अपांगता भएका महिलाहरूको तीज, कुर्सीमा दीपा, हिृवलचियरमा नाचिन् चमलादेवी

हिमालय टाइम्स
Read Time = 7 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । ‘सुनको चुरा, औंठीनी सुनकै छ’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सिताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा ब्यानर । ‘अपांगता भएका महिलाहरूका लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम,’ लेखिएको थियो । कार्यक्रममा सहभागिता देखियो, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरूको । सुनाइसम्बन्धी समस्या भएका महिलाहरू घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु । हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरू हिृवलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टिको खुट्टा गुमाउनुभएकी दीपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै साथीहरूलाई नचाउन उक्साइरहनुभएको थियो ।

उक्त गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी हिृवलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उहाँकै संगीत । रामजी खाँण र देवी घर्तीको स्वर ठूलो भोलुममा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिएझैं लाग्यो । ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँच्चिएदेखि हाँस्न सकेको छैन । कम्मरमुनिको अंग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँशुले भरियो । उहाँ, निःशब्द हुनुभयो । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थाल्नुभयो । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाउनुभयो । सुनको चुरा नभए पनि औंठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थाल्नुभयो । हिृवलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न सुरु गर्नुभयो । अन्य साथीसंगीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमंगता छायो ।

फराकिलो हृदयमात्र होइन, फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भनेझैं मनको कुरा खोल्न गाह्रो भए पनि तीजको कुरा बोल्न केहीले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखिएकोेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाउनुभयो । ‘नारी जातिको पर्व हो तीज । साथीसंगी जम्मा भएर रातो सारी लर्काउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछम्ती नाचिन्थ्यो,’ अपांगता हुनुअघिको तीजलाई सम्झिनुभयो । झण्डै २५ वर्षपछि साथीसंगीसँग तीज मनाउन पाएको खुशीयालीले उहाँलाई फेरि एनछिन भावुक बनायो ।

‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौं । भोलिपल्ट तीन सयजना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यांै । बाटोबाटो नाच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौं । नाच्दैनाच्दै घर फर्किन्थ्यौं । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौं । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,’ उहाँले सुनाउनुभयो ।

उबेला मनाइने तीज र योबेला मनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खिर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खिर निल्दै उहाँले भन्नुभयो, ‘मिठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’

उहाँमात्र कहाँ हो र उहाँकै छेउमा रहेका तथा अपांगता भएका महिलाहरूले पनि आफूहरूको पहिलो अनुभव भएको सुनाए । यसरी उस्तै उस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसंगीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरूका लागि हर्षको कुरा भएको सुस्त श्रवणशक्ति भएकी सुनिता दाहालले बताउनुभयो ।

अपांगता भएका महिलाहरूका लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपांग महिला संघ, सिन्धुलीकी अध्यक्ष दीलकुमारी देवकोटा (दीपा) बताउनुहुन्छ । ‘महिलाहरूलाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पत्ति छुट्याउने गर्दछ । अपांगगता भएका महिलाहरूलाई समेटिँदैन । सपांगता भएका महिलाहरू कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उहाँले भन्नुभयो, ‘सपांगता भएका महिलाहरूलाई जस्तै अपांगता भएका महिलाहरूलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपांगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नुपरेको हो ।’

अपांगता भएका महिलालाई सरकारी कार्यालयले सम्म अपांगतासम्बन्धी बाहेकका कार्यक्रममा नसमेटेको उहाँको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेको सिन्धुली अपांग महिला संघ, सिन्धुलीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?