देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर आफूमा देख्नुपर्छ

Read Time = 11 mins

✍️ ओम आचार्य

मंसिर ४ गते निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँड्फाड अरू पेचिलो बन्दै गइरहेको छ । गठबन्धनभित्र रहेका दलहरूमा के विश्वास छ भने गठबन्धनबाटै टिकट पाए निर्वाचित हुने ठानेका छन् । यसै कारण सिट बाँड्फाड पेचिलो बनेको हो । यसको अर्थ गठबन्धनले निर्वाचन प्रभावित पार्ने कुरा बुझ्नुपर्छ । निर्वाचन र निर्वाचनको परिणामले देशको लोकतन्त्रमा जन विश्वास र सुशानको पनि मापदण्ड गरिन्छ । तर अहिलेको गठबन्धनभित्र वामपन्थी विचार बोकेका समेतको दरो उपस्थितिमात्रै होइन यिनीहरूको गठबन्धनभित्र अर्को गठबन्धनले मंसिर ४ को निर्वाचनसमेतमा आफ्नो अनुकूलको सिट बाँड्फाड हुनेगरी नेपाली कांग्रेसलाई निर्वाचनमा निर्वाचित भएर आउनेहरूको संख्यामा सकेसम्म कम गराउने रणनीति अख्तियार गरेको देखिँदै छ ।

देशमा लोकतान्त्रिक व्यवस्थामा जनविश्वास र जनआधारको साथै न्याय एवं सुशासन पनि हेर्ने आधार नेपाली कांग्रेस नै हो वामशक्तिबाट पटकपटक लोकतन्त्र र संविधानको मर्ममा गरेको प्रहारको आधारबाट अहिलेको पाँच दलीय गठबन्धनबाट देशमा सुशासन र लोकतन्त्रको संरक्षण हुनसक्छ भन्न सकिँदैन । गठबन्धनले निर्वाचनमा प्रजातन्त्र र लोकतन्त्रमा आस्था रहेको मतलाई देखाउँदैन देखाउँछ त गठबन्धनभित्र रहेको अन्य दलको समेत मत देखिन्छ र त्यसमा नेपाली कांग्रेसको समेत मत देखिन्छ । त्यसले देशमा प्रजातन्त्र वा लोकतन्त्रप्रति कति आस्थावान छन् कति कांग्रेसप्रति जनआधार छ त्यो गठबन्धनले प्रभावित पार्नेछ ।

पाँच दलीय गठबन्धनले भोलि कांग्रेसमा अन्तरघात, विचलन र पार्टी विग्रह पनि गर्न सक्ने अवस्था आउन सक्छ त्यसको मूलकारण प्रचण्ड र माधव नेपालको रणनीति हुनसक्छ । किनकि वामशक्तिहरू सधैँ प्रजातन्त्र र लोकतन्त्रमा घात गर्ने शक्ति हुन् ।

यसले निर्वाचन प्रभावित गर्नेछ । प्रजातन्त्रमा गठबन्धनको नाममा कुनै कारणबाट निर्वाचन प्रभावित, प्रचारित या प्रसारित गरिन्छ भने त्यसले निर्वाचन स्वस्थ्य र निष्पक्ष हुन दिँदैन । त्यस्तो प्रकारको निर्वाचनले देशमा दिगो राजनीतिक शासन प्रणाली दिन सक्दैन र गणतन्त्रात्मक सविधानमा नै प्रश्न चिहृन लाग्न सक्छ । यसभन्दा पूर्वएमाले र माओवादीको गठबन्धनले निर्वाचनमात्रै प्रभावित पारेन दुई तिहाइको सरकारसमेत गिर्न पुग्यो र जनमानसमा गणतन्त्र र संविधानमा प्रश्न नै उठाइयो । यसको मूल कारण हो लोकतन्त्र र प्रजातन्त्रामा सदैव क्रियाशील रहेको नेपाली कांग्रेस अत्यन्त कमजोर अवस्थामा प्रतिपक्षी रहनु पनि हो ।

अहिले पुनः पाँच दलीय गठबन्धनले यस्तै अवस्था भित्रिने खतरा देखिँदै छ । यो गठबन्धन निर्माण र उद्देश्य नै नकारात्मक भाव र विचारबाट अभिप्रेरित छ । मात्रै नेकपा एमालेलाई कमजोर तुल्याउनु हो र यसमा विशेष गरेर प्रचण्ड र माधव नेपालको द्वेषपूर्ण राजनीतिक प्रतिशोधमात्रै हो यही अभिष्ट पूरा गर्न नेपाली कांग्रेसलाई प्रयोग गर्‍यो ।

भोलि निर्वाचनको परिणामपछि नेपाली कांग्रेसको अवस्था कस्तो हुन्छ त्यसको लेखाजोखा र राजनीतिक अध्ययन कांग्रेसले गरेको छ कि छैन । गठबन्धनको नाममा नेपाली कांग्रेसले सिट बाँड्फाडमा आफ्ना कार्यकर्ताको व्यवस्थापन कसरी गर्छ र गर्न नसक्दाको परिस्थितिको कसरी आकलन गरेको छ त्यो पनि अहिले नै विचार पुर्‍याउनुपर्नेछ ।

पाँच दलीय गठबन्धनले भोलि कांग्रेसमा अन्तरघात, विचलन र पार्टी विग्रह पनि गर्न सक्ने अवस्था आउँन सक्छ त्यसको मूल कारण प्रचण्ड र माधव नेपालको रणनीति हुनसक्छ । वाम शक्तिहरू सधैँ प्रजातन्त्र र लोकतन्त्रमा घात गर्ने शक्ति हुन् र त्यसका लागि पहिले कांग्रेसलाई कमजोर बनाउनु बनाउँदै लैजानु र त्यहाँभित्र द्वन्द्व पैदा गर्नु मुख्य उद्देश्य वामशक्तिको रहन्छ । अहिले कांग्रेसभित्र यस्तै दृश्य देखिँदैछ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर कस्तो बन्न चाहन्छन् ?
पार्टी सभापति एवं प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले यो विषयमा कति गम्भीरतापूर्वक लिनुभएको छ त्यो निर्वाचनपछिको नतिजाले परिणाम देखाउला । पहिलो कुरा त नेपाली कांग्रेसले आस्था राखेको विश्वास गरेको सभापति देउवामा त्यो आस्था र विश्वासले आफू अपमानित हुन नपरोस् । त्यो आस्था र विश्वास बोकेका कांग्रेसजनको देउवाका कारण शिर नझुकोस् । काङ्ग्रेसप्रतिको आस्था देउवाका कारणले दयनीय बन्नु नपरोस्, देउवाका लागि यो अन्तिम अवसर हो कांग्रेसलाई उठाउने । देउवा आफ्नो कस्तो इतिहास बनाउन चाहन्छन् यसभन्दा पूर्वबनेको इतिहास अझ बिगार्ने हुन् कि अझ सबल र सक्षम हुँदै गर्व गर्न लायक हुने हुन् ।

देउवाको नेतृत्वमा बनेको सरकार उनकै डिजाइनमा भइरहेको गठबन्धन उनैलाई घातक नहोस् अर्थात कांग्रेसलाई घातक नहोस् । अहिले गठबन्धन देउवाको पकडभन्दा पनि प्रचण्डको पकड देखिनुले कांग्रेसमा निराशाजनक स्थिति देखिँदै छ । अहिले कांग्रेसको भर देउवामा मात्रै होइन देउवाले आफ्नो भर कांग्रेसमा देख्नुपर्छ त्यो धारणा देउवाले आफूमा धारण गरे कांग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउँदै जाने छ, यो कुरा सबैले बुझ्नुपर्छ । त्यसभन्दा पनि सभापति रहेका देउवाले अझ बढी बुझ्नुपर्छ ।

अहिले कांग्रेस सभापतिसमेत रहेका देउवाप्रति कांग्रेसको विश्वास र आस्थाले कांग्रेसको भोलि चरित्र अझ खराब हुने हो कि सफा हुने हो त्यस आस्था र विश्वासले कांग्रेसको मार्ग सुगम र सरल हुने हो कि अझ विकट, कांग्रेसलाई देउवाले चौरस्तमा छोडेर जान्छन् कि मार्ग पहिचान गराउँछन् अब देउवामा यस्तै प्रश्न आउँछ र त्यसको उत्तर स्वयं देउवाले दिनुपर्छ । देउवाको यही उत्तरले देउवा कस्तो बन्ने भनेर उनको भविष्य निर्धारण गर्छ ।

अहिले कांग्रेसको भर देउवामा मात्रै होइन देउवाले आफ्नो भर कांग्रेसमा देख्नुपर्छ त्यो धारणा देउवाले आफूमा धारण गरे कांग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउँदै जाने छ, यो कुरा सबैले बुझ्नुपर्छ ।

देउवामा अर्को संकट पनि नजिकिँदै गरेको देखिँदै छ यो संकटको सूत्रधार देउवा नभएर प्रचण्ड हुन् । राष्ट्रपतिबाट परिमार्जनका लागि पठाएको नागरिकताको विधेयक पुनःजस्ताको तस्तै पठाएपछि अप्ठ्यारो अवस्था आएको हो र यसरी पठाउनेमा प्रचण्डको विचार अभिव्यक्तिले काम गरेको छ । अहिले राष्ट्रपतिबाट राजिनामा दिनेसम्मको समाचार सामाजिक सञ्जालमा आएपछि देउवामा संकट देखिन सक्छ । त्यसको प्रभाव अर्थात् नकारात्मक प्रभाव कांग्रेसमा आउन सक्ने हो र यहाँनेर वामशक्ति अर्थात गठबन्धनभित्रका वामशक्तिले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने छन् र यो प्रकरणमा प्रचण्ड र माधव नेपाल तथा नेकपा एमालेको निहित स्वार्थ पूरा हुनेछ । यसमा यिनीहरूको अप्रत्यक्ष मोर्चा जस्तो हुन सक्छ ।

अहिले देउवामा गठबन्धनभित्रका सहयात्री र प्रतिपक्षमा रहेको नेकपा एमाले दुवैको बन्धनभित्र पर्ने अवस्था आउन सक्ने भएकाले देउवाले सुझबुझ र चातुर्य देखाउनुपर्नेछ । यसका लागि यिनले आफ्ना राजनीतिक गुरु बिपीलाई अन्तस्करणबाटै सम्झेर मार्ग खोज्दै ‘देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर आफूमा’ देख्नुपर्छ यो सोचले अगाडि बढ्ने हो भने यिनले आफ्नो विगत र आदत दुवै सुधार्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?