-रामचन्द्र रायमाझी
पाल्पा । तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाँचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तर हिजो आज भने एक महिना अघिदेखि नै दर खाने र नाँच गान गर्ने गरिन्छ । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटार जस्ता कुराले तिज मौलिक चाड हो भन्ने कुरालाई बिर्साइदिएको छ ।
विगतको विरासतलाई आजको तिजले धान्न सकेको छैन । ‘हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तिज । सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, असल भाइचाराको गाँठो कसिलो बनाउने, चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तिज । सायद, यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई । तर, आज यो अवस्था रहेन । हुने खानेहरूलाई त यसले राम्रै गर्ला तर, हुँदा खाने नेपाली समाजका अन्य महिलाहरूलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने गरेको छ ।
गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर–घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तिजको मौलिकता । तर अहिले यो मौलिक पर्व केही सम्भ्रान्त र नवधनाढ्य वर्गका महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको छ ।
गुल्मी इस्माकी ७५ वर्षीया प्रेमा खत्री तिजको मौलिकता हराएकोप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बर्खा (असार–साउन)मा कामले लखतरान बनाउँथ्यो । भदौमा भने अलिक फुर्सद मिल्थ्यो । मनमा एक खालको उमंग छाउँथ्यो । धानका गाभा हरियो बन्दै जान्थे । खोलानाला उर्लिरहेकै हुन्थे । त्यो बेला बहिनीलाई दर खुवाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे । तब कोसेलीपात बोकेर माइत गइन्थ्यो तर आजभोलि भने त्यस्तो छैन ।’ माइतीमा दर खाँदै छमछमी नाचेको सम्झना उहाँ गर्नुहुन्छ । घिउमा बेसारसहित चामल राखेर पकाएको चाम्रे, तिलको छोप राखेको अचार, मासुका परिकार उहाँको सम्झनामा छ । उहाँ सानो छँदा आमा र भाउजुहरूसँग तिजको अघिल्लो मध्यरात दर खाएको सम्झना गर्नुहुन्छ । आफूले छोरीहरूलाई उसरी नै दर खुवाउने गरेको खत्री बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हिजो आज भने एक महिना अघिदेखि नै दर खाने र सुनका गहनामा सजिएर हिड्छन् ।’
उहिलेको तिज र अहिलेको तिजमा धेरै नै फरक आएको खत्रीको बुझाई छ । नयाँ पुस्ताले तिजलाई फड्किलो बनाएको पाल्पा तानसेनकी ६५ वर्षीया मेनुका न्यौपानेको भनाई छ । उहाँ भन्नुहुन्छ ‘उहिले उहिले त हुने खानेले मिठो मसिनो र नहुनेले आफुसँग जे छ त्यही मिठो बनाएर खाने गरिन्थ्यो, अहिले जस्तो महिनादिन अघिदेखि नै दर खाने चलन थिएन ।’ तिजका गीत पनि कस्ता हुन् उहाँले भन्नुभयो ‘सुन्न पनि लाज लाग्न थाल्यो ।’ उहिले तिजमा गाइने गीतमा सासु, बुहारीका बेदना, दुख, पिर र पीडाहरुलाई गीतमार्फत पोख्ने गरेको खत्री सुनाउनुहुन्छ । उहाँ भन्नुुहुन्छ ‘दर, अर्को दिन ब्रत बस्दा भोक नलागोस् भनेर खाने गरिन्थ्यो, अहिले त एक महिनाअघिदेखि नै खान थाले ।’ तिज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौदेखि मनाउन थालिएको हो । तर आजभोलि तिज पर्व मौलिक संस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अलि फरक बन्दै जाँदा पुराना पुस्ताहरु चिन्तित बन्दै गएका हुन् ।
हराए तिजका पुराना भाका
पारीपारी आएका छाते टोपी लाएका
भैया हाम्रा होलान् की लिन आएका...
पाल्पा बगनासकालीकी ४५ वर्षीया फूलमाया न्यौपानेलाई यि गीत अहिले पनि सम्झना छ । उहाँ भन्नुहुन्छ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन् ।’ गुल्मी इस्माकी ७२ वर्षीया पार्वती पाण्डेलाई तिजका गीत बज्यो कि रमाइलो लाग्ने गर्छ । तर हिजो आजका गीत सुन्दा भने उहाँलाई रिस उठेर आउन्छ । अहिले तिजका गीत सुनि नसक्नु भएको उहाँको गुनासो छ । ‘तिजका नाममा छाडा गीतहरू निस्किएका छन् । कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तिज गीतमा अचेल यो स्वाद भेटिँदैन । सुनिनसक्नु छ अचेलका तिज गीत’उहाँ भन्नुहुन्छ ।
उहाँले भने जस्तै भाउजू–नन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तिजमा गाइने पुराना लयका गीत आजभोलि गाउँ–घरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तिजका गीत मादलको तालमा गाउँदै/नाच्दै गरिने रमाइलो एकाएक हराएको छ ।
आजकालको तिजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तिजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव देखिएको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् । तिजकै नाउँमा भड्काउ गीत थुप्रै बनेका छन् । कुनै–कुनै तिज गीत परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तिज गीत नै हो भन्न सकिने अवस्था छैन।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका