विकास र समृद्धिका अधुरो सपना पूरा गर्न ओलीलाई अघि सारेको एमालेको प्रष्टोक्ति

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेले दुईपटक सरकारको नेतृत्व गर्दा गरेको काम र व्यक्तित्वका आधारमा अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको स्पष्ट पारेको छ । आधुनिक नेपालको ७५ वर्षको इतिहास ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपूरा काम बाँकी रहेकाले विकास र समृद्धिका अधुरो सपना पूरा गर्न उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको एमालेले स्पष्ट पारेको हो । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको पत्रकार अन्तरसम्वाद कार्यक्रममा विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सार्नुका ६ कारण प्रस्तुत गर्नुभयो । राष्ट्रिय स्वभिमानको प्रवद्र्धकको रूपमा केपी ओलीको नेतृत्व आवश्यकता रहेको एमालेको ठहर छ ।

त्यस्तै, वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुको रूपमा रहेका ओलीले काम गरेकोले, त्यो उचाइको नेताको आवश्यकता देखिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तिव अहिलेसम्म नेपालले प्राप्त नगरेको ठहर गर्दै समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम नभएको एमालेले दाबी गरेको छ । ओली इतिहासको व्याख्याता मात्र हैन नेपालको कम्युनिष्ट आन्दोलनको निर्माता पनि भएको दाबी गर्दै कम्युनिष्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धिको यात्रामा लाने सूत्रधार रहेकाले प्रधानमन्त्रीमा अघि सारिएको उहाँको भनाइ छ ।

नेतृत्व अभाव भएर होइन, नेपाली राजनीतिलाई सही बाटोमा ल्याउन ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनायौँ ः शंकर
एमाले महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्नुपरेको बताउनुभएको छ । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले पार्टीले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । ‘एउटा जनताको पक्षमा काम गरेको नेतालाई जब घेराबन्दी गरिन्छ, जनताको अदालतबाट घेराबन्दी गर्नेलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उहाँलाई प्रधानमन्त्रीको रूपमा अघि सारेका हौँ,’ पोखरेलले भन्नुभयो, ‘नेतृत्वको अभाव पार्टीमा भएर होइन । नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो ।’

गठबन्धन नगर्ने, तालमेलमा सधैँ खुला
नेकपा एमाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जान सधैँ खुला रहेको जनाएको छ । महासचिव शंकर पोखरेलले एमाले कुनै गठबन्धनको पक्षमा नरहेको भन्दै स्थानीय तहमा भने तालमेल गर्न खुला रहने बताउनुभयो । एमाले कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा नरहेको उहाँको भनाइ थियो । राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको दोहो¥याउनुभयो । ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ । हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गइराखेको छौँ,’ उहाँले भन्न्ुभयो, ‘स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलका बारेमा हामी सदैव खुला छौँ । तर, चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौँ । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेका छैनौँ । चुनावी तालमेलको कुरा गरेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?