हरितालिका (तीज), गणेश चतुर्थी र पञ्चमी व्रतको संक्षिप्त चर्चा

Read Time = 25 mins

✍️ तोयराज नेपाल

भाद्रशुक्ल तृतीयालाई हरितालिका व्रत भनिन्छ । यस व्रतलाई तीजको व्रत पनि भनिन्छ । यसबारे शास्त्रमा वचन छ, भाद्रशुक्लतृतीयायां हरितालिकाव्रतम् । तत्र मुहूर्तमात्रा ततो न्यूनापि परा ग्राहृया । यदा क्षयवशात् परदिने नास्ति तदा द्वतीयायुतापि ग्राहृया । यदा शुद्धाधिका तदा पूर्वदिने षष्टिघटीमितामपि त्यक्त्वा परदिने स्वल्पापि चतुर्थीयुतैव ग्राहृया, गणयोगप्राशस्त्यात् । मुहूर्तमात्रसत्वेक् पि दिने गौरीव्रतं प्रिये । शुद्धाधिकायामप्येवं गणयोगप्रशंसनात् ।। धर्मसिन्धु सुधा पृ० १४६ ।

अर्थात् एक मुहूर्तमात्रै पनि तृतीया तिथि छ भने यो व्रत त्यसै दिन गर्नू । धर्म सिन्धुमा भनिएको अर्काे पनि वचन छ । कला काष्ठामुहूर्तापि द्वितीया यदि दृश्यते । सा तृतीया न कर्तव्या कर्तव्या गणसंयुता ।। चतुर्थी सहिता या तु सा तृतीया फलप्रदा अवैधव्यकरा स्त्रीणां पुत्रपौत्रविवदधिधनी ।। भाद्रे मासि सिते पक्षे तृतीया हस्तसोमयुक् । तदनुष्ठान मात्रेण सर्वपापैः प्रमुच्यते ।। भविष्योत्तरपुराण ।

अर्थात् भाद्र शुक्ल तृतीया द्वितीयायुक्त छ भने त्यसदिन व्रत नगर्नू, चतुर्थीयुक्त तृतीयाको व्रत गर्नु उत्तम हुन्छ । जुनबेला तिथिक्षय भएर चतुर्थियुक्त तृतीया हुँदैन त्यसबेलामा मात्र द्वितीया युक्त तृतीयामा पनि यो व्रत गर्नू । यदि यस तृतीयामा हस्ता नक्षत्र र सोमबार पनि परेको छ भने ज्यादै उत्तम मानिन्छ । सोमबार हस्ता नक्षत्र नपरेर केवल तृतीयामात्र भए पनि यस तृतीयाको व्रत गरेमा मनुष्य सम्पूर्ण पापबाट मुक्त भई यस लोकमा सुख, समृद्धि प्राप्त गरी परलोकमा कल्याणमय शिवपद प्राप्त हुन्छ भनिएको छ ।

अर्काे पनि वचन छ, नामास्य व्रतराजस्य श्रृणु देवि यथाभवत् । आलिभिर्हरिता यस्मात्तस्मात् सा हरितालिका ।। आलिभिः सखीभिः, हरिता अपहृता इति हरितालिका । अर्थात् पार्वतीलाई साथीहरूले हरण गरेर लुकाएको हुँदा यसको नाम हरितालिका रहेको हो । यस विषयमा एउटा उपाख्यान यस्तो छ : प्राचीन कालमा हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि नै शिवलाई पति पाऊँ भनेर चिन्तन गरेर हिँड्दा, खाँदा, खेल्दा, बस्ता, सुत्ता जेसुकै गर्दा पनि शिवजीलाई पति पाऊँ भनेर शिवजीकै चिन्तन, मनन पूजन आदि गर्दथिन् । तर, यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् ।

पार्वतीलाई साथीहरूले हरण गरेर लगेको र व्रत गरेको दिन भाद्र शुक्ल तृतीया परेको थियो । त्यसैले यसदिन पानी पनि नखाई व्रत बसेर शिवपार्वतीको पूजाराधना गरेमा मनोकामना सिद्धि हुन्छ ।

