्तिमानी जित हात पारेको छ । सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि-२० अन्तर्राष्ट्रिय खेलमा केन्यामाथि ४ विकेटको जित हात पारेको हो । यो जितसँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।

जितको लागि १५७ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । यो नेपालले टि-२० अन्तर्राष्ट्रियमा पूरा गरेको सर्वाधिक ठूलो योगफलसमेत हो । यसअघि नेपालले २०१९ मा सिंगापुरविरुद्ध १५२ रनको लक्ष्य हासिल गरेको थियो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन जोड्नुभयो । यस्तै रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्कासहित २९ रन जोड्नुभयो । डेब्यू खेल खेल्नुभएका अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्नुभयो ।

दीपेन्दसिंह ऐरी ६ रनमा क्याच आउट हुनुभयो । पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी भएको थियो । पवनले १२ बलमा ३ चौका र १ छक्कासहित २० रन जोड्नुभयो ।

पाँचौं विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले ५४ रनको साझेदारी भएपछि नेपाल जिततर्फ अग्रसर भएको हो । आदिल अन्सारी ७ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट हुनुभयो । आरिफ शेखले चौका प्रहार गर्दै विजयी रन बटुल्नुभएको थियो । केन्याका विरज पटेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । केन्याका रकिप पटेल ४३ बलमा ५ चौका र ४ छक्कासहित ७३ तथा विकेटकिपर इफरान करिमले ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रन जोड्नुभयो ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चदा कुनै विकेट लिन सक्नुभएन । यस्तै दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ३१ रन खर्चिनुभयो । सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चेर १ तथा आदिल अन्सारीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिनुभयो ।

नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार र पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?