बालेन र दलहरू

हिमालय टाइम्स
Read Time = 6 mins

बाटो मिच्ने र सडकपेटीमा व्यापारका सामग्रीहरू राखेर अवरोध पुर्‍याउने रोग उपत्यकामा निकै पुरानै हो । यस क्षेत्रमा मात्र होइन विभिन्न क्षेत्रमा यस्ता अवरोध र बल मिच्याइँ हुँदै आएका छन् । यस्ता कतिपय क्षेत्रमा प्रशासन र सरकारको ध्यान पुगेको हुँदैन । कतिपय कुरामा सम्बन्धित निकायलाई जानकारीसमेत पुगेको हुँदैन । केही क्षेत्रमा सम्बन्धित निकायको ध्यान पुगेर पनि त्यस्ता व्यक्ति तथा निकायहरूको सबलताका कारण नगरपालिकाले तिनलाई हटाउन सकिरहेको हुँदैन । काठमाडौं महानगर क्षेत्रभित्र पनि यस्ता विन्नि कारणले व्यापारीबाट सडकपेटीमा आफ्ना व्यापारिक सामग्री राख्ने कार्य हुँदै आएका थिए । डुलुवा व्यापारीबाट ठेलागाडा तथा अन्य सामग्री राखेर विभिन्न ठाउँमा अवरोध पुर्‍याउने कार्य हुँदै आएका छन् ।

सागसब्जी बिक्रेता, हरिया मकै पोलेर बेच्नेदेखि सडक खाजाको व्यापार गर्नेहरूका कारण यस्तो अवरोध सिर्जना हुँदै आएको हो । यसलाई विभिन्न समयका विभिन्न पार्टीका सरकारले व्यवस्थित गर्न सकेका थिएनन् । तिनले व्यवस्थित गर्न नचाहेको जस्तै देखिँदै आएको थियो । यसलाई व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिकाले नगर प्रहरी पनि राखेको छ । यसका साथै पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र स्थापना हुन आएका नगरपालिकाले पनि नगरप्रहरी राख्ने गरेका छन् । तिनले यसरी बाटो अवरुद्ध गर्ने कार्य बन्द गरी व्यवस्थित गर्ने जिम्मेवारी पाएका हुन्छन् । तैपनि व्यवस्थित हुन सकिरहेको छैन । पछिल्लो समयमा स्थानीय निकायको गत निर्वाचनबाट काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएर आएपछि केही रचनात्मक कार्य गर्ने प्रयास उहाँबाट भएको छ ।

सबैभन्दा विकराल समस्या फोहोरको थियो त्यसमा केही सुधार भएको छ । नियम कानुन मिच्ने प्रवृत्ति व्यापक छ । आफ्ना व्यापारिक भवन परिसरभित्र अव्यवस्थित रूपमा संरचनाहरू खडा गर्ने र तिनलाई विभिन्न प्रयोजनामा उपयोग गर्ने प्रचलनले व्यापकता लिइरहेको छ । सरकारलाई नटेर्ने र सरकारले थाहा पाएर हटाउनुपूर्व केही लाभ प्राप्त गरिहालौँ भन्ने लोभानी पापानीका कारण सहर कुरूप बन्दै गएको थियो । दिन प्रतिदिन महानगरका मात्र होइन उपत्यकाभित्रकै सबै जग्गाजमिनको मूल्य बढिरहेका कारण अब जग्गाजमिन पाउनै गाह्रो भएको छ । यस परिप्रेक्ष्यमा थोरै बाँकी रहेको जग्गा पनि भाडामा लगाएर वा अस्थायी प्रकृतिका टहराहरू नक्सा पास नै नगरी निर्माण गर्ने कार्यले व्यापकता लिइरहेको अवस्थामा महानगरका प्रमुखले आफैं संलग्न भएर यस्ता अवैध घर टहरा हटाउने काम गरिरहनु भएको छ ।

जनमानसबाट यसको स्वागत भइरहेको छ तर राजनीतिक तह र तप्काबाट यसको खुलेर समर्थन हुन सकेको छैन । समर्थन नभएको मात्र होइन मेयर बालेन साहको यस कार्यको विरोधसमेत राजनीतिक पार्टीबाट भइरहेको छ । यसले गर्दा त्यस्ता संरचनाको निर्माणमा राजनीतिक पार्टी तथा पार्टीका नेताहरूकै संलग्नता रहेछ भन्ने प्रष्ट हुन आउँछ । एकातिर यस्ता संरचनाहरू नक्सा पास नगरी अस्थायी रूपमा निर्माण गरिएका छन् । सम्बन्धित निकायले थाहा पाएर हटाउनुभन्दा अघि केही फाइदा लिइहाल्ने उद्देश्य तिनको रहेको छ । अर्कातिर नक्सा पास भएकै भए पनि एउटा कार्यको प्रयोजनका लागि नक्सा पास गरेर अर्को प्रयोजनमा उपयोग भइरहेको पाइएको छ ।

वैधानिक बाटो हिँड्ने मानिस एक्लो हुन्छ तर अवैधानिक बाटो हिँड्नेहरूको समूह निकै ठूलो हुनसक्छ । यस्ता संरचना बनाउने र त्यसबाट फाइदा लिनेहरू एक/दुईजना मात्र होइन अनेक छन् । महानगर प्रमुख साहले यस्ता संरचना हटाउने कार्यको थालनी त गर्नुभएको छ तर प्रश्न निरन्तरताको हो । उहाँले यसलाई निरन्तरता दिन सक्नुहुन्छ कि हुन्न त्यसले महत्व राख्छ । भोलि उहाँ पनि आफ्नो अभियानबाट पछि हट्नुपर्ने हुन्छ कि किनकि उहाँ स्वतन्त्र व्यक्ति हुन्नुहुन्छ र उहाँलाई पार्टीका नेताहरूबाट साथ प्राप्त हुनेछैन । बरु उहाँले निरन्तर रूपमा पार्टीहरूबाट कोपभाजन सहिरहनुपर्ने हुन्छ । त्यसैले महानगर प्रमुख साहले आफ्ना यस्ता अभियानहरूमा पार्टीहरूको समेत साथ सहगोग लिन सक्नुपर्ने हुन्छ । नत्र विरोधको शृंखला निरन्तर चलिरहने कुरा कटु यथार्थ हो भनेर बुझ्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?