यो कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनिन् । त्यसपछि साथीहरूले तिमी चिन्ता नगर, हामी यसको व्यवस्था गर्छौं भनी उनलाई हरण गरी ठूलो जंगलको बाटो लगेर नदीका किनारमा एउटा गुफामा लुकाएर राखे । त्यही गुफामा बसी नदीबाट बालुवा ल्याई त्यसै बालुवाको पर्वतीसहित शिवलिंग बनाएर अत्यन्त श्रद्धा र भक्तिका साथमा पानीसमेत नखाई व्रत बसेर शिव-पर्वतीको पूजा गरिन् । रातभर जाग्रम बसी पानीसमेत नखाई कथा श्रवण नाच, गान, बजान गरी व्रत गरिन् । भोलिपल्ट प्रातःकाल भएपछि नदीमा लगी मूर्तिको विसर्जन गर्ने बेलामा पर्वतीले गरेका भक्तिले गर्दा कैलाशमा शिवको आसन हल्लियो ।

अनि शिवजी प्रसन्न भएर आई के वर माग्छ्यौ, भन्दा पार्वतीले हजुर मेरो पति होइदिनुहोस्, यसैका लागि मैले यो व्रत गरेकी हुँ भनी वर मागिन् । शिवजीले तथास्तु भनी वरदान दिनुभयो र कैलासतिर फिर्नुभयो । यो व्रत गरेको दिन भाद्र शुक्ल तृतीयाको दिन परेको थियो । त्यसैले भाद्रशुक्ल तृतीयाका दिन हरितालिका (तीज) को व्रत गर्ने परम्परा चलेको हो । यता पार्वती हराएकी हुँदा उनलाई खोज्दा खोज्दै विवाहको दिन आयो, पार्वती छैनन् । अब के गर्ने ? भनी हिमालयलाई ठूलो चिन्ता भयो र वन, जङ्गल, नदीकिनार र गुफाहरू चारैतिर खोज्दै हिँडे । अन्त्यमा त्यसै गुफामा पुगे जाहाँ पर्वतीले शिवको व्रत पूजा गरेकी थिइन् ।

अनि पिताजीले लौ घर हिँड भन्दा शिवजीसँग विवाह गरिदिने भए घर जाने नत्र नजाने भनिन् । अनि हिमालयले हुन्छ, भनेपछि त्यो पूजा गरेको मूर्ति र निर्माल्य नदीमा लगी विसर्जन गरेर व्रतको पारणा गरी साथीहरू समेत भएर प्रसाद ग्रहण गरेर मनैमनले शिवजीलाई प्रणाम गरी साथीहरू र पिताजीका साथमा घर आइन् । पछि उपयुक्त समयमा शिवजीसँग पार्वतीको विवाह भयो । यस व्रतका प्रभावले आजसम्म पनि पार्वतीको सौभाग्य अटल रहेको छ । पार्वतीलाई साथीहरूले हरण गरेर लगेको र यो व्रत गरेको दिन यही भाद्र शुक्ल तृतीयाको दिन परेको थियो । त्यसैले यस दिन पानी पनि नखाई व्रत बसेर शिवपर्वतीको पूजा आराधना गरेमा मनःकामना सिद्धि हुन्छ ।

परिवारमा सुख, समृद्धि, आरोग्य, पतिको आयु बढ्ने, पुत्र पौत्रादिको उन्नति प्रगति हुने आदि हुन्छ । अविवाहिता नारीले व्रत बसे असल पति पाउँछिन् । विवाहिता नारीले व्रत गरे सौभाग्य, समृद्धि सत्पुत्र प्रप्त हुन्छ र अन्त्यमा शिवपद प्राप्त हुन्छ । शिव र पार्वतीको व्रत भएको हुँदा नारीले मात्र नभई निष्काम भावले पुरुषले पनि व्रत गर्नु हुन्छ । यसबाट सुख, समृद्धि, सौभाग्य प्राप्त हुनुका साथै अन्त्यमा कल्याणमय शिवपदमेत प्राप्त हुन्छ । ॐ नमः शिवाय । श्रीकृष्णार्पणमस्तु ।।

