नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गत साल २०७८ भरी प्रकाशित कृतिमध्ये डा.नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ । मदन पुरस्कार गुठीको साधारणसभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । कवि, गीतकार तथा हाल रेडियो नेपालको समाचार महाशाखा प्रमुख भएर सञ्चारकर्मीका रूपमासमेत कार्यरत डा.लम्सालका धरा, कर्णलगायत महाकाव्यसमेत प्रकाशित छन् ।

यसैगरी गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार वनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आउनुभएको छ ।

दुवै पुरस्कारको राशी जनही चार लाख रूपैयाँ छ । यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ । गुठीका अनुसार २०७८ सालको मदन पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएका थिए । त्यसको सर्ट लिष्टमा आठजना छनोट भएका थिए । डा.लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा.नीलमणि ढुंगानाको ‘संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ उत्कृष्ट आठमा छानिएका थिए । यीमध्ये निर्णायक मण्डलले अग्निलाई पुरस्कारका लागि छनोट गरेको हो ।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो । गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार रूपैयाँ रहेकोमा २०७५ सालदेखि चार लाख रूपैयाँ भएको थियो । यसैगरी गुठीले रानी जगदम्बाको स्मृतिमा ‘जगदम्बा–श्री’ सम्मान २०४५ सालमा स्थापना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?