गणेश चतुर्थी :
भाद्रशुक्ल चतुर्थीलाई गणेश चतुर्थी भनिन्छ । यो व्रत मध्याहृनव्यापिनी तिथिमा गर्नुपर्दछ । धर्मसिन्धुमा यस्तो वचन पनि छ । भाद्रशुक्लचतुर्थी या भौमेनार्केण वा युता । महती साक्त्र विघ्नेशमर्चित्वेष्टं लभेन्नरः ।। यदि यो व्रतका दिन मंगलबार अथवा आइतबार प¥यो भने झनै उत्तम हुन्छ र विशेष फल दिने हुन्छ भनिएको हो । स्कन्दपुराणमा पनि उल्लेख छ : चतुथ्र्यां शुक्लपक्षे तु सदा कार्यं प्रयत्नतः । नारी वा पुरुषो वापि यः कुर्याद् व्रतमुत्तमम् । मोचयत्याशु विप्रेन्द्र संकष्टाद् व्रतिनं नरम् ।। सर्वसिद्धिकरञ्चैव व्रतानामुत्तमोत्तमम् । गजाननप्रसन्नार्थं त्रिषु लोकेषु विश्रुतम् । अतो न विद्यते ब्रहृमन् सर्वसंकष्टनाशनम् ।।

भाद्रशुक्ल चतुर्थीका दिन गणेशको व्रत नारी पुरुष जसले गरे पनि व्रतीलाई गणेश भगवानले सम्पूर्ण संकष्टबाट मुक्त गरिदिनुहुन्छ । संकष्ट नाश गर्ने यसभन्दा उत्तम व्रत तीनैलोकमा अर्काे छैन । यो व्रत गर्दा मिथ्यापवाद लागेको छ भने पनि हट्तछ । यस विषयमा एउटा पौराणिक उपाख्यान छ भगवान् कृष्णलाई पनि मिथ्यापवाद लागेर यो व्रत गनुभएको थियो र अवपाद हटेको थियो । सत्राजित नामका राजाले सूर्यदेवको आराधना गरेर स्यन्तक मणि प्राप्त गरे । सूर्यले भन्नुभयो यो मणि अशुद्ध व्यक्तिले धारण गर्नुुहुँदैन । पवित्र भएर धारण गर्दा यसले दिनमा आठभार सुन उत्पन्न गर्दछ ।

राम्रोसँग नियम पालना गरेर धारणा गर्नू । यो धारण गर्दा पवित्र भएर धारण गरिएन भने धारण गर्नेलाई तुरुन्त हानि हुन्छ, मृत्यु नै पनि हुन सक्छ भनी सूर्यदेव अन्तध्र्यान हुनुभयो । एकदिन सत्राजित त्यो मणि लगाएर श्रीकृष्णको द्वारका पुरीमा गए । मणिमा कृष्णले चाहना राख्नुभयो, तर लिनुभएन । कृष्णले मणि माग्लान् भनेर सत्राजितले आफ्ना भाइ प्रसेनलाई दिएर पवित्र भएरमात्र धारण गर्नू है नत्र विघ्न हुन्छ भने । अनि एकदिन प्रसेन त्यो लगाएर कृष्णसँग सिकार खेल्न वनमा गए । पवित्रताको ख्याल गरेनन् । जंगलमा तुरुन्तै प्रसेनलाई सिंहले मार्‍यो र त्यो मणि लिएर सिंह जाँदै थियो ।

त्यस सिंहलाई जाम्बवान् भालुले मारेर मणि लिएर गयो र त्यो मणि छोरालाई खेलाउन दियो । अनि सिकारबाट कृष्णहरू सबै फिरे, प्रसेन फिरेनन् । सत्राजितले कृष्णले मणिका लोभले मेरा भाइ प्रसेनलाई मारे भनेर मिथ्या अपवाद लगाए । मिथ्यापवादले कृष्णलाई अत्यन्त पीडित बनायो । यत्तिकैमा कृष्णको नारदसँग भेट भयो । नारदले भन्नुभयो तपाईंले भाद्रशुक्ल चतुर्थीमा चन्द्रमाको दर्शन गर्नुभएछ, त्यस कारण तपाईंलाई मिथ्यापवाद लागको हो । यस विषयमा मार्कण्डेय पुराको वचन यस्तो छ : सिंहादित्ये शुक्लपक्षे चतुथ्र्यां चन्द्रदर्शनम् । मिथ्याभिदूषणं कुर्यात् तस्मात् पश्येन्न तं सदा ।।

यसको अपवाद हटाउन भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशजीको व्रत गर्नुहोस्, दोष हट्छ । यसबारे एउटा उपाख्यान छ-एकपटक गणेशजी ब्रहृमलोका गएर त्यहाँबाट झर्दै गर्दा चन्द्रलोकमा लड्नुभएछ । त्यो देखेर चन्द्रमाले गणेशलाई उपहास गरेर हाँसे । गणेशजीले पनि तँ रूपको घमण्ड गर्दाेरहेछस् अब तेरो दर्शन गर्नेलाई मिथ्यापवाद लागोस्, भनी श्राप दिनुभयो । चन्द्रमाले धेरै प्रार्थना गर्दा पनि गणेशजीले श्राप फिर्ता गर्न मान्नुभएन ।

अनि मलिन मुख लगाएर चन्द्रमा पानीमा पस्नुभयो र निस्किँदै निस्किनु भएन । संसारमा हाहाकार भयो । त्यो दिन भाद्रशुक्ल चतुर्थीको दिन थियो । अनि ब्रहृमादि सबै देवताका प्रार्थनाले भाद्रशुक्ल चतुर्थीका दिन जसले चन्द्रमाको दर्शन गर्छ, त्यसलाई मात्र मिथ्यापवाद लाग्ने, अरूलाई नलाग्ने गरी श्रापको अवधि घटाइ मागेपछि गणेशजीले तथास्तु भनी चन्द्रमालाई माफी दिनुभयो ।

त्यसकारण भाद्रशुक्ल चतुर्थीका दिन चन्द्रमाको दर्शन गर्दा मिथ्यापवाद लागेको हो । त्यस कारण अब गणेशचतुर्थीको व्रत गर्नुहोस्, दोष हट्तछ भन्नुभयो । अनि नारदका उपदेशले कृष्णले भक्तिपूर्वक गणेश चतुर्थीको व्रत गर्नुभयो । त्यसपछि प्रसेनलाई खोज्न साथीहरूसहित जंगलमा जानुभयो । घोडासमेत प्रसेनलाई सिंहले मारेको भेट्नुभयो । मणि भेटिएन । फेरि खोज्दै जाँदा सिंहलाई पनि भालुले मारेको भेट्नुभयो । मणि भेटिएन । फेरि खोज्दै जाँदा भालुको गुफा भेटियो ।

अनि साथीहरूलाई गुफा बाहिर राखी कृष्ण गुफामा पस्नुभयो र शंख बजाउनुभयो । शंखको आवाज सुनेर जाम्बवान् उठेर कृष्णसँग युद्ध गर्न थाले । ती दुईको रातदिन युद्ध भयो । सातदिन पछि कृष्णलाई भालुले मा¥यो होला भन्ने ठानेर साथीहरू द्वारका फिरेर यो खबर गरे । कृष्णको काज क्रियासमेत गरियो । यता युद्ध धेरै दिनसम्म चल्यो । एकविंशद्दिनं यावद् बाहुप्रहरणो विभुः । युयुधे.. (स्कन्दपुराण) आसीत्तदष्टाविंशाहम...
श्रीमद्भागवद्–१०/५६/२४

अठ्ठाइस दिनपछि जाम्बवानले यी ता साक्षात् परमेश्वर हुन् भन्ने बुझेर युद्ध विराम गरी माफी मागी जाम्बवती छोरीसमेत मणि कृष्णलाई दिएर प्रणाम गरे । अनि त्यो मणि ल्याएर कृष्णले सभामा सत्राजितलाई जिम्मा लगाउनुभयो र मिथ्यापवादबाट मुक्त हुनुभएको थियो । सत्राजितले पनि लाजले छोरी सत्यभामासमेत मणि कृष्णलाई दिने भए । तर, कृष्णले हामी पवित्र रहन सक्तैनौ । त्यसकारण मणि हजुरले नै राख्नू । यसबाट आउने फल सुन चाहिँ हामीलाई पनि दिनुहोला भन्नुभयो र मणि सत्राजितलाई नै फिर्ता दिनुभयो ।

त्यसकारण भाद्रशुक्ल चतुर्थीका दिन चन्द्रमाको दर्शन गर्नु हुँदैन, गरेमा मिथ्यापवाद लाग्छ । चन्द्रमा देखिएमा यो मन्त्र पढ्नू दोष कम हुन्छ । सिंहः प्रसेनमवधीत् सिंहो जाम्बवता हतः । सुकुमारक मारोदीस्तव हृयेष स्यमन्तकः ।। हामी पनि गणेशचतुर्थीको व्रत गरौँ, मिथ्यापवादादि विभिन्न संकटबाट मुक्त हुनेछौँ ।

ऋषिपञ्चमी व्रत :
भाद्रशुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । खास गरी यो व्रत नारीहरू पर सरेका बेलामा जान–अजानमा भएका पापहरूको नाश गर्नका लागि गरिन्छ । यस बारे भविष्योत्तर पुराणमा यस्तो वचन छ : अज्ञानाद् ज्ञानतो वापि नारी जाता रजस्वला । दुष्टा स्पृशति भाण्डानि गृहकर्मणि संस्थिता । प्राप्नोति सा महापापं सर्वनारीरजस्वला ।। अघि इन्द्रले वृत्तासुरलाई मारेपछि उनलाई ब्रहृमहत्या लाग्यो । अनि यसबाट कसरी छुट्कारा पाउने भनेर ब्रहृमाजीका शरणमा गए । ब्रहृमाजीले ब्रहृमहत्यालाई चार भाग लगाएर बाँडिदिनुभयो । यसबारे भविष्योतर पुराणको वचन यस्तो छ : वहृनेः प्रथमजातासु ज्वालासु च नदीषु च । पर्वतेषु च राजेन्द्र नारीरजसि पार्थिव ।। इति ।

श्रीमद्भागवतमा यस्तो उल्लेख छ : भूम्यम्बुद्रुमयोषिद्भ्यश्तुर्धा व्यभजद्धरिः ।। श्रीभागवत/६/ ९/६
एक भाग आगो बाल्दाको पहिलो ज्वालामा, दोस्रो भाग नदीमा, तेस्रो भाग पर्वतमा र चौथो भाग नारीमा राखिदिनुभयो र इन्द्रको ब्रहृमहत्या छुटाइदिनुभयो । श्रीमद्भागवतमा विश्वरूपलाई मार्दा इन्द्रलाई ब्रहृमहत्या लागेको र त्यस ब्रहृमहत्यालाई चार भाग लगाएर भूमि, जल, वृक्ष र नारीलाई दिएको प्रसंग छ । त्यसकारण त्यही ब्रहृमहत्या रजस्वला भएकी नारीमा चार दिनसम्म बस्ने हुँदा त्यसबेला नारीले अलग्ग बस्नुपर्दछ, कसैसँग सम्पर्क गर्नु हुँदैन र घरका भाँडा वर्तनहरू छुनु हुँदैन भनिएको हो । किनकि त्यस रजमा प्राणीलाई नकारात्मक असर पार्ने सूक्ष्म कीटाणुहरू बस्ने हुँदा अलग बस्नुपर्छ भनिएको हो ।

जान अन्जानमा भएका यस अवस्थाका पापबाट निवृत्त हुन यसदिन तीन सय साठी दतिवन लगाएर दन्तधावन गर्नुपर्दछ अनि गोबर, माटो, पञ्चगव्य, तिलको पिना, अमलाआदिले स्नान गरी पवित्र भएर मध्याहृनमा अरुन्धतीसहित कश्यपादि सप्तर्षिहरूको पूजा गर्नुपर्दछ । सप्तर्षि भनेका को को हुन् भने-कश्यपोक्त्रिर्भरद्वाजो विश्वामित्रोक्थ गौगतलमः । जमदग्निर्वसिष्ठश्च साध्वी चैवाप्यरुन्धती ।। अर्थात् १-कश्यप, २-अत्रि, ३-भरद्वाज, ४-विश्वामित्र, ५-गौतम, ६-जमदग्नि र-७ वसिष्ठ गरी सप्तर्षिहरू र पतिव्रता अरुन्धतीसमेतको मध्याहृणमा पूजा गर्नुपर्दछ । पूजापछि त्यसदिन नजोतेका भूमिमा फलेका सागपात र फलफूलहरू खाएर निर्वाह गर्नुपर्दछ ।

यस विषयमा यौटा उपाख्यान छ : अघि सत्य युगमा सुमित्र नामका ब्राहृमण थिए । तिनकी जयश्री नामकी पत्नी थिइन् । ती जयश्री सधैँ खेतीपातीका काममा नै तल्लीन हुन्थिन् । एकपटक खेतीका बेला उनी रजस्वला भइछन् । खेतीपातीका काममा बाधा हुन्छ भनेर घरका सबै काम गरिन् । रजस्वला भएको कसैलाई थाहा दिइनन् । छुवाछुत बारिनन् । कालन्तरमा तिनको मृत्यु भयो । सुमतिको पनि मृत्यु भयो । रजस्वलाका समयमा सम्पर्क गरेका कारण जयश्री कुकुर्नी भइन् भने सुमित्र गोरु भएर त्यसै घरमा आए । पूर्वजन्मका कुनै धर्मका प्रभावले उनीहरूमा पूर्वजन्मको स्मृति थियो र यस जन्ममा बोल्न नसके पनि सबै कुरा बुझेर व्यहार गर्न सक्तथे ।

तिनीहरूका छोराको नाम सुमति थियो । एक दिन सुमित्रको श्राद्धका दिन छोरा सुमतिले बिहानभरि खेतमा गोरु जोतेर श्राद्धका काममा लाग्दा गोरुलाई घाँस खोले दिन भ्याएनन् । कुकुर्नीलाई पनि केही दिन भ्यााएनन् । श्राद्धका लागि खिर पकाएको थियो । त्यो खिरमा सर्पले विष हालेको कुकुर्नीले देखेर यो खाएमा ब्राहृमणहरूको मृत्यु हुन्छ भन्ने विचार गरेर त्यो कुकुर्नीले सबैले देख्ने गरी खिरको भाँडो छोइदिई । अनि त बुहारीले रिसले अगुल्टाले कस्सेर हिकाइन् र कुकुर्नीको कम्मर नै भाँचिदिइन् । कुकुरनी कुइँकुइँ गर्दै बाहिर गई । बुहारीले श्राद्धपछि जुठो पुरोसमेत खान दिइनन् ।

जानअञ्जानमा भएका पापबाट निवृत्त हुन यसदिन तीन सय साठी दत्तिवन लगाएर दन्तधावन गर्नुपर्दछ अनि गोबर, माटो, पञ्चगव्य, तिलको पिना, अमला आदिले स्नान गरी पवित्र भएर मध्याहृनमा अरुन्धतीसहित कश्यपादि सप्तर्षिहरूको पूजा गर्नुपर्दछ ।

बेलुका कुकुर्नी कुइँ कुइँ रुँदै गोरुसँग गएर सबै कुरा भनिन् । गोरुले पनि आज मेरो श्राद्ध अरे, मलाई दिनभरि जोतेर केही खान पनि दिएनन् । भोकले मर्न लागेँ । यिनीहरूले श्राद्धको के फल पाउलान् भने । सुमतिले पशुको भाषा बुझ्ने विद्या पढेका हुँदा यो कुरा बुझे । अनि त ला हाम्रा बुबाआमा त यिनीहरू पो रहेछन् भनी घाँस खोलेहरू दिएर पश्चात्ताप गरे । अनि अब दुर्गतिमा परेका माता–पिताको कसरी उद्धार गर्ने भन्ने विचार गरेर सुमति उपाय खोजी गर्न वनमा गए । वनमा ज्ञानवृद्ध सप्तर्षिहरूसँग भेट भयो । उनीहरूले भने, ‘तिम्री माताले रजस्वला भएका बेला त्यसको वास्ता नगरी सर्वत्र सम्पर्क गरी घरका धन्दाहरू गरेका कारण यो दशा भएको हो ।

अब सात वर्षसम्म भाद्रशुक्ल पञ्चमीका दिन पतिपत्नीसहित भएर अरुन्धतीसहित कश्यपादि सप्तर्षिहरूको पूजा गर र त्यस व्रतको उद्यापन गरी त्यसको फल मातापितामा समर्पण गर, मातापिताको सद्गति हुनेछ’ भने । त्यसपछि सुमति घर आएर सपत्निक भएर विधिपूर्वक सात वर्षसम्म यो व्रत गरेर अन्त्यमा उद्यापन गरी व्रतको फल मातापितामा समर्पण गरे । यसरी व्रतको उद्यापन गरेपछि पिता सुमित्र (गोरु) र माता जयश्री (कुकुर्नी) को पाप मुक्त भएर उत्तम गतिमा प्राप्त भएका थिए । त्यस कारण यो ऋषिपञ्चमीको व्रत गर्दा रजस्वला अवस्थामा जानी नजानी भएका सम्पूर्ण पाप नाश हुने हुँदा सबैले यो व्रत गर्नु कल्याणकारक हुन्छ । ॐ हरयेनमः । श्रीकृष्णार्पणमस